
काठमाडौँ । छ वर्षको कलिलो उमेरमा बुबासँगै मञ्च उक्लिएर किसानको गीत गाएको कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहलाई अझै पनि ताजै छ । “जुटी किसान, उठी किसान, सब एक जग आइ किसान, हम लोग श्रम करहलवानी एक दुसराके हातमै हात मिलाके अगाडि बढी किसान…” राजनीतिप्रेरित भोजपुरी भाषाको यो गीत गाएपछि आफू पनि बुबासँगै राजनीतिमा होमिएको उनले सुनाइन् ।
गत शनिबार दिउँसो ललितपुरको मन्त्री निवासमा पुग्दा राजनीतिक भेटघाट सकाएर हामीसँग कुरा गर्न तयार हुँदै गर्दा मन्त्री साहले केही बेर बाल्यावस्थाका क्षण सम्झिइन् । बुबा खेद साह कानु र आमा श्रीपति देवी दुवै एमालेको सक्रिय राजनीति गर्नुहुन्थ्यो । बुबा किसानको हक र हितका लागि टाढासम्म पुग्नुहुन्थ्यो भने आमा महिलाहरुको सशक्तिकरण र अधिकारका लागि लड्दै आउनुभएको थियो ।
“किसानको हक र अधिकारका लागि बुबा टाढा–टाढासम्म जानुहुन्थ्यो, म पनि बुबाको पछि लाग्थे, रोटी र नुनको भरमा दिनभर खाली खुट्टा हिँड्नुपदथ्र्यो”, उनी फ्ल्यासब्याकमा पुगिन, “समयक्रमसँगै कुन बेला राजनीतिमा लागियो पत्तै भएन ।”
पञ्चायतकालमा राजनीति गर्दा बुबा जेल पनि पर्नुभएको थियो । विसं २०३८ मा साह जन्मिँदा पनि बुबा जेलमै हुनुहुन्थ्यो । जेलबाटै छोरीको नाम ‘ज्वालाकुमारी’ राखिदिनुभएको थियो । क्रान्तिकारी स्वभावका बुबाले सायद क्रान्ति झल्कने गरी नाम जुराउनुभएको हुनसक्ने साहले सुनाइन् ।
पञ्चायतकालमा राजनीति गर्दा बुबा जेल पनि पर्नुभएको थियो । विसं २०३८ मा साह जन्मिँदा पनि बुबा जेलमै हुनुहुन्थ्यो । जेलबाटै छोरीको नाम ‘ज्वालाकुमारी’ राखिदिनुभएको थियो । क्रान्तिकारी स्वभावका बुबाले सायद क्रान्ति झल्कने गरी नाम जुराउनुभएको हुनसक्ने साहले सुनाइन् ।
सक्रिय राजनीतिमा होमिएका बुबाको समाजमा इज्जत राम्रो थियो । सबैले सम्मानजनक व्यवहार गर्दथे । केही राजनीतिज्ञका लागि बुबा अभिभावक जस्तै थिए । त्यसैले घरमा राजनीतिक भेटघाट नियमित भइरहनु सामान्य थियो । आन्दोलनका विभिन्न कार्यक्रम र कार्यान्वयनका योजनाहरु पनि घरमै बन्थे । यी सबै गतिविधिले साहलाई पनि सानै उमेरमा राजनीतिमा आकर्षित गरिसकेको थियो ।
साहको घर राजनीतिज्ञका लागि सेल्टर जस्तै थियो । सुरुमा एमालेका नेताहरु सरसल्लाहका लागि मात्रै होइन चिया, खाजा र खाना र बास बस्नका लागि पनि नियमित आइरहन्थे । राजनीतिबाटै समाज र मुलुक परिवर्तन गर्न सकिन्छ भन्ने बुबालगायतका नेताहरुको दृढ संकल्प देख्न साहलाई थप हौसला मिल्थ्यो । नभन्दै बुबा र उनीहरुजस्तै नेता तथा कार्यकर्ताहरुको अविछिन्न राजनीतिले जित्यो । तीन दशक लामो पञ्चायती व्यवस्था ढल्यो र मुलुकमा बहुदलीय व्यवस्था लागू भयो । विसं २०४७ सालमा संविधान जारी भएपछि मुलुकले उदारीकरणको नीति लियो । मुलुकले नयाँ संविधान पायो, जनताले केही अधिकार पाए । मुलुकमा फेरि प्रजातन्त्र फर्कियो ।
राजनीति नयाँ कोर्समा प्रवेश गरेपछि साहको पढाइ अघि बढ्यो । जनजीवन सामान्य बन्दै गयो । बुबा र उनका केही साथीहरु बहुदलीय व्यवस्थाको राजनीतिमा अझ बढी सक्रिय भए । तर यसैबीच केही कम्युनिष्टहरु भने क्रान्तिको उद्देश्य अझै पूरा नभएको बताइरहेका थिए । यसरी असन्तुष्टी व्यक्त गर्नेहरु विस्तारै संगठित हुँदै थिए । साहको घरमा फेरि चहलपहल बढ्न थाल्यो । उनीहरु माओवादीका नाममा भूमिगत राजनीति सुरु गरिसकेका थिए । यसैक्रममा केही नेताहरु संगठन विस्तारका क्रममा घर आउने जाने क्रम चलिरह्यो ।
कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहसंग सुनौलो नेपालले गरेको भिडियो कुराकानी
यसरी नियमित घर आउजाउ गर्नेमा माओवादीका नेता सूर्य लामा पनि थिए । उनैले ज्वाला सिंहलाई भनेका थिए, “तिम्रो बुबाले देख्नुभएको सपना अझै पूरा भएको छैन, अब नयाँ बाटोबाट अघि बढेर त्यसलाई पूरा गर्नुपर्छ ।” लामाले भनेको त्यो बाटो जनयुद्धको थियो । ज्वाला पनि सोही बाटोमा आए हुन्थ्यो भने लामाको चाहना थियो । जाने बेलामा उनले माओवादीको क्रान्ति, उद्देश्य तथा नयाँ नेपाल बनाउने योजनाले भरिएको पत्रिका नवयुग हातमा राखेका बिदा भएका थिए ।
ज्वालालाई भने राजनीति गर्नेभन्दा पनि अब बुबा आमालाई कृषिमा सहयोग गर्नुपर्छ भन्ने लाग्थ्यो । विद्यालयबाट बचेको विहान र साँझको समयमा उहाँहरुसँगै खेतबारीमा काम गर्नुपर्छ भन्ने सोच थियो । आफू पनि कलिलो उमेरमा घर छाडेर माओवादीसँगै जाने हो भने घरमा कस्ले ख्याल गर्छ भन्ने पिरलो पनि हुन्थ्यो । तर माओवादीका नेताहरुले भने क्रान्तिको नयाँ बाटो देखाउँदै थिए । उनी पनि माओवादीका गतिविधिमा सहभागी हुँदै गइन । राजनीतिप्रति चासो बढ्यो, यसले उनको सक्रियता बढायो । संगठनमा बोल्न सक्ने भएकैले होला जिम्मेवारी पनि दिन थालियो ।
माओवादीहरु २०५२ सालमै भूमिगत भएर राजनीति सुरु गरिसकेका थिए । सुरुआती दिनमा पार्टी संगठन विस्तार नै उनीहरुको ध्येय थियो । उनीहरु मधेसका हरेक जसो विद्यालयमा पुग्न थालिसकेका थिए । यसैक्रममा २०५४ साल तिर उनीहरु ज्वाला पढ्ने विद्यालयमा पनि आइपुगे । जहाँ जिल्लाको नयाँ कार्यसमिति गठन भयो, ज्वाला कोषाध्यक्ष भइन् ।
“घरमा बुबा आमा कसैलाई थाहा थिएन, सामान्य गतिविधिमा लाग्दै गर्दा नयाँ जिम्मेवारी थपिएको थियो, राजनीति गर्ने सोच भए पनि जिम्मवारीसहितको सुरुआत भने सायद त्यो विन्दु थियो भन्ने लाग्छ”, साहले सुनाइन् ।
नयाँ कार्यसमिति बनेको खबर अखबारमा छापियो । अखबारमा छापिएको समाचारको त्यो टुक्रा घरसम्म आइपुग्यो । कहिले छिमेकीले ल्याउँथे र कहिले एमालेका नेता र प्रहरी पनि सोधपुछ गर्दै घरमा आइपुग्थे । केही दिनसम्म त बुबाले मेरो छोरी होइन भन्दै पन्छ्याउनु भयो । तर सोधपुछ गर्नेहरु बढेपछि बुबा आफैले एक साँझ छोरीलाई सोध्नुभयो, “यो समाचारमा लेखिएको नाम तिम्रै हो ?”
केही दिनसम्म त बुबाले मेरो छोरी होइन भन्दै पन्छ्याउनु भयो । तर सोधपुछ गर्नेहरु बढेपछि बुबा आफैले एक साँझ छोरीलाई सोध्नुभयो, “यो समाचारमा लेखिएको नाम तिम्रै हो ?”
ज्वालालाई बुबासँग झुट बोल्ने आँट आएन । निहुरिएको शिर र दबिएको स्वरले अखबारमा भएको नाम आफ्नै भएको स्वीकार गरिन् । बुबाको अनुहार मलिन भयो । केही चिन्ता मुहारमा तैरियो । तर बुबाले ठूलो असहमति भने जनाउनु भएन । त्यसको केही दिनपछि आमालाई पनि थाहा भयो । त्यसपछि ज्वालाको सक्रियता पार्टीका विभिन्न गतिविधिमा बढ्यो । यसैक्रममा उनी महिला संगठनको जिल्ला अध्यक्ष भइन ।
राजनीति अघि बढ्दै जाँदा उनीमाथि भूमिगत हुनैपर्ने बाध्यता आइलाग्यो । फलस्वरुप २०५५ सालमा उनी १७ वर्षको कलिलो उमेरमा पूर्णरुपमा भूमिगत भइ पार्टीको पूर्णकालिन कार्यकर्ता बनिन् ।
पार्टीको कामका सिलसिलामा काभ्रेपलाञ्चोक, सिन्धुपालचोक, रामेछाप, रोल्पा, रुकुम, मकवानपुरका अधिकांश स्थानमा काम गर्दै अघि बढिन् । “गाडी चढ्ने कुरा हुँदैनथ्यो, कामको सिलसिलामा जहाँ पुग्यौँ पैदल नै हिँड्नुपर्दथ्यो, पैदल नै यी सबै जिल्लाका कुनाकुना पुगेकी छु”, उनले सुनाइन् ।
पार्टीको कामका सिलसिलामा २०५८ सालमा पहिलो पटक काठमाडौँमा आउने मौका जुर्यो । काठमाडौँमा पार्टीको भव्य आमसभाको आयोजना सफल बनाउने जिम्मेवारी ज्वाला जस्तै क्रियाशील कार्यकर्ताको थियो । मधेसबाट काठमाडौँ आउने हजारौँको भिडमा साहसँगै बाराकै अमृत शर्मा बजगाई पनि मिसिए ।
बजगाईसँग काठमाडौँ आउँदै गर्दा पहिलो पटक भेट भएको थियो । “एउटै पार्टी र नजिकै कार्यक्षेत्र भए पनि भेट भएको थिएन । चिनजान हुने कुरै भएन । पहिलो पटक काठमाडौँ आउँदा गाडीमा भेटेको मान्छेसँग दुई वर्षपछि बिहे भयो”, छेवैको सोफामा बसेका श्रीमानलाई हेर्दै उनले विगत सम्झिइन् । पहिलो पटक काठमाडौँ आएको यो जोडीले कार्यस्थल फर्कनु अघि एकसाथ पशुपतिनाथ मन्दिर दर्शन गर्यो ।
केही राम्रा ठाउँहरु घुग्यो र मायाको बिऊ रोप्यो । पार्टीको कामसँगै मायाको विरुवा विस्तारै हुर्कँदै गयो । मलजल भने भइरह्यो । यो कुरा पार्टीमा पनि थाहा भयो । पार्टीकै सहमति र निर्देशमा २०६० साल असार ३ गते एकापसमा भूमिगत अवस्थामा बाराको मौलापुरमा जनवादी विहे पनि भयो । विहे भए पनि पार्टीको काम भने जारी नै रह्यो ।
साह २०६१ सालमा डा. बाबुराम भट्टराईको संयोजकत्वमा गठित जनपरिषद्को केन्द्रीय सदस्य भइन् । उनी पहिलो पटक केन्द्रीय समितिमा अटाइन् । विसं २०६१ को सुरुआत थियो, साह र उनको समूह पहिलोपटक नेपाली सेनाको घेराबन्दीमा पर्यो । साहको गर्भमा एक महिनाको बच्चा हुर्कँदै थियो । शरीर कमजोर बन्दै थियो । तर अरुको हातबाट मर्नभन्दा नदीमा हामफालेर मर्नु जायज भन्ने ठानेर उनी बाराको खजुरिया नदीमा हामफालिन ।
साहको गर्भमा एक महिनाको बच्चा हुर्कँदै थियो । शरीर कमजोर बन्दै थियो । तर अरुको हातबाट मर्नभन्दा नदीमा हामफालेर मर्नु जायज भन्ने ठानेर उनी बाराको खजुरिया नदीमा हामफालिन ।
“मलाई आफू पक्राउ पर्नुभन्दा मर्नु बेस लाग्यो र केही नसोची नदीमा हामफाले, गहिरो नदीले बगाउन थाल्यो, आफू मरिनेमा म ढुक्क थिएँ, तर जनमुक्ति सेनाका कमरेड टाइगरले फिल्मी शैलीमा नदीमा हामफालेर मलाई बचाउनुभयो”, साहले त्यो दिन सम्झँदै भनिन्, “उहाँले आफ्नो ज्यान जोखिममा राखेर मलगायत अरुलाई बचाएको त्यो दिन, म र गर्भमा रहेको मेरो छोराले नयाँ जीवन पायौँ ।”
सो आक्रमणबाट ज्यान जोगाएर साहको टोली भारत पस्यो । तीन जनाले ज्यान गुमाए । ज्यान गुमाउनेमा साहको पनि नाम पर्यो । छोरीको मृत्यु भएको अपुष्ट खबर बारामा रहेका बुबा आमाको कानसम्म पनि पुग्यो । उहाँहरुको होसअवास उठ्यो । तै पनि यो समाचार गलत भइहाल्छ कि भन्ने मनमा आशा भने जीवित थियो । भारत पसेको केही समयपछि साहले घर नजिकैको ल्याण्डलाइनमा फोन गरेर आफू सुरक्षित रहेको खबर घरसम्म पुर्याइन । केही दिनदेखिको बुबाआमाको मलिन अनुहार उज्यालियो । छोरी सुरक्षित भन्ने खबरले दिनचर्या सामान्य बन्यो ।
भारतमा केही समय बसेपछि उनी नेपाल फर्किइन् । पुस लाग्दै गर्दा सुत्केरी हुने समय पनि आयो । नेपालमा बस्दा असुरक्षित भइन्छ कि भनेर आमाले कर गरेरै ज्वालालाई भारतको मोतिहारीमा रहेका आफन्तकहाँ पुर्याइन् । त्यहाँ पुगेको भोलिपल्ट अर्थात् २०६१ पुस २७ गते जेठो छोरा जन्मियो । छोरालाई तुरुन्दै निमोनियाको लक्ष्ण देखियो । “बाराबाट हिँडेरै मोतिहारी पुगेकी मलाई थकानले दबाएको थियो, सुत्केरी भएको भोलिपल्ट छोरालाई निमोनियाको लक्षण देखिएपछि अझ गलायो तर हिम्मत भने हारिन”, उनले सुनाइन् ।
दुई दिनको छोरा बोकेर उनी अस्पताल पुगिन् । सानै नम्बरमा उनको पालो थियो, यत्तिकैमा केही भारतीय सुरक्षाकर्मीहरु छापामार शैलीमा अस्पतालभित्र पुगे । डाक्टरसँग नेपालबाट माओवादी आएका छन् रे भन्दै सोधपुछ गर्न थाले । “त्यसदिन मलाई म पक्राउ पर्छु भन्नेमा ढुक्क थिए, आमालाई छोराको ख्याल राख्नु भनेर सम्झाउँदै गए, यत्तिकैमा भोक लागेको बाहनामा अस्पतालबाट बाहिर निस्किएँ, केही समयमा आमा पनि छोरालाई बोकर बाहिर आउनुभयो”, साहले सुनाइन्, “हतार–हतार रिक्सामा चढेर चैनपुरतर्फ लाग्यौ, त्यहाँ बुबाका नातेदारको घर थियो, त्यो घरमा आइपुग्दा उहाँहरुलाई सोधपुछका लागि प्रहरीले लगिसकेको रहेछ ।”
साह आमा, दुई दिनको छोराका साथमा एक जना दाजुलाई लिएर नेपालको सीमातर्फ लागिन् । सुत्केरी मान्छे पुसको चिसोमा रातभरी हिँड्दा कतिबेला कहाँ ढलिन्छ भन्ने डर मनभरी भइनै रह्यो । खेतका आलीको हिलोमा डुब्दै उनी मध्यरातमा मन्दिर छेउमा आइपुगिन् । पोखरीको फोहोर पानी पिएर ढलिन् । मन्दिरका पुजारीले केही समय ख्याल राखे । पुजारीले आगो बालेपछि केही न्यायो भयो । नेपालको यात्रा गरेर अघि बढेकी उनलाई त्यहाँ दिन बिताउने समय थिएन । त्यसैले उज्यालो नहुँदै सीमास्थित ठूली आमाको घर आइपुगिन् । त्यहाँ आएपछि ठूलो रुवाबासी भयो ।
छोरालाइै काखीमा च्यापेर उनी त्यसैदिन मकवानपुरको चुरे क्षेत्रमा आइन । त्यहाँको घरमा उनले सुरक्षासँगै सम्मान पनि पाइन् । छोरालाई हुर्कन पनि ठूलो सहयोग मिल्यो । सुत्केरी साहका लागि त्यो केही समयका लागि आराम गर्ने ठाउँ मिल्यो । त्यहाँ आएको दुई महिनामा फापरबारीमा फेरि सेनाले घेराबन्दी गर्यो । “पहिलो पटक गर्भ रहेको समयमा र दोस्रो पटक सुत्केरी भएको समयमा घेराबन्दीमा परे, पहिलो पटक जस्तै दोस्रो पटक पनि कलिङ भएकाले बाँच्यौ”, उनले भनिन् ।
माओवादीको जनयुद्ध उत्कर्षमै रहेको बेलामा २०६४ सालमा माओवादी र तत्कालीन सरकारबीच १२ बुँदे सहमतिका माध्यमबाट मुलुकमा शान्ति स्थापना भयो । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा साह समानुपातिक सांसद बनिन् । उनी २०६७ सालमा भूमिसुधार राज्यमन्त्री र पर्यटन मन्त्री बनिन् । विसं २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा भने बारा–१ मा पराजित भइन् ।
मुलुक संघीय संरचनामा गइसकेपछि २०७४ सालमा भएको पहिलो प्रदेशसभाको निर्वाचनमा साह बारा निर्वाचन क्षेत्र नं ३ (१) बाट विजयी भइन् । निर्वाचनपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच एकीकरण भइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भयो । तर, त्यसको केही समयपछि पार्टी विभाजन भयो । उनले माओवादीतर्फ नलागी एमालेमा रहने निर्णय गरिन् ।
“मैले माओवादीमा रहँदा व्यक्तिगत रुपमा राम्रो अवसर पाएकै थिएँ, पार्टीको पोलिटब्यूरोदेखि राज्यमन्त्रीसमेत भइसकेकी थिएँ, तर पार्टी विभाजन हुँदा तत्कालीन समयमा अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिनुपर्छ भन्ने मलाई लाग्यो, त्यो मेरो व्यक्तिगत इच्छा र चाहना भन्दा पनि मुलुकको आवश्यकताका आधारमा एमाले रोजेकी थिएँ”, उनले सुनौलो नेपाललाई भनिन् । दुई पार्टी एकीकरण भएपछि अध्यक्ष ओलीबाट उनी निकै प्रभावित भएकी रहिछन् । केपी ओलीको व्यक्तित्व मात्रै होइन नेतृत्वको क्षमताबाट प्रभावित भएकाले दीर्घकालीनरुपमा उहाँलाई साथ दिनुपर्छ भन्ने मनबाटै लागेको साहले सुनाइन ।
केपी ओलीको व्यक्तित्व मात्रै होइन नेतृत्वको क्षमताबाट प्रभावित भएकाले दीर्घकालीनरुपमा उहाँलाई साथ दिनुपर्छ भन्ने मनबाटै लागेको साहले सुनाइन ।
एमालेमा आइसकेपछि साहले पार्टीको मधेस प्रदेशको अध्यक्षको जिम्मेवारी पाइन् । ओलीको नेतृत्वमा कृषि मन्त्री बनिन् । पहिलो पटक केपी शर्मा ओलीको नेतृत्वको सरकारमा १३ दिन मन्त्री भइन । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा दोस्रो पटक ४२ दिन र अहिले उनकै नेतृत्वमा कृषि मन्त्रालय सम्हालेको करिब तीन महिना पुगेको छ ।
साढे दुई दशकको सक्रिय राजनीतिक यात्रामा साहले कैयौँ उतारचढाव देखेकी छन् । कहिले विधायिका र कहिले मन्त्रीका रुपमा कार्यपालिकाको जिम्मेवारीमा रहेर काम गर्दा मुलुकको विकासका लागि गर्नुपर्ने धेरै काम अझै गर्न बाँकी रहेको उनको बुझाइ छ । “मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि विकासले नयाँ गति समातेको छ, यद्यपि हामीले चाहेको जस्तो अझै छैन, तर पनि आशा गर्ने र ती आशालाई देखिने गरी कार्यान्वयन गर्न सकिने प्रशस्त आधार छन्, हामी एकजुट भएर अघि बढ्याैँ भने मुलुकको विकास हुन धेरै समय लाग्दैन”, संवादको विट मार्दै उनले भनिन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend