काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित क्वेस्ट फर्मास्युटिकल्सले ९ महिनामा २ अर्ब रुपैयाँ बढीको औषधि व्यापार गरेको छ ।
सन् २०२४ को ९ महिनामा उद्योगले २ अर्ब १० करोड ३५ लाख रुपैयाँको औषधी व्यापार गरेको छ ।
सन् २०२३ मा क्वेस्टले २ अर्ब ५४ करोड ३० लाख, २०२२ मा २ अर्ब ३२ करोड २५ लाख, २०२१ मा १ अर्ब ९५ करोड, २०२० मा १ अर्ब ८० करोड १४ लाख र २०१९ मा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँकोे औषधी व्यापार गरेको थियो ।
६ वर्षको वित्तीय विश्लेषणअनुसार क्वेस्टको औषधी व्यापार बढ्दै गएको देखिन्छ । क्वेस्टको ऋण १ अर्ब २६ करोड ४६ लाख रुपैयाँ छ ।
वर्षौंको दौडानले उद्योगमा आफ्नो बजार साझेदारीलाई बलियो बनाएको छ । पछिल्लो पाँच वर्षमा एक स्वस्थ आम्दानी वृद्धि देखिएको छ ।
कम्पनीको स्थापित ब्रान्ड नाम र बिक्री च्यानलले पनि यसको वृद्धिलाई सहयोग गरेको छ । कुल आम्दानीको ६० प्रतिशत हिस्सा कार्डियो भास्कुलर र एन्टिबायोटिक औषधि बिक्रीबाट हुने गरेको क्वेस्टले जनाएको छ ।
क्वेस्टले ठूलो लगानीमा भक्तपुरको खरिपाटीमा रिसर्च एन्ड डेभलपमेन्ट युनिट (आरएन्डडी) स्थापना गर्ने भएको छ । आगामी दुई वर्षभित्र आरएन्डडी युनिट स्थापना गर्ने योजना क्वेस्टको छ ।
उद्योग सन् १९९९ मा स्थापना भएको हो । मुटु, मधुमेह र छालाका साथै अन्य विभिन्न रोगहरूका लागि क्वेस्टले १०० प्रकारका औषधी उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । यसमध्ये २५ प्रकारका औषधि मधुमेह र मुटुसम्बन्धी रोगका लागि उत्पादन गर्दै आएको क्वेस्टले जनाएको छ ।
मुटु र मधुमेहको औषधी उत्पादनमा क्वेस्ट नेपालको अगुवा (लिडिङ) कम्पनी भएको छ । कम्पनीले विदेशबाट कच्चा वस्तु आयात गरेर विभिन्न प्रकारका औषधिहरू उत्पादन गरिरहेको छ ।
उद्योगको संस्थापकमा उमेशलाल श्रेष्ठ, पृथ्वी भण्डारी, उत्तमकुमार श्रेष्ठ र शैलेन्द्रप्रसाद वर्मा छन् । ४ जनाले कम्पनीमा ४५ प्रतिशत स्वामित्व होल्ड गरेका छन् । बाँकी ५५ प्रतिशत उनीहरूका परिवार सदस्य र बिजनेस एसोसियटको हिस्सा रहेको छ । उमेशलाल नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष हुन् ।
नेपालमा १ सय २५ औषधी उद्योग दर्ता भएका छन् । जसमध्ये ८३ उद्योगका औषधी बजारमा आइसकेका छन् । आगामी पाँच वर्षभित्र नेपालमा औषधीजन्य वस्तु माग वार्षिक ७ प्रतिशतका दरले बढेर ७१.६५ टन पुग्ने अनुमान गरिएको छ ।
नेपालको कूल औषधी बजार बढेर अहिले ५३ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनले देखाएको छ ।
औषधीको आन्तरिक उत्पादन र आयात तथ्यांक विश्लेषण गर्दा आन्तरिक उत्पादनले ४६ प्रतिशत बजार ओगटेको छ ।
यस्तै भारतबाट आयातित औषधी हिस्सा ५२ प्रतिशत छ । अन्य देशबाट आयातित औषधीले २ प्रतिशत बजार ओगटेको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
नेपालले औषधी बनाउने प्रयोजनार्थ करिब ७० देखि ७५ प्रतिशतसम्म कच्चापदार्थ भारतबाट आयात गर्ने गरेको छ ।
चीनबाट २५ देखि ३० प्रतिशतसम्म आयात गर्ने गरिएको छ । नेपालमा आयात हुने औषधी विशेषगरी खोप, बायोटेक्नोलोजिकल, प्रडक्ट एन्ड मोडर्न टेक्नोलोजी रिलेटेड मेडिसिन, एन्टिक्यान्सर, एआरटी क्रिटिकल केयरलगायत औषधी आयात हुने गरेको छ ।