logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • ठगी गरेको आरोपमा लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

    ठगी गरेको आरोपमा लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

    1.8K
    Shares
    ठगी गरेको आरोपमा लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

    काठमाडौँ । ललितपुरको पुल्चोकमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना  पक्राउ परेका छन् । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा लालीगुँरासका अध्यक्षसहित चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृत ४६ वर्षीय सुरेन्द्र भण्डारी, कोषाध्यक्ष ७५ वर्षीय अमृतकुमार अर्याल र सदस्य ६१ वर्षीय कमदबाबा जोशी प्रधान रहेका छन् ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार काठमाडौँको विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो ।

    उनीहरूमाथि तीन करोड रुपैयाँ सहकारीको बचत रकम ठगी गरेको आरोप छ। सहकारी संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाइन्छ भन्ने विश्वास दिलाई सञ्चालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्‍याएको उनीहरूमाथि आरोप छ ।

    गत चैत ३० गते ललितपुर जिल्ला अदालतले सहकारीका ९ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सहकारीका सञ्चालक पदाधिकारीहरू विरूद्ध तीन करोड रुपैयाँ ठगी गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय ललितपुरमा परेको हो ।

    चारै जनालाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

    भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुनमा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

    याे पनि : 

    बचतकर्ताको ६ अर्ब अपचलन गरेर फरार लालिगुराँस सहकारीका सिइओ सुरेन्द्र भण्डारी पक्राउ

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend