चितवन । तयारी पोशाकमा चर्चित नेपाली ब्राण्ड ‘चिनो’ले शाखा बिस्तार गरेको छ । शनिबार नारायणगढमा आयोजित एक कार्यक्रममा आध्यात्मिक गुरुहरुको उपस्थितिमा १ सय वर्षका ज्येष्ठ नागरिक ईश्वरी बजगाईले शाखाको शुभारम्भ गरे ।
एक वर्षअघि मात्रै फेसन एण्ड टेक्स्टायल म्यानुफयाक्चरिङ कम्पनीले उत्पादन गरी बिक्री थालेको चिनोले छोटो समयमै शाखा विस्तारलाई तीव्रता दिएको छ ।
‘काठमाडौँका विभिन्न स्थानमा आउटलेट खोलेर ग्राहकलाई सेवा दिइरहेकोमा फेसनेवल सहर चितवनमा शनिबारदेखि आउटलेट सुरु गरेका छौँ’, कम्पनीका सञ्चालक नवराज बजगाईले सुनौलो नेपालसँग भने, ‘आगामी दिनमा मुलुकका विभिन्न सहर हुँदै विदेशमा आउटलेट विस्तार गर्ने योजना छ ।’
छोटो समयमा ग्राहकको रोजाइमा पर्न सफल भएपछि चितवनमा पनि शाखा विस्तार भइदिए हुन्थ्यो भने उपभोक्ताको माग बमोजिम शाखा विस्तार गरेको उनको भनाइ छ ।
उनका अनुसार राजधानीमा बौद्ध, जोरपाटी, कुमारीपाटी, बानेश्वर, भक्तपुर, न्यूरोडलगायतका स्थानमा आउटलेट सञ्चालन भइरहेको छ । काठमाडौँ बाहिर पहिलोपटक चितवनमा शाखा विस्तार गरिएको हो ।
अबको दुई वर्षभित्र नेपालका विभिन्न ५० स्थानमा आउटलेट विस्तार गर्ने कम्पनीको योजना छ । विस्तारका लागि सोहीअनुसार काम भइरहेको उनले जानकारी दिए ।
महिलालाई प्राथमिकता
कम्पनीले महिलाहरुका लागि तयारी पोशाक उत्पादन गरिरहेको छ । आगामी दिनमा पुरुषहरुका लागि पनि तयारी पोशाक उत्पादन गर्ने लक्ष्य रहेको सञ्चालक बजगाइँले बताए । उनले भने, ‘फेसनमा महिलाहरु अगाडि हुनुहुन्छ, उहाँहरुको रोजाइ पनि परिवर्तन भइरहेको हुन्छ । सुरुमा यही गाह्रो काम सकियो आगामी दिनमा पुरुषका लागि पनि तयारी पोशाक उत्पादनको लक्ष्य लिएका छौँ ।’
कम्पनीले १३ वर्षको उमेरदेखि ४० वर्षको उमेरसमूहका महिलालाई लक्षित गरी विभिन्न डिजाइनमा तयारी पोशाक उत्पादन गरिरहेको छ । कम्पनीले पनि महिलाहरुको रुचि, आवश्यकता र बदलिँदो फेसनलाई ध्यानमा राख्दै तयारी पोशाक उत्पादन गरिरहेको छ । त्यसैले कम्पनीले विभिन्न प्रकारका डिजाइन र रंगमा उत्पादनलाई निरन्तरता दिएको छ ।
कम्पनीले विश्व बजारमा पछिल्लो समय आएका फेसनको ट्रेन्डलाई ध्यानमा राखेर पोशाक उत्पादन गरिरहेको छ ।
‘फयाक्ट्री टु कस्टमर’ नीति
कम्पनीले ग्राहकहरुलाई सस्तोमा तयारी पोशाक उपलब्ध गराउन ‘फयाक्ट्री टु कस्टमर’ नीति लिएको छ । फ्याक्ट्रीमा उत्पादन भएको तयारी पोशाक कुनै बिचौलिया वा माध्यम बिना नै आउटलेटमा पुर्याइन्छ । जसले गर्र्दा ग्राहकले सस्तोमा तयारी पोशाक पाइरहेको कम्पनीको दाबी छ ।
‘विभिन्न रिटेलरमार्फत ग्राहकसम्म पुग्दा महंगो पर्न जान्छ, हामीकहाँ पनि केही रिटेलरहरुले लैजानुहुन्छ । तर, आउटलेटमा १ हजार रुपैयाँ पर्ने पोशाक बजारमा २५ सयसम्ममा पनि बिक्री भइरहेको देखिन्छ ।’ यो नीतिले ग्राहकको आवश्यकता र रुचिलाई बुझ्न पनि सजिलो हुने सोहीअनुसार डिजाइनका तयारी पोशाक उत्पादन गर्न सकिने उनको भनाइ छ ।
ग्राहकले पनि सस्तोमा तयारी पोशाक पाउने भएकाले यो नीति प्रभावकारी बनेको उनको बुझाइ छ ।
आयात प्रतिस्थापन गर्दै निर्यातको लक्ष्य
काठमाडौँको बालाजुमा ४० हजार वर्गफिट क्षेत्रफलमा फैलिएको उद्योगबाट तयारी पोशाक उत्पादन गरिरहेको छ । कम्पनीमा ३ सयभन्दा बढीले रोजगारी पाइरहेका छन् । आगामी दिनमा २ हजारलाई रोजगारी दिने कम्पनीको लक्ष्य छ ।
तयारी पोशाकका नाममा हरेक वर्ष विदेशी गइरहेको पैसालाई रोक्ने नीति लिइएको छ । ‘चिनो’ ब्र्राण्डका पोशाकलाई विदेश निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य रहेको सञ्चालक बजगाइँले सुनाए ।
‘नेपाली व्यापारीहरु सस्ता र आकर्षक तयारी पोशाकको खोजीमा चीनका विभिन्न स्थानमा भौतारिरहेको भेटिन्छन्, हाम्रो उद्देश्य उनीहरुलाई आकर्षक, गुणस्तरीय र सस्ता तयारी पोशाक नेपालमै उपलब्ध गराउनु हो’, उनले भने ।
त्यसबाहेक नेपालबाट विदेश गइरहेको युवा जनशक्तिलाई सीपमुलक तालिम दिएर स्वदेशमै रोजगारी दिलाउनु पनि कम्पनीले लक्ष्य लिएको छ ।
उनका अनुसार कम्पनीले चाँडै दुबई, जापान, भारतको नयाँ दिल्ली र सिलगुडीमा समेत चिनोको शाखा विस्तार गर्ने लक्ष्य लिएको छ ।
नेपाली तयारी पोशाक गुणस्तरीय हुनुका साथै आकर्षक देखिएकाले नेपाली उपभोक्ताको रोजाइमा पर्ने गरेको उनको भनाइ छ । कम्पनीले इटहरीमा होसलेसमार्फत पूर्वको बजार विस्तारको काम गरिरहेको छ भने पश्चिमतर्फ छिट्टै पोखरा र बुटवलमा पनि नयाँ शाखा विस्तारको क्रममा छ । राजधानीको गोंगबुमा पनि नयाँ आउटलेट स्थापनाको तयारीमा रहेको उनले सुनाए ।
‘चिनोलाई उपहार पनि भन्न सकिन्छ, हामी ग्राहकहरुलाई सस्तोमा उपहार दिने योजनाका साथ अगाडि बढेका छौँ। नेपाली ब्राण्डको गुणस्तर पनि अन्तर्राष्ट्रिय स्तरको हुन्छ र विश्व बजारका फेसनेबल उपभोक्ताको रोजाइमा पर्न सक्छ भन्ने विश्वास पनि चिसोमार्फत नै दिलाउन चाहन्छौँ’, सञ्चालक बजगाइँले भने ।
नेपाली तयारी पोशाक निर्यातको सम्भावना १ अर्ब २० करोड अमेरिकी डलर बराबरको रहेको छ । त्यसैले यसको सम्भावना ठूलो छ । वार्षिक ४३ करोड अमेरिकी डलर बराबरको तयारी पोशाक निर्यात गरेको नेपालले आगामी दिनमा पनि यस उद्योगबाट उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन गर्न सकिने सम्भावना भएको उनले बताए ।