काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक (डिजी) चक्रबहादुर बुढाले विचौलिया प्रयोग गरेर व्यवसायीसँग रकम असूली धन्धा चलाएको आरोप लागेको छ । डिजी बुढाले कालिकोटका उपेन्द्र शाहीलाई बिचौलिया बनाइ उनीमार्फत व्यवसायीलाई धम्काएर पैसा उठाउन लगाएको आरोप लागेको छ । बिचौलियाको आरोप लागेका शाही सरकारी कर्मचारी हैनन् ।
विभागका डिजीले विचौलिया प्रयोग गरेर व्यवसायीलाई धम्काउने गरेको विषय संघीय संसदको मंगलबारको बैठकमा उठेको छ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले विशेष समयमा बोल्दै महानिर्देशक बुढाको मोबाइल नम्बरबाट फोन गरेर व्यवसायी तर्साउने गरेको जानकारी प्राप्त भएको बताए ।
उनले डिजीको मोबाइल नम्बर ९७०४५४१००४ बाट शनिबारलगायत अन्य दिनमा फोन गरेर पैसा माग्ने नदिए अनुसन्धान गरेर दुःख दिने भन्दै धम्काउने गरेको जानकारी प्राप्त भएको खतिवडाले बताएका छन् । उनले डिजी बुढाको नामबाट अर्को व्यक्तिले डिजीको नम्बरबाट व्यवसायीलाई विदाको दिन फोन गर्ने तर्साउने गरेको खतिवडाले जानकारी दिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
विभागका डिजीको नामबाट उपेन्द्र शाहीले फोन गर्ने गरेको जानकारी आएको उनले बताए । ‘विभागलाई विचौलिया प्रयोग गरेर पैसा असूली गर्ने ठाउँ नबनाइयोस्’ उनले भने ‘त्यो बिचौलिया को हो ? उसलाई कारबाही गरियोस् ’।
डिजी बनाउन शाहीले ३ करोड रुपैयाँ खर्च गरेकाले व्यवसायीबाट उठाउन लागेको आरोप लागेको छ । यसअघि र त्यसपछि पनि शाहीले महानिर्देशकले प्रयोग गर्ने मोबाइलबाट पटक पटक व्यापारी, उद्यमीहरुलाई फोन गरेकाे आरोप लागेको छ ।
शाहीले पैसा दिए अनुसन्धान रोकिदिन्छौं भनेर ती व्यापारीसँग मोलमोलाइ पनि गरिरहेको पाइएको आरोप लागेको छ । शाहीले डिपार्टमेन्टल व्यवसायी र स्टिल उद्योगीलाई धम्काउँदै पैसा बार्गेनिङ गरेका हुन् ।
महानिर्देशक बुढालाई भेट्न जाँदा उनले उपेन्द्र शाहीसँग कुराकानी गर्न भन्ने गरेको व्यवसायीको गुनासो छ । बुढा गएको वैशाखको अन्तिम साता विभागको महानिर्देशकमा गत वैशाख अन्तिम साता नियुक्त भएका हुन् । त्यसअघि उनी पर्यटन विभागमा थिए ।