logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • बाल यौन दुराचारमा तपश्वी रामबहादुर बम्जन दोषी ठहर, कति होला जेल सजाय ?

    बाल यौन दुराचारमा तपश्वी रामबहादुर बम्जन दोषी ठहर, कति होला जेल सजाय ?

    2K
    Shares
    बाल यौन दुराचारमा तपश्वी रामबहादुर बम्जन दोषी ठहर, कति होला जेल सजाय ?

    काठमाडौँ । जिल्ला अदालत सर्लाहीले तपश्वी रामबहादुर बम्जनलाई बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर गरेको छ ।

    अदालतले आज सोमबार उनलाई दोषी ठहर गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

    दोषी ठहर भएका बम्जनको यही असार १७ गते सजाय निर्धारण हुने जनाइएको छ । हत्या र यौनहिंसाका आरोपित रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुढानीलकण्ठस्थित एक घरबाट गएको पुस २४ गते पक्राउ गरेको थियो ।

    आफूलाई ‘लिटल बुद्ध’ बताउने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोपमा प्रहरीले खोजिरहेको थियो । बम्जनविरुद्ध पाँच परिवारको उजुरी छ । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

    बम्जन लामो समय बाराको हलखोरियास्थित जंगलमा बसेका थिए । उनले त्यहाँ आफू तपस्यारत रहेको बताउँदै आएका थिए ।
    पछिल्लो समय भने बम्जन सिन्धुलीको कमलामाई नगरपालिका–८, पैरेनीस्थित २० रोपनीभन्दा बढी जंगल अतिक्रमण गरेर आश्रम बनाई बस्दै आएका थिए । ब्युरोको टोलीले उनलाई पक्राउ गर्न ४ असार २०७७ मा छापा मारेको थियो ।
    तर त्यतिबेला उनी प्रहरीको टोली पुग्नुअघि नै भागिसकेका थिए ।

    मध्य तराईको बाराको एउटा एकान्त वनमा एक ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका कलिला रामबहादुर बमजनले सन् २००५ मा एकाएक चर्चा बटुलेका थिए । सोह्र वर्षीय बमजनले जंगलमा ध्यान गर्न सुरु गरेका थिए । त्यसयताका वर्षमा उनी विभिन्न विवादमा जोडिन थाले ।

    पाँच वर्षअघि नै सिन्धुपाल्चोकस्थित उनको आश्रममा गएका ‘अनुयायीहरु’ त्यहाँबाट नफर्किएका भन्ने विवरणसहित विभिन्न जिल्ला प्रहरी कार्यालयमा परेका मुद्दामा प्रहरीले छानबिन थालेको थियो । त्योसँगै सिन्धुपाल्चोकको बाडेगाउँस्थित आश्रम सिलबन्दी गरेर अनुसन्धान थालिएको थियो । २०७१ साल चैत १४ गतेदेखि सम्पर्कविहीन भएका वाइबाका परिवारका तर्फबाट किटानी जाहेरी परेपछि प्रहरीले बमजनको आश्रममा अनुसन्धान सुरु गरेको थियो ।

    तर सर्लाही जिल्ला अदालतले उनीविरुद्ध परेका अभियोगबारे अनुसन्धान अघि बढाउन बमजनलाई पक्राउ गर्न अनुमति दिएपछि उनको खोजतलास तीव्र पारिएको थियो । बारा, सिन्धुपाल्चोक, लमजुङ र सर्लाही जिल्लामा समेत उनका आश्रम थिए ।
    को हुन् बमजन
    बमजनआबद्ध संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारीअनुसार उनको जन्म सन् १९९० को एप्रिल १० तारिखमा रतनपुर बारामा भएको थियो । उनका मातापिता किसान थिए ।

    उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो । उनका आमाबुवाका नौ सन्तान छन् । उनी साहिँला छोरा हुन् । उनले कलिलो उमेरमै ध्यानमा मग्न भएर सबैलाई आश्चर्यचकित बनाएको बताइन्छ । “उनी गर्भमा हुँदा उनकी आमालाई माछामासु खान मन लागेको थिएन र पछि बमजनले पनि मासु खाएनन् । उनी सानो उमेरदेखि नै लामो समयसम्म घरबाहिर जाने गर्थे,”वेबसाइटमा उल्लेख गरिएको छ ।

    सन् २००५ मा बीबीसीसँगको कुराकानीमा उनका परिवार, साथीभाइ र अनुयायीले बमजन छ महिनासम्म पानी पनि नपिएर ध्यानमा लीन भएको र बुद्धत्व प्राप्त नहुँदासम्म उनी ध्यानमै रहने दाबी गरेका थिए । उक्त विवरणका अनुसार गौतम बुद्ध र बमजन दुवैका आमाको नाम मायादेवी भएकाले स्थानीयवासीहरुले उनले गरेको तपस्यालाई सिद्धार्थ गौतम बुद्धसँग जोडेर हेरेका थिए ।

    उनलाई खासगरी केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनलाई ‘लिटल बुद्ध’ को उपनाम पनि दिएका थिए । तपस्या गर्ने क्रममा उनी बीचबीचमा हराउने र केही समयपछि फेला पर्ने क्रम चलिरह्यो ।

    सोह्र वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बमजन पहिलो पटक १० महिना लामो ध्यान बसेकै बेला अचानक सम्पर्कविहीन भए ।

    तपस्यामा रुचि र बुद्धसँगको तुलनाका कारण उनी ध्यान बसेको स्थानआसपास उनलाई हेर्न मात्र आउने आगन्तुक र भक्तजनहरुको भिड लाग्ने गर्न थाल्यो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend