logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • प्राकृतिक विपत्ति :

    वर्षासँगै बाढी, पहिरो र डुबान : पोखरामा राजमार्ग भासियो, विराटनगर जलमग्न

    वर्षासँगै बाढी, पहिरो र डुबान : पोखरामा राजमार्ग भासियो, विराटनगर जलमग्न

    1.4K
    Shares
    वर्षासँगै बाढी, पहिरो र डुबान : पोखरामा राजमार्ग भासियो, विराटनगर जलमग्न

    काठमाडौँ । मनसुनी वायुको प्रभावले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । वर्षा भएसँगै बाढी, पहिरो र डुबानको समस्या आउन थालेको छ ।

    रातिदेखि परेको अविरल वर्षाका कारण विराटनगरका विभिन्न ठाउँ डुबानमा परेका छन् ।

    विराटनगर महानगरपालिकाका विभिन्न ठाउँ डुवानमा परेको छ । विराटनगरको पश्चिम भेगका२०० भन्दा बढी परिवारलाई उद्धार गरेर सुरक्षित ठाउँमा सारिएको छ।

    यस्तै, वर्षाका कारण बुटवल पनि जलमग्न भएको छ । वर्षाले बुटवलको मुख्य बजार क्षेत्र मिलनचोक कालिकानगर, राजमार्ग चौराहा जलमग्न भएको छ ।

    वर्षाका कारण केही डुबान मात्र हैन केही ठाउँमा भौतिक र मानवीय क्षतिका विवरणहरू प्राप्त भएका छन् ।

    पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

    कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गएराति पहिरोमा पुरिएर १३ वर्षीया आयुष्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

    घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ । घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो ।

    यसैगरी गएराति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ ।

    घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    घटनामा हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ । पोखरामा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

    यस्तै, लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गएराति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् ।

    मोरङमा पनि बाढी पहिरोले क्षति गरेको छ । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ ।

    मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको छ । फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जानकारी दिए ।

    यसैगरी बाढीले बगाउँदा सोही परिवारका दुईजना बेपत्ता छन् । बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी (सासू) र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन् ।

    पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका १४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो ।

    अविरल वर्षाले सडक भासिएपछि राजमार्ग भएर गुड्ने सवारी साधनसमेत प्रभावित भएका छन् ।

    ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

    चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

    पहिरामा परी देवकुमारीका श्रीमान् ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ वर्षीया मेनुका गम्भीर घाइते भएका छन् ।

    प्रहरी चौकी सेर्नाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा दुवैजनाको उद्धार गरिएको हो । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । पहिरोले एकतले घर र गोठ पुरिएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend