logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • ६० केजी सुन तस्करी प्रकरण : २० जना पक्राउ, १५ अझै फरार

    ६० केजी सुन तस्करी प्रकरण : २० जना पक्राउ, १५ अझै फरार

    560
    Shares
    ६० केजी सुन तस्करी प्रकरण : २० जना पक्राउ, १५ अझै फरार

    काठमाडौँ । चीनको हङकङबाट क्याथे प्यासेफिक एयरलाइन्सबाट नेपाल भित्र्याइएको ६० केजी सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धानलाई अन्तिम चरणमा पुर्याएको छ ।

    गएको वर्ष साउन २ गते हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्रिएको स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको ६० केजी सुन प्रकरणको दोस्रो चरणको अनुसन्धानमा सिआइबीले २० जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सुनौलो नेपाललाई जानकारी दिए ।

    उनले भने, ‘६० केजी सुन प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ गरी छानविन गरिएको छ, १५ जना अझै फरार रहेका छन्, उक्त विषयमा केही दिन भित्र पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने छ ।’

    दोस्रो चरणको अनुसन्धानका क्रममा सिआइबीले भारतीय नागरिकहरु प्रशान्त गणेश वजवलकर, सिद्धनाथ अशोक गायकवाड, बैजनाथमहादत्त गोयल, धीरज दिनेश वैट, पर्सा वीरगन्ज–११ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायक–५ का राजु खत्री, मध्यपुर–१५ का सुशील जाकिबन्जा, काभ्रेपलाञ्चोक तेमाल–४ का कान्छा लामा, नमोबुद्ध–१० का भीमप्रसाद तिमल्सिनालाई पक्राउ गरेको छ ।

    यस्तै काभ्रेको भुम्लु–१ का रुपक भण्डारी, काठमाडौँ–७ का प्रज्वल आचार्य, काठमाडौँ सुविधानगरका सुरजशमशेर जबरा, बाफलका कश्यप मानन्धर, गुल्मी सत्यवती–१ का लालबहादुर कुँवर, बारा जितपुर–१९ का अरुणकुमार यादव, तिब्बतीयन नागरिक गङ्गा टासी तथा सेराप भन्ने सोनम गुरुङ पक्राउ प्रवक्ता बोगटीले बताए ।

    उनका अनुसार दोस्रो चरणको अनुसन्धानमा सुन तस्करी गर्ने, गलाउने, ओसारपसार गर्ने, खरिद तथा बिक्री गर्ने तथा रकम व्यवस्थापन गर्न योजनाबद्ध रुपमा काम गरेका रहेका छन् । उक्त सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

    यसअघि सिआइबीले पहिलो चरणमा पहिलो चरणको अनुसन्धान पूरा गरी गएको असोज १ गते २९ जनाविरुद्ध ३ अर्ब ३० करोड ३० लाख रुपैयाँ बिगो तथा जरिबानाको मागसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । तस्करीको सुन गलाउने र विभिन्न आकारमा बनाई ओसारपसार गर्ने मुख्य योजनाकार भारत गुजरातका बैजनाथ महादत्त गोयललाई गत वैशाख २१ गते पक्राउ गरी सिआइबीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको बताइएको छ ।

    सिआइबीले हालसम्म गरेको अनुसन्धानमा बरामद भएको सुनबाहेक यही समूह र कम्पनीमार्फत आयात गरी सुन निकालेको अवस्थामा बरामद गरेको ‘ब्रेक सु’ का खाली डिब्बा, विद्युतीय सिगरेट (भेप) को ब्याट्रीभित्र लुकाएर ल्याएको तस्करीको सुनलगायत पानी तान्ने पम्प, स्मार्ट घडी, बिजुलीबाट चल्ने दारी काट्ने मेसिनलगायत सामानभित्र लुकाएर विमानस्थलबाटै झन्डै तीन हजार तीन सय केजी सुन तस्करी गरेको अनुसन्धानबाट खुलेको छ ।

    ६० केजी सुन तस्करी प्रकरणमा सिआइबीले गरेको दोस्रो चरणको अनुसन्धानमा तस्करीको रकम भुक्तानी ‘पेवेल’ र ‘सजिलो पे’ मार्फत हुने गरेको खुलेको छ । पक्राउ परेका पेवेल नेपालका अध्यक्ष भीमप्रसाद तिमल्सिनासहित, प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रज्वल आचार्य र सुरजशमशेर जबरा तथा सजिलो पेका सञ्चालक सुशील जाकिबन्जा र फुन्सुक डाग्पा अथुप्छाङ खम्पा र प्रमुख कार्यकारी कश्यप मानन्धरमार्फत १ खर्ब ८ अर्ब रुपियाँ बराबरको आर्थिक कारोबारमध्ये ९० प्रतिशतभन्दा बढी रकम सुन तस्करीमा प्रयोग भएको खुलेको छ ।

    पेवेल र सजिलो पेमार्फत अस्ट्रेलिया, युरोप र अमेरिकाबाट पठाएको विदेशी मुद्रा नेपाल आउनुपर्नेमा सो रकम हुन्डीका रुपमा प्रयोग गरी जम्मा भएको रकम तस्करीका लागि सुन खरिद गर्न ‘युएसडिटी’ मार्फत सिधै हङकङमा भुक्तानी गर्ने र सुन तस्करीबापत नेपालमा जम्मा हुने रकम सजिलो पे तथा पेवेलका प्राप्तकर्तासम्म पुर्याउने गरेको खुलेको छ ।

    प्रतिवादीलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अन्तर्गतको कसुरका साथै एकसाथ यी अपराध गरेकाले एकीकृत कसुरतर्फ थप सजाय मागदाबी गर्ने तयारी भइरहेको सिआइबीले जनाएको छ ।

    याे पनि : 

    पेवेल र सजिलो पेबाट सुन तस्करी र हुन्डी कारोबारको १ खर्ब बढी भुक्तानी

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend