logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • साढे ३ अर्बमा बूढानिलकण्ठमा बनेको पाँचतारे फरेस्ट इनले बुकिङ खोल्दै, ‘होलिडे इन’ ब्रान्डमा चल्ने

    साढे ३ अर्बमा बूढानिलकण्ठमा बनेको पाँचतारे फरेस्ट इनले बुकिङ खोल्दै, ‘होलिडे इन’ ब्रान्डमा चल्ने

    1.6K
    Shares
    साढे ३ अर्बमा बूढानिलकण्ठमा बनेको पाँचतारे फरेस्ट इनले बुकिङ खोल्दै, ‘होलिडे इन’ ब्रान्डमा चल्ने

    काठमाडौं । निजी लगानीमा राजधानीको बूढानीलकण्ठमा निर्माण भएको पाँचतारे होटल फरेस्ट इन लिमिटेडले अर्को सातादेखि बुकिङ खुला गर्ने भएको छ ।

    फरेस्ट इनले यही असार २३ गते (जुलाइ ७ तारिख) देखि अन्तर्राष्ट्रिय पर्यटकका लागि होटलमा बुकिङ खुला गर्न लागेको सञ्चालक तथा सांसद दीपक खड्काले सुनौलो नेपाललाई बताए ।

    होटल सम्पन्न भइ व्यवस्थापनको जिम्मेबारी इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आइएचजी) को अन्तर्राष्ट्रिय ब्राण्ड ‘होलिडे इन’लाई हस्तान्तरण गरिसकेको उनले बताए । अहिले होटल सञ्चालनका लागि आवश्यक तालिमहरु दिने काम भइरहेको सञ्चालक खड्काले सुनाए ।

    गत असोजबाट सञ्चालनमा ल्याउने तयारी भए पनि साउनदेखि चल्ने अवस्थामा पुगेको छ । पहिला तय गरिएको लक्ष्य भन्दा डेढ वर्षपछि मात्र होटल सञ्चालनमा आउन लागेको हो । यसबीचमा होटलको लागत पनि बढेको छ । होटल बनाउन ३ अर्ब ४७ करोड रुपैयाँ लगानी भएको सञ्चालक खड्काले जानकारी दिए । २ अर्ब १३ करोड १० लाख रुपैयाँ बैंकको ऋण र बाँकी १ अर्ब २ करोड रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी हुने भएको छ ।

    होटलमा ६८ प्रतिशत बैंक ऋण र बाँकी ३२ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना तयार पारिएको छ। बाँकी ९८ करोड रुपैयाँ प्राथमिक सेयर (आइपिओ) निष्कासनबाट जुटाउने लक्ष्य होटलको छ । आइपिओ निष्कासन गर्न फरेस्ट इनले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

    आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड नियुक्त भएको छ । बोर्डबाट अनुमति पाएपछि होटलले आइपिओ निष्कासन गर्ने भएको छ । १ लाख ४२ हजार ७ सय ८३ वर्गफिट क्षेत्रफलमा फैलिएको होटलमा १ सय ५ कोठा छन् ।

    नेपाली कांग्रेस सांसद खड्का होटल फरेस्ट इनका साथै मन्छियाम हाइड्रोपावर लिमिटेडका अध्यक्ष हुन् । होटल फरेस्ट इनको अध्यक्षमा विनिता थापा छिन् । खड्काको झापामा निर्मााणाधीन पाँचतारे होटल इस्टर्नमा पनि लगानी छ ।

    होटल हाल निर्माणाधीन छ । उनले पर्यटन र जलविद्युतलगायत क्षेत्रमा अर्बौ रुपैयाँ लगानी गरेका छन् । उनको अगुवाइमा १ सय २० मेगावाटको लाङटाङ रसुवा जलविद्युत आयोजना निर्माण भइरहेको छ ।

    होटलमा फुड एन्ड बेभरेज सेवासाथै, क्यासिनो, स्विमिङ पुल, ब्यांक्वेट हल, रेस्टुरेन्ट, कन्फेरेन्स हल, स्पालगायत सम्पूर्ण सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    सामान्यतया, होटललाई रिकभर गर्न लामो समय चाहिन्छ । प्रिमियम होटललाई तीनदेखि चार वर्ष लाग्छ भने सञ्चालनमा स्थिरता आउन अझै दुईदेखि तीन वर्ष लाग्न सक्छ । नेपाली बैंकिङ क्षेत्रमा अस्थायी ब्याजदरको अवस्था छ ।

    जहाँ त्रैमासिक आधार दरमा निश्चित प्रिमियम थपिन्छ । त्रैमासिक आधारमा ब्याजदर परिवर्तन हुँदा होटलको आम्दानीमा असर पर्ने देखिन्छ । ब्याजदरले पनि होटलको लागत अझै बढाउने सम्भावना छ ।

    फरेस्ट इनले अन्तर्राष्ट्रिय होटल ब्रान्डका लागि आइएचजीसँग लाइसेन्स सम्झौता गरेको छ ।

    अमेरिकी होटल चेन आइएचजीको मिडिल स्केल ब्रान्ड होलिडे इनका नाममा चल्ने छ । होलिडे इन होटल एन्ड रिसोर्ट ब्रान्डले विश्वभरि १ हजार १ सय ९५ होटल सञ्चालन गर्छ । सञ्चालनमा रहेका होटलमा २ लाख १४ हजार ३ सय ३० कोठा छन् । २ सय ५२ होटल पाइपलाइनमा छन् । लाइसेन्स सम्झौताअन्तर्गत होलिडे इन होटल एन्ड रिसोर्टले यसको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न सहयोग गर्ने छ।

    आइएचजीका मापदण्ड, प्राविधिक सहयोग, व्यावसायिक प्रशिक्षण, ग्राहक आरक्षणअनुसार पर्यवेक्षण प्रदान गर्न, बुकिङ र मार्केटिङ सेवा, प्रणाली कार्यान्वयन, परामर्श सेवालगायत प्राप्त गर्ने छ ।

    होटल फरेस्ट इन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ११ किलोमिटर दुरीमा बूढानीलकण्ठको केन्द्रमा छ । यो आकर्षक पर्यटकीय गन्तव्यमध्ये एक हो, जहाँ हरेक वर्ष ठूलो संख्यामा पर्यटक आउने गर्छन् ।

    होटल फरेस्ट इन सन् २०१० नोभेम्बर २२ मा स्थापना भएको थियो । होटलको संरचना १ लाख ८२ हजार ७ सय ८३ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend