logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • पेवेल र सजिलो पेबाट सुन तस्करी र हुन्डी कारोबारको १ खर्ब बढी भुक्तानी

    पेवेल र सजिलो पेबाट सुन तस्करी र हुन्डी कारोबारको १ खर्ब बढी भुक्तानी

    882
    Shares
    पेवेल र सजिलो पेबाट सुन तस्करी र हुन्डी कारोबारको १ खर्ब बढी भुक्तानी

    काठमाडौँ । सुन तस्करी र हुन्डीको कारोबार बढ्दै गएको छ । सुन तस्करी र हुन्डीको रकम भुक्तानी ‘पेवेल’ ‘सजिलो पे’ मार्फत हुने गरेको खुलेको छ ।

    तस्करीको रकम भुक्तानी यी दुई भुक्तानी प्रणालीमार्फत हुने गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को अनुसन्धानले देखाएको छ ।

    यता हुन्डी र सुन तस्करीलगायत गैरकानुनी कारोबारमा संलग्न भेटिएपछि नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरु पेवेल नेपाल प्रालि र सजिलो पे मेमेन्ट सर्भिसेज प्रालिका बैंक खाता रोक्का गरेको छ ।

    पेवेल मार्फत ८६ अर्ब रुपैयाँ  र सजिलो पे मार्फत २२ अर्ब रुपैयाँको शंकास्पद कारोबार भएको खुलेको अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएका छन् । दुई वालेट कम्पनीले विभिन्न १८ वटा बैंकमार्फत कारोबार गर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।

    अनुसन्धान अधिकृतहरुका अनुसार अवैध कारोबारीले बैंकमा खोलिएको वालेटको खातामा रकम जम्मा गरी तेस्रो पक्षलाई भुक्तानी दिने गरेको देखिएको छ । कारोबार अस्वाभाविक देखिएपछि बैंकहरुले राष्ट्र बैंकमा जानकारी गराएको पनि प्रहरी अनुसन्धानमा देखिएको छ ।

    सीआईबीले पेवेलका अध्यक्षसहित ८ कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा पेवेलका अध्यक्ष भीमप्रसाद तिमल्सिना तथा कर्मचारीहरू प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, कश्यप मानन्धर लगायत छन्।

    त्यस्तै भैरहवाबाट एजेन्ट बलबहादुर कुँवर र बाराबाट अरुणकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सजिलो पेका अध्यक्ष भने फरार भएका छन् ।

    ६० केजी सुन तस्करी प्रकरणमा सिआइबीले गरेको दोस्रो चरणको अनुसन्धानमा तस्करीको रकम भुक्तानी ‘पेवेल’ ‘सजिलो पे’ मार्फत हुने गरेको खुलेको हो ।

    यस प्रकरणमा पक्राउ परेका पेवेल नेपालका अध्यक्ष भीमप्रसाद तिमल्सिनासहित, प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रज्वल आचार्य र सुरजशमशेर जबरा तथा सजिलो पे पेमेन्टका सञ्चालक सुशील जाकिबन्जा र फुन्सुक डाग्पा अथुप्छाङ खम्पा र प्रमुख कार्यकारी कश्यप मानन्धरमार्फत १ खर्ब ८ अर्ब रुपैयाँ कारोबारमध्ये ९० प्रतिशतभन्दा बढी रकम सुन तस्करीमा प्रयोग भएको सिआइबीको अनुसन्धानले देखाएको छ ।

    सिआइबीका अनुसार पेवेल र सजिलो पेमार्फत अस्ट्रेलिया, युरोप र अमेरिकाबाट पठाएको विदेशी मुद्रा नेपाल आउनुपर्नेमा सो रकम हुन्डीका रूपमा प्रयोग गरी जम्मा भएको रकम तस्करीका लागि सुन खरिद गर्न ‘युएसडिटी’ मार्फत सिधै चीनको हङकङमा भुक्तानी गर्ने र सुन तस्करीबापत नेपालमा जम्मा हुने रकम सजिलो पे तथा पेवेलका प्राप्तकर्तासम्म पुर्याउने गरेको खुलेको सिआइबीले जनाएको छ ।

    प्रतिवादीलाई अवैध सुन चोरी पैठारी, सङ्गठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अन्तर्गतको कसुरका साथै एकसाथ यी अपराध गरेकाले एकीकृत कसुरतर्फ थप सजाय मागदाबीको तयारी भएको सिआइबीले जनाएको छ ।

    एक वर्षको अवधिमा दुई वालेटको कारोबार अस्वाभाविकरुपमा बढेको देखिन्छ । एक वर्ष अगाडि १ अर्बको कारोबारमा सीमित यी वालेटमार्फत पछिल्लो एक वर्षमा भने भुक्तानी ह्वात्तै बढेको छ ।

    राष्ट्र बैंकले हुन्डी लगायत गैरकानुनी कारोबारको आशंकामा दुवै भुक्तानी सेवा प्रदायक कम्पनीका बैंक खाता यसअघि नै रोक्का गरिसकेको छ ।

    त्यसैगरी, पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुन तस्करी प्रकरणको अनुसन्धानलाई तीब्रता दिएको छ ।

    सुन तस्करी बढ्न थालेसँगै सिआइबीले यस कामलाई तीब्रताका साथ अघि बढाएको हो । विदेशबाट ल्याउने विभिन्न प्रकारका समाग्रीमा लुकाईछिपाइ सुन तस्कर गर्ने गिरोह सक्रिय भएपछि सिआईबीले अनुसन्धान बढाएको छ ।

    अहिले सिआइबीले ६० केजी सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

    दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुर्याएको सिआईबीले अनुसन्धान प्रतिवेदन तयार गरिरहेको छ ।

    ६० केजी सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गर्दा सिआईबीले ३३ सय केजी सुन तस्कर भएको पाएको छ । सोही समुहले विभिन्न सामाग्रीमा लुकाई नेपालमा विमानस्थलबाट सुन तस्कर गरेको खुलेको हो ।

    यसअघि सिआइबीले पहिलो चरणमा पहिलो चरणको अनुसन्धान सकाएर गत असोज १ गते २९ जनाविरुद्ध तीन अर्ब ३० करोड ३० लाख रुपियाँ बिगो तथा जरिबानाको मागसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

    २०८० साउन २ गते हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्रिएको स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

    मुख्य योजनाकार भारत गुजरातका बैजनाथ महादत्त गोयललाई गत वैशाख २१ गते पक्राउ गरी सिआइबीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको थियो ।

    विमानस्थलबाट ‘ब्रेक सु’ का खाली डिब्बा, विद्युतीय सिगरेट (भेप) को ब्याट्रीभित्र लुकाएर तस्करहरुले सुन नेपाल ल्याउने गरेका छन् ।

    त्यतीमात्र हैन विमानस्थलबाटै पानी तान्ने पम्प, स्मार्ट घडी, बिजुलीबाट चल्ने दारी काट्ने मेसिनलगायत सामानभित्र लुकाएर करिब तीन हजार तीन सय केजी सुन तस्करी गरेको अनुसन्धानबाट खुलेको छ ।

    दोस्रो चरणको अनुसन्धानमा भारतीय नागरिकहरू बैजनाथ महादत्त गोयल, प्रशान्त गणेश वजवलकर, सिद्धनाथ अशोक गायकवाड, धीरज दिनेशवैट, पर्सा वीरगन्ज–११ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायक–५ का राजु खत्री, मध्यपुर–१५ का सुशील जाकिबन्जा, काभ्रेपलाञ्चोक तेमाल–४ का कान्छा लामा, नमोबुद्ध–१० का भीमप्रसाद तिमल्सिना, भुम्लु–१ का रूपक भण्डारी, काठमाडौँ–७ का प्रज्वल आचार्य, काठमाडौँ सुविधानगरका सुरजशमशेर जबरा, बाफलका कश्यप मानन्धर, गुल्मी सत्यवती–१ का लालबहादुर कुँवर, बारा जितपुर–१९ का अरुणकुमार यादव, तिब्बतीयन नागरिक गङ्गा टासी तथा सेराप भन्ने सोनम गुरुङ पक्राउ परेका हुन् ।

    पक्राउ परेका थप २० जनाविरुद्ध तयार अनुसन्धान प्रतिवेदन यसै साता जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी सिआईबीले गरेको छ ।

    सीआईबीले दोस्रो चरणको अनुसन्धानमा सुन तस्करी गर्ने, गलाउने, ओसारपसार गर्ने, खरिद तथा बिक्री गर्ने तथा रकम व्यवस्थापन गर्न योजनाबद्ध रूपमा काम गरेको पाइएको भेटाएको हो ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend