काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो पार्टीले अघि सार्ने कार्यदिशा र कार्यक्रमले नयाँ प्रवाह ल्याउने दाबी गरे । उनले ठूलो लडाईं गर्नुपर्ने आवश्यकता अब नरहेको भन्दै सहमतिका साथमा नयाँ नेतृत्व निर्माण गर्ने बताए । उनले सहमतिका साथमा नयाँ नेतृत्व निर्माण गर्नेकुरा आफूहरुको कार्यभार रहेको बताए । उनले महाधिवेशनले सहमतिका साथमा नीति र दृष्टिकोणका आधारमा नयाँ नेतृत्व निर्माण गरेर अघि बढ्ने बताए । उनले अब नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ तरंग सिर्जना हुने दाबी गरे ।
उनले भने, ‘समाजवादी आन्दोलनको सिलसिलामा अब जुन हाम्रो नयाँ प्रवाह शुरु हुँदैछ । स्वभाविक रुपले हामीले अब जुन कार्यक्रम अघि सार्नेछौँ, जो नीतिहरु अघि सार्नेछाैँ । जुन कार्यदिशा अघि सार्नेछाैँ । यो महाधिवेशनमा हामीले मुलभुत रुपमा सहमति गरेका छाैँ, दस्ताबेजहरुमा । अझै त्यसभित्र गहन ढंगले हामीले छलफल गर्ने नै छाैँ । यो महाधिवेशनमा पनि व्यापक मन्थन हुनेछ । यो मन्थनपछि हामी जब कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्यहरुलाई पारित गर्नेछौँ ।
स्वभाविक रुपले अब हामीले ठूलो लडाईं गर्नुपर्ने आवश्यकता छैन कमरेडहरु । हामी जुन प्रकारको नीतिहरु पारित गरिरहेका छाैँ । जुन कार्यदिशा पारित गरिरहेका छाैँ । त्यही आधारमा सहमतिका साथमा नयाँ नेतृत्व निर्माण गर्नेकुरा हाम्रो कार्यभार हो । यो महाधिवेशनले सहमतिका साथमा नीति र दृष्टिकोणका आधारमा नयाँ नेतृत्व निर्माण गरेर हामीले अघि बढ्नुपर्छ । यसरी हामी अघि बढ्यौँ भने नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ तरंग सिर्जना हुनेछ ।’
सम्मानित नेता खनालले दक्षिणपन्थी यथास्थितिवादका बिरुद्धमा भूकम्प सिर्जना गर्ने बताए ।