logo

२०८१ असार १५ शनिबार

logo
  • शनिबार, १५ असार २०८१
  • नेपाल र बंगलादेश जोड्न १२ सय ७५ किलोमिटर लामो नयाँ रेलमार्ग बनाउन भारतको तयारी

    नेपाल र बंगलादेश जोड्न १२ सय ७५ किलोमिटर लामो नयाँ रेलमार्ग बनाउन भारतको तयारी

    273
    Shares
    नेपाल र बंगलादेश जोड्न १२ सय ७५ किलोमिटर लामो नयाँ रेलमार्ग बनाउन भारतको तयारी

    एजेन्सी । भारतीय रेल्वेले बंगलादेश, नेपाल र उत्तरपूर्वी क्षेत्र जोड्न विभिन्न १४ नयाँ रेलमार्ग बनाउने भएको छ । नयाँ रेलमार्ग बनाउन भारत सरकारले अन्तिम स्थान सर्वेक्षण (फाइनल लोकेसन) स्वीकृत गरेको छ ।

    स्वीकृत अन्तिम स्थान सर्वेक्षणको कुल लम्बाइ १२ सय ७५ किलोमिटर छ । बंगलादेशसँग जोड्ने नयाँ रेल लाइन अन्तिम स्थान सर्वेक्षणको कुल लम्बाइ ८ सय ६१ किलोमिटर छ । यस्तै नेपालसँग २ सय २ किलोमिटर छ । पूर्वोत्तरतर्फ प्रस्तावित वैकल्पिक मार्गहरू २ सय १२ किलोमिटर लम्बाइको हुने भारतीय रेल्वेले जनाएको छ ।

    भारत र बंगलादेशबीच रेल ‘कनेक्टिभिटी’ का लागि स्वीकृत मार्गहरूमा बालुरघाट–हिली–पार्वतीपुर–कौनिया, –लालमनिरहट–मोगलहाट र गितालदह खण्ड हुन् । यो माग ३२ किलोमिटर लामो हुने भएको छ । जसमध्ये १४ किलोमिटर नयाँ रेलमार्ग हुनेछ भने १८ किलोमिटर गेजमा रूपान्तरण हुने भारतीय रेल्वेले जनाएको छ । प्रस्तावित बालुरघाट–गीतालदह–बमनहट–सोनहट–गोलकगञ्ज–धुबरी खण्ड ५६ किलोमिटर लम्बाइको हुनेछ । जसमध्ये ३८ किलोमिटर नयाँ रेलमार्ग र १८ किलोमिटर गेजमा रूपान्तरण हुनेछ । बालुरघाट–हिली–गैबन्धा–महेन्द्रगञ्ज–तुरा–मेन्दिपथर खण्डमा २ सय ५० किलोमिटर नयाँ रेलमार्ग निर्माण हुने भएको छ ।

    प्रस्तावित मंगुर्जन–पिरगञ्ज–ठाकुरगाउँ–पञ्चगढ–हल्दिबारी रुटमा ६० किलोमिटर नयाँ रेलमार्ग निर्माण हुनेछ । प्रस्तावित दलखोला–पिरगञ्ज–ठाकुरगाउँ–पञ्चगढ–हल्दिबारी खण्डमा ८० किलोमिटर नयाँ रेलमार्ग हुने भएको छ । प्रस्तावित राधिकापुर–बिरोल–पार्वतीपुर–कौनिया–गितालदह खण्ड ३२ किलोमिटर लम्बाइको हुनेछ । जसमध्ये १४ किलोमिटर नयाँ रेलमार्ग र १८ किलोमिटर गेज रूपान्तरण हुनेछ । प्रस्तावित बेलोनिया–फेनी–छोटोग्राम मार्ग १ सय ३१ किलोमिटर लम्बाइको हुनेछ । जसमध्ये ३८ किलोमिटर नयाँ रेलमार्ग र ९३ किलोमिटर गेज रूपान्तरण हुनेछ । गेदे–दर्शना–ईश्वरदी–टोंगी–भैरब बजार–अखौरा–अगरतला रुटमा १ सय किलोमिटर गेज रुपान्तरण हुनेछ ।

    प्रस्तावित पेट्रापोल–बेनापोल–नाभरो–जसोर–रुपदिया–पद्माबिला–लोहागरा–कासियानी–शिबचार–मावा–निमतला–गेन्डरिया–ढाका–टोंगी–भैरब बजार–अखौरा–अगरतला रुटका लागि १ सय २० किलोमिटर गेज रूपान्तरण आवश्यक छ ।

    उत्तरपूर्वी सीमाना रेलवेका प्रमुख जनसम्पर्क अधिकारी सब्यसाची डेले फोब्र्सगञ्ज–लक्ष्मीपुर खण्डको बीचमा निर्माण गरिने पूर्वोत्तरतर्फको वैकल्पिक नयाँ मार्ग १७.६० किलोमिटर लम्बाइको हुने बताए । ठाकुरगञ्ज–छत्तरहाट खण्डबीचको नयाँ रुट २४.४० किलोमिटर लम्बाइको हुनेछ । कुमेदपुर–अम्बरी फलकाटा नयाँ रुटका लागि १ सय ७० किलोमिटर नयाँ रेलमार्ग निर्माण गर्नुपर्ने भएको छ । भारत र नेपाल बीचको रेल जडानको अन्तिम स्थान सर्वेक्षणका लागि स्वीकृत मार्ग विराटनगर–नयाँ मल जक्शन खण्डको बीचमा छ ।

    जसमा १ सय ९० किलोमिटर नयाँ रेलमार्ग निर्माण गर्नुपर्ने भएको छ । प्रस्तावित गलगलिया–भद्रपुर–काजली बजार खण्डमा १२.५ किलोमिटर नयाँ रेलमार्ग निर्माण गर्नुपर्ने देखिएको छ । माथिको नयाँ प्रस्तावित रेल्वे लाइनहरूले ‘चिकन नेक’ भागमार्फत जडानलाई अझ बलियो बनाउने भारत सरकारको भनाई छ ।

    उनले भारत सरकार ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत सबै छिमेकीसँग मैत्रीपूर्ण र पारस्परिक लाभकारी सम्बन्ध विकास गर्न प्रतिबद्ध रहेको बताए । यो नीतिले विस्तारित रेलरसडक जडान, पूर्वाधार विकास र जनता–जनताको बृहत्तर सम्पर्कलाई प्राथमिकता दिने बताइएको छ । यसले छिमेकी राष्ट्रहरूबीच राम्रो सञ्चारको विकासका साथै व्यापार तथा पर्यटन गतिविधिमा उल्लेख्य वृद्धि हुने बताइएको छ ।
    (द इकोनोमिक टाइम्सको सहयोगमा)


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend