
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले धान खेतीलाई वृद्धि गर्नसके आगामी तीन वर्षमा धानमा आत्मनिर्भर बन्नसक्ने बताएकी छन् । आईतबार नेकपा एमालेको कृषि विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै कृषिमन्त्री साहले यस्तो बताएकी हुन् ।
उनले अहिले पनि मुलुकभित्र वार्षिक रुपमा ५६ लाख मेट्रिक टन धान उत्पादन भइरहेको भन्दै आगामी तीन वर्षमा ७० देखि ७५ लाख मेट्रिक टन धान उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्न आवश्यक रहेको बताइन् । उनले कृषिप्रधान मुलुक भएपनि पछिल्लो समय मुलुकको कृषि क्षेत्र संकटमा रहेको बताक्ष्न् ।
उनले कृषि क्षेत्र संकटमा भएपनि धान खेती भने ४ प्रतिशतले वृद्धि भएको उल्लेख गरिन् । उनले कृषि नीति, संक्रामक रोग सम्बन्धी ऐनहरु कानून मन्त्रालयमा एक वर्षदेखि रोकिएको भन्दै असन्तुष्टि जनाइन् । उनले सरकारले कृषि क्षेत्रको विकासको लागि जोखिममा आधारित रणनीति बनाउन आवश्यक देखिएको बताइन् ।
उनले नेपालमा उत्पादन भएको मोटो धान भारतमा निर्यात हुने र नेपालमा मसिनो चामल आयात हुने गरेको बताइन् । उनले भारतबाट आयात भएको तथ्याङ्क देखिने तर नेपालबाट भारतमा निर्यात भएको धानको तथ्यांक कतै नराखिएको बताइन् । उनले भारतमा जाने मोटो धान खुला सीमाना भएकाले साइकलमार्फत भारत जाँदा तथ्याङ्क भेट्न नसकिएको बताइन् ।
उनले भनिन्,‘कृषि नीति,पशु संक्रामक रोग सम्बन्त्री ऐनहरु कानून मन्त्रालयमा एक वर्षदेखि रोकिएर बसेको छ । कृषि क्षेत्रको विकासको लागि जोखिममा आधारित रणनीति बनाउन आवश्यक छ । हामी अहिले जोखिम अवस्थामा छौं । तर संकट भएर सकिनै लाग्यो भन्ने पनि होइन । धानको उत्पादनमा वृद्धि भइरहेको छ । मोटा चामलको हिसावले मुलुकमा धानको उत्पादन हुन्छ । तर हामी मसिनो चामलमा बानी परेका छौं । आयात भएको चामल रेकर्ड हुन्छ ।
५ लाख ८० हजार मेट्रिक टन चामल आयात हुन्छ । त्यसको लागि ५ लाख हेक्टर खेती बढाउँदा आत्मनिर्भरतिर जान्छौं । मोटा धान नेपाल बाहिर जान्छ । त्यो निर्यात भएको कतै रेकर्डमा छैन । चामल आयात भए पनि नेपाली धान कति भारत गयो भनेर रेकर्डमा बस्नुपर्छ । मोटो धान उत्पादन भएको र बाहिर गएको कसैसँग रेकर्ड छैन ।
धान उत्पादनमा ४ प्रतिशतले वृद्धि भएको छ । तीन वर्ष धान खेतीमा वृद्धि गर्नसके चामलमा मुलुकलाई आत्मनिर्भर बनाउन सक्छौं । ५७ लाख मेट्रिक टन मुलुकभित्रै धान उत्पादन भइरहेको छ । अब ७० लाख मेट्रिक टन उत्पादन पुर्याउनसके आत्मनिर्भर बन्न सकिन्छ । दुग्ध विकास संस्थानमा एमालेकै कर्मचारी युनियनहरुले सहयोग गरेका छैनन् ।’
उनले दुग्ध उत्पादनमा मुलुक आत्मनिर्भर हुनुपर्ने अवस्था भएपनि दुग्ध विकास संस्थानमा बेथिति हुँदा समस्या आएको बताइन् । उनले दुग्ध विकास संस्थान सुधारमा एमाले निकट कर्मचारी संगठनहरुको समेत सहयोग नपाएको गुनासो गरिन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend