काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बिहान सार्वजनिक गर्दै छ ।
बोर्डका अनुसार आज बिहान ९ बजे नतिजा सार्वजनिक हुने छ । त्यसका लागि बिहान ७ बजे बोर्डको बैठक बस्दै छ ।
बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, केही प्राविधिक तयारी नपुगेपछि आजका लागि सारेको हो ।
गत चैतमा सञ्चालन भएको शैक्षिक सत्र २०८० को एसईई परीक्षामा देशभरबाट ४ लाख ९१ हजार ४९७ परीक्षार्थी सहभागी भएका थिए ।
बोर्डले यो वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नै छ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।
यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने छ ।
त्योभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिने छ । पुनः ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ । माथिल्लो कक्षामा पढ्न पाउने छैन ।