काठमाडौँ । सन् २००४ मा स्पाइस नेपाल (आजको एनसेल) नेपाल प्रवेश गर्दा नेपालमा टेलिफोन सेवा प्रदायक कम्पनीमा नेपाल टेलिकम र युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) मात्रै थिए । नेपाल टेलिकमले ल्याण्डलाइन र मोबाइल सेवा प्रदान गरिसकेको थियो भने यूटीएलले लिमिटेड मोबिलिटीको अनुमति पाएको थियो ।
यूटीएलको प्रवेशले उपभोक्तालाई घरमा फोन राख्न चाहने ग्राहकका लागि नयाँ विकल्प दियो । तर, मोबाइल उपभोक्ताका लागि भने नेपाल टेलिकमको महंगो सेवा लिनुको विकल्प थिएन् । सन् १९९९ मै नेपाल टेलिकमले जीएसएम मोबाइल सेवा सुरु गरे पनि त्यो सीमित पहुँचभन्दा बाहिर जान सकेको अवस्था थिएन ।
उपभोक्ताले सिम पाउन सकस भोग्नुपर्ने अवस्था थियो भने नेटवर्क विस्तार पनि निकै कम स्थानमा मात्रै हुन सकेको थियो । त्यसमाथि चर्को शुल्क, एक जिल्लाबाट अर्को जिल्लामा जाँदा चर्को रोमिङको समस्याले उपभोक्ताका लागि मोबाइल बोक्नु मात्रै पनि प्रतिष्ठाको विषय बनेको थियो । अवस्था कतिसम्म थियो भने, नेपाल टेलिकमको सिम किन्न महिनौ कुनुपर्ने, पालो आउने दिन रातभर कार्यालय अगाडि लामबद्ध हुनुपर्ने अवस्था थियो ।
उपभोक्ताले यस्तै समस्या भोगिरहेको समय अर्थात् सन् २००४ मा स्पाइस नेपालले टेलिकमको लाइसेन्स प्राप्त गरी सेवा सुरुआत गरेको थियो । स्पाइसले मेरो मोबाइलका नाममा सिम बिक्री गर्न थाल्यो । उपभोक्ताले आधारभन्दा सस्तोमा सिम पाउने अवस्था भयो भने सुरुआती दिनमा मोबाइलबाट फोन गर्दा लाग्ने शुल्क असाध्यै सस्तो भइदियो ।
जसले गर्दा मेरो मोबाइलको सिम प्रयोगकर्ता ह्वात्तै बढे । देशका विभिन्न स्थानमा धमाधम मेरो मोबाइलका टावर बन्न थाले । समयक्रमसँगै मेरो मोबाइल एनसेल बन्यो । एनसेलले मोबाइलको विकसित प्रविधि नेपाल भित्र्यायो भने अधिकांश स्थानमा गुणस्तरीय फोन र इन्टरनेटको सुविधा उपलब्ध गरायो ।
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कंडेल एनसेलको प्रवेशले नेपालको टेलिकम क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउँछन् । ‘नेपाल टेलिकमको मात्रै एकाधिकार हुन्थ्यो भने यति छिटो विकास हुने थिएन, विस्तारको गति पनि यति छिटो हुने थिएन जुन स्वभाविक हो’, उनले सुनौलो नेपालसँग भने, ‘प्रतिस्पर्धी बजारमा आफ्नो अस्तित्व जोगाउन काम गर्नैपर्ने हुन्छ । जुन बाध्यकारी अवस्था एनसेलकै कारण सिर्जित हो भन्दा फरक पर्दैन ।’
कंडेलका अनुसार एनसेलको प्रवेश नहुँदा नेपाल टेलिकमको बजारमा एकाधिकार थियो । उपभोक्तासँग सेवा जस्तो भए पनि विकल्प थिएन । टेलिकमलाई पनि ग्राहक घट्छन् भन्ने चिन्ता पनि थिएन । तर जब एनसेलको प्रवेश भयो, सबैभन्दा ठूलो चुनौती नेपाल टेलिकमलाई भयो । एनसेललाई आधार बनाउनका लागि धेरै काम गर्नुपर्ने बाध्यता थियो भने नेपाल टेलिकमलाई आफ्नो बजार हिस्सा कायमै राख्नुपर्ने चुनौती थियो ।
यी दुवै बाध्यता र चुनौतीले मुलुकको टेलिकम क्षेत्रको विकास र विस्तार भएको उनको भनाइ छ । एनसेलको आगमनले अहिले सर्वसाधारणले सहज रुपमा सस्तो दरमा मोबाइल सेवा उपयोग गर्न पाएका छन् । नेपालका ग्रामीण क्षेत्रमा मोबाइल सेवा पुग्नुमा एनसेलको महत्वपूर्ण भुमिका रहेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७९/८० सम्म टेलिकम कम्पनीको आम्दानीमा एनसेलको हिस्सा सबैभन्दा धेरै थियो भने नेपाल टेलिकमको ३८ र बाँकी आईएसपी, एनएसपी र भीएएसको हिस्सा २२ प्रतिशत मात्रै थियो ।
एकाधिकार तोडिएपछि टेलिकम सेवा सहज
एनसेल आउनुअघि नेपाल टेलिकमको एकाधिकार थियो । कुनै प्रतिस्पर्धा नभएकाले, एनटीसीसँग आफ्नो सेवामा सुधार ल्याउने वा नवीनता ल्याउनका लागि बाध्यकारी अवस्था थिएन् । त्यो समयमा करिब एक प्रतिशत जनसंख्यामा मात्रै मोबाइल टेलिफोनको पहुँच थियो । सेवाको गुणस्तर कमजोर थियो भने ग्रामीण क्षेत्रमा सीमित कभरेज माात्रै थियो ।
यदि एनसेलले सन् २००४ मा बजारमा प्रवेश नगरेको भए, नेपालको दूरसञ्चार क्षेत्र धेरै सुस्त गतिमा विकास भएको हुनसक्थ्यो भन्ने आधार निकै धेरै छन् । एनसेल नहुँदो हो भने टुजीदेखि फोरजीसम्मको यात्रा यति छिटो नहुन पनि सक्थ्यो । यहाँ प्रश्न उठ्न सक्छ, लाइसेन्स पाएको भए अरुले पनि गर्न सक्थे, यो समयको मागअनुसार भएको विकास हो पनि भन्न सकिन्छ ।
तर, एनसेलभन्दा अगाडि लाइसेन्स पाएको यूटीएलको अवस्था हेर्दा त्यो भन्ने ठाउँ पनि छैन । त्यसैले एनसेलको उपस्थितिले गुणस्तर सुधार, पहुँच विस्तार मात्रै होइन प्रतिस्पर्धात्मक बजारले सकारात्मक परिवर्तन ल्यायो जसको प्रतिफल आम उपभोक्ताले समग्र मुलुकले नै पाएको हो भन्न सकिन्छ ।
एनसेल सन् २०१० मा नेपालमा थ्रीजी सेवा सुरु गर्ने पहिलो अपरेटर बन्यो भने सन् २०१७ मा फोरजी सेवा पनि सुरु गर्यो । कालान्तरमा बजारमा एनसेल र एनटिसी मात्रै प्रतिस्पर्धी सेवाप्रदायक बने । यी दुई सेवाप्रदायकको बीचको प्रतिस्पर्धाले मोबाइल र इन्टरनेट सेवाहरूको मूल्यमा व्यापक कमी ल्यायो । नविनतम प्रविधिको प्रयोग उपभोक्ताले छिट्टै गर्ने अवस्था आयो । सेवा गुणस्तरमा सुधार भयो भने यसबीच एनसेल र एनटीसीले पूर्वाधारमा ठूलो लगानी पनि गरे ।
प्रतिस्पर्धात्मक बजारमा कलको गुणस्तर सुधारमा पनि व्यापार परिवर्तन भयो । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७९/८० मा दूरसञ्चार सेवामा प्रयोग हुने उपकरण आयातमा एनसेलको हिस्सा ६१.८४ प्रतिशत छ । जहाँ नेपाल टेलिकमको हिस्सा ३८.१५ प्रतिशत मात्रै छ । यसले पनि पूर्वाधारको क्षेत्रको एनसेलको लगानी ठूलो रहेको बुझ्न सकिन्छ ।
अर्थतन्त्रमा ठूलो योगदान
एनसेलले गत आर्थिक वर्षसम्म ३ खर्ब २ अर्ब रुपैयाँ भन्दा बढी कर तिरिसकेको छ । एक दशकदेखि एनसेल सरकारलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीहरुको सूचीमा रहन सफल हुँदै आएको छ । एनसेलले दूरसञ्चारसम्बन्धी सेवाको लाइसेन्स शुल्क, फ्रिक्वेन्सी शुल्क, दूरसञ्चार सेवा शुल्क, भन्सार, स्रोतमा अग्रिम कर कट्टी (टीडीएस), अग्रीम कर, पुँजितगत लाभकर, रोयल्टीलगायतका शीर्षमा राजस्व सरकारलाई बुझाएको हो । त्यति मात्रै होइन एनसेलले प्रत्यक्ष अप्रतक्ष्य गरी झण्डै २५ हजारलाई रोजगारी प्रदान गरेको छ ।
एनसेलको प्रवेशसँगै नेपालले प्रत्यक्ष विदेशी लगानी (एफडिआई) आकर्षित गर्यो । यसले नेपालको टेलिकम क्षेत्रमा मात्र नभई अन्य क्षेत्रहरूमा पनि विदेशी लगानीकर्ताहरूको विश्वास बढायो । एनसेलको आगमनले थुप्रै प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी २५ हजारभन्दा बढी रोजगारी सिर्जना गरेको छ । अप्रत्यक्ष रुपमा एनसेलले विभिन्न सेवा प्रदायक, सिम कार्ड बिक्रेता, मोबाइल फोन बिक्रेता, र अन्य सम्बन्धित उद्योगहरूमा रोजगारी अवसरहरू बढाएको छ ।
त्यति मात्रै होइन, एनसेलले नयाँ प्रविधिमार्फत यस क्षेत्रमा क्राान्ति नै ल्यायो भन्दा अन्युक्ति हुँदैन । थ्रीजी र फोरजी सेवाले इन्टरनेटको गति र पहुँच बढायो । यसबाट डिजिटल व्यवसायको आकार बढ्यो । एनसेलले ग्रामीण क्षेत्रमा आफ्नो सेवा विस्तार गरेर ग्रामीण विकासमा योगदान पुर्याएको देखिन्छ । साथै एनसेलको सेवाले बैंकिङ सेवा पहुँच नभएका क्षेत्रमा मोबाइल बैंकिङ र भुक्तानी समाधान पुर्याएर वित्तीय पहुँच र समावेशिता बढाउन सहयोग गर्यो ।
सीएसआरमा २ अर्ब योगदान
एनसेलले अहिलेसम्म संस्थाको सामाजिक उत्तरदायित्व (सीएसआर)मा हालसम्म २ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । सामाजिक उत्तरदायित्वको काममा शिक्षा, स्वास्थ्य, वातावरणलाई विशेष प्राथमिकतामा राख्दै आएको छ । पछिल्ला केही उदाहरणमा देशभरका ६० वटा सरकारी विद्यालयमा सूचना प्रविधिको प्रगोगमार्फत पठनपाठनका लागि आधुनिक डिजिटल आईटी ल्याव स्थापना गरिसकेकेको छ ।
साथै, धुलिखेल अस्पतालसँगको सहकार्यमा सेवाबाट बञ्चित समुदायहरुलाई टेलिमेडिसिनमार्फत गुणस्तरीय स्वास्थ्य सेवा, काठमाडौँ उपत्यकाको रिङरोडको कोटेश्वर–कलंकी खण्डमा ग्रीन बेल्टमा हरियाली प्रवद्र्धन तथा मर्मत सम्भार, एटिन फर एटिन योजनाअन्तर्गत सातै प्रदेश समेटिने गरी १८ वटा सामाजिक कामलगायतका कार्यक्रमहरु रहेको छ ।
कूल ६० वटा आधुनिक डिजिटल आईटी ल्यावबाट ३० हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । त्यसैगरी टेलिमेडिसिन कार्यक्रममा कार्यान्वयनसँगै ग्रामीण भेगका १५ हजारभन्दा बढी घरधुरीका ८० हजारभन्दा बढी स्थानीयबासीले गुणस्तरीय स्वास्थ्य सेवाको सहज पहुँच पाएका छन् । सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका धुलिखेल अस्पतालअन्तर्गतका चार सामुदायिक स्वास्थ्य केन्द्रमार्फत कार्यक्रम सञ्चालनमा रहेको छ ।
स्थानीयले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोगलगायत रोगको उपचार सेवा पाइरहेका छन् । यो कार्यक्रमको छुट्टै र नौलो विशेषता भनेको व्यक्तिगत स्वास्थ्य कार्यक्रम अर्थात पर्सनलाइज्ड हेल्थ प्रोग्राम (पीएचपी) हो । जसअन्तर्गत कार्यक्रम सञ्चालन भएका क्षेत्रका समुदायका स्थानीयले व्यक्तिगत स्वास्थ्य सेवा पाउँछन् ।
सीएसआरमा वार्षिकरुपमा धेरै रकम खर्च गर्ने एनसेल सम्भवत नेपाल कै नम्बर एक कम्पनी भएको एनसेलको दाबी छ । त्यसका साथै एनसेलले १० वर्षमा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका दुई सयभन्दा बढी विद्यार्थीलाई एनसेल छात्रवृद्धि तथा उत्कृष्टता सम्मान प्रदान गर्दै आएको छ ।
एनसेलका कर्पोरेट कम्युनिकेशन एण्ड सीएसआर विभागका सिनियर स्पेसलिष्ट रमेश श्रेष्ठ एनसेलले पछिल्लो समय शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउछन् । त्यसबाहेक विपद् व्यवस्थापन तथा प्रतिकार्यका क्षेत्रमा पनि काम गरिरहेको उनको भनाइ छ । “विपद् व्यवस्थापनका लागि मनसुनको समयमा बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा बाढी पहिरोको जोमिखसम्बन्धी पूर्वजानकारीहरु एमएमएस अलर्टमार्फत प्रदान गर्दै आएका छौँ”, उनले भने, “यस कार्यले हुनसक्ने सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ ।”
भावी योजना
एनसेलले आधारभुत टुजी सेवाको पहुँच कुल जनसंख्याको ९२ प्रतिशतमा पुगिसकेको छ भने आधुनिक फोरजी सेवाको पहुँच कुल जनसंख्याको ९० प्रतिशतभन्दा बढीमा विस्तार भइसकेको छ । साथै देशका विभिन्न भागमा फोरजी सेवाको थप सुधार पनि गरेको छ र थप आवश्यक स्थानहरुमा सेवा विस्तारका साथै थप सुधारका कार्य योजनासहित कामहरु भइरहेको एनसेलले जनाएको छ ।
फाइभजीको योजना
एनसेलले भावी योजनामा फाइभजीको योजना पनि समावेश गरेको छ । हाल एनसेलले नेपाललाई भारतपछि यो प्रविधि भित्र्याउने दोस्रो दक्षिण एसियाली मुलुक बनाउने गरी काम गरिरहेको जनाएको छ । त्यसका लागि सरकारको तर्फबाट पनि सहयोग आवश्यक रहने उनको भनाइ छ । फोरजीको पहुँच देशको ९० प्रतिशतभन्दाबढी जनसंख्यामा पुगिसक्दा पनि आशातित रुपमा फोरजी प्रयोग नभएको उसको बुझाइ छ । जसले गर्दा नेटवर्क युटिलाइजेसन् कम रहेको कम्पनीको भनाइ छ ।
डेटा नै भविष्य
आजका दिनमा मोबाइल फोन कल गर्नका लागि भन्दा बढी इन्टरनेट प्रयोगका लागि प्रयोग हुने गरेको छ । एनसले पनि इन्टरनेट अर्थात डेटा सेवा नै भविष्य हो भन्नेमा विश्वस्त छ । नेपालमा विशेष गरी सन् २०१७ मा फोरजी सेवा सुरु भएपछि मोबाइल डेटाको उपयोग वार्षिक रुपमा बढिरहेको छ भने त्यसको शूल्क पनि घटेको छ । डेटाको प्रयोग बढाउँदै, डिजिटलाइजेसनमा योगदान पुर्याउँदै देशलाई फाइभजी सेवाको लागि तयारी गर्नु एनसेलले आफ्नो उद्देश्य रहेको बताएको छ ।
सामाजिक-आर्थिक प्रभाव
एनसेलले ल्याएको दूरसञ्चार सेवाहरूमा सुधारले नेपालको सामाजिक–आर्थिक क्षेत्रमा महत्त्वपूर्ण प्रभाव पारेको देख्न सकिन्छ । उन्नत दूरसञ्चार सेवाहरूले व्यापार सञ्चालनलाई सजिलो बनायो र नयाँ व्यापार मोडेलहरूलाई सक्षम गर्यो, विशेष गरी ई–कमर्स र आईटी क्षेत्रहरूमा पनि व्यापक सुधार भयो । सुधारिएको इन्टरनेट पहुँचले नयाँ शैक्षिक अवसरहरू खोल्यो । ई–लर्निङ प्लेटफर्महरू र अनलाइन स्रोतहरू थप पहुँचयोग्य भए भने शैक्षिक गुणस्तर सुधारमा ठूलो योगदान पुग्यो ।
स्वास्थ्यका क्षेत्रमा पनि ठूलो सुधार भयो । मोबाइल फोन र सामाजिक मिडिया प्लेटफर्महरूले सामाजिक सञ्जाललाई परिवर्तन गरिदियो । मानिसहरूलाई परिवार र साथीहरूसँग भूगोलिक अवरोधहरूको परवाह नगरी सम्पर्कमा रहन सजिलो बनायो । त्यति मात्रै होइन, प्रभावकारी सञ्चार हुँदा विपद् व्यवस्थापनमा पनि सहज भयो । गुणस्तरीय सञ्चार नेटवर्कले विपद् व्यवस्थापन र उत्तरदायित्वमा सुधार भयो । सन् २०१५ को भूकम्पको समयमा एनसेललगायतका नेटवर्क उद्धार र राहतमा बढी प्रयोग गरिए ।
प्राधिकरणका पूर्वअध्यक्ष कँडेलले भने जस्तै नेपालको टेलिकमको विकसामा एनसेलको ठूलो भूमिका छ । प्रतिस्पर्धी बजारले अस्तित्व जोगाउनकै लागि पनि अन्य सेवाप्रदायक एनसेलकै कारण प्रतिस्पर्धी भएको उनको भनाइ अहिले पनि उत्तिकै सान्दर्भिक छ । तर एनसेलका लगानीकर्ताका लागि भने कहिलेकाँही सरकारी नीतिका कारण असहज अवस्था भोग्नु परिरहेको छ ।
कहिले कर विवाद त कहिले लाइसेन्स शुल्कलगायत समस्याका बाजदूत पनि एनसेलले आफ्नो गुणस्तरीय सेवालाई निरन्रतता दिँदै आमउपभोक्ताको सञ्चारको हक कार्यान्वयनमा भने ठूलो भूमिका खेलेको छ ।
घट्दो आम्दानी
एनसेल आजियाटा लिमिटेडको व्यापार निरन्तर खस्किँदै गएको छ । गत वर्ष सन् २०२३ मा एनसेलको व्यापार ६ प्रतिशत घटेर ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँमा सीमित भएको छ ।
२०२२ मा एनसेलले ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । एक वर्षको बीचमा एनसेलको सञ्चालन आम्दानी २ अर्ब २८ करोड ३० लाख रुपैयाँ घटेको छ ।
२०२१ मा ४० अर्ब ४२ करोड २४ लाख, २०२० मा ४६ करोड ८७ लाख ४० हजार रुपैयाँ कारोबार गरेको थियो । सन २०१८ मा झन्डै ६० अर्ब रुपैयाँबराबर कारोबार गरेको एनसेलले २०२३ मा आइपुग्दा कारोबार घटेर ३७ अर्ब रुपैयाँमा झरेको छ ।
पाँच वर्षमा वर्षमा एनसेलको आम्दानी झण्डै २२ अर्ब रुपैयाँ घटेको छ । २०१९ मा ५५ अर्ब ३९ करोड ८० लाख, २०१८ मा ५९ अर्ब ८१ करोड ६० लाख र २०१७ मा ५७ अर्ब १० करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।
कम्पनीको जिएसएमबाट हुने आम्दानी सन २०२३ मा ४२ प्रतिशत, २०२२ मा ५४ प्रतिशत र २०२१ मा ६१ प्रतिशत घटेको कम्पनीले जनाएको छ।
आम्दानीको ग्राफ निरन्तर ओरालो लागेका बेला एनसेलले लगानीकर्तालाई सतप्रतिशतसम्म लाभांश दिँदै आएको जनाएको छ । पछिल्ला ३ वर्षमा औसत ९४ प्रतिशत लाभांश लगानीकर्तालाई दिएको छ । २०२२ मा ९० प्रतिशतसम्म लाभांश दिएको एनसेलले जनाएको छ।
सेयर संरचनामा परिवर्तन
सन् २००५ मा मेरो मोबाइल ब्राण्डमा जीएसएम सेवा सुरु गरेपछि समय समयमा एनसेलको स्वामित्वमा परिवर्तन भएका छन् । सन् २००८ मा युरोपियन ब्राण्ड टेलिसोनेराले ८० प्रतिशत स्वामित्व किनेको थियो । त्यसपछि टेलिसोनेराले मेरो मोबाइललाई ब्रान्डिङ गर्दै एनसेल ब्राण्डबाट सेवा दिएको थियो ।
सन् २०१७ मा आएर टेलिसोनेराले आफ्नो सबै स्वामित्व मलेसियाली कम्पनी आजियाटालाई बेचेर नेपालबाट बाहिरियो । सन् २०२० अगस्टमा एनसेल आजियाटा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो । २०२३ मा मलेसियाको आजियटाले बेलायतको स्पेक्ट्रलाइट कम्पनीलाई ८० प्रतिशत स्वामित्व बिक्री गरेको छ ।