काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेसँग छलफल नै नगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरेपछि एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भएको जनाएको छ ।
मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी पदाधिकारी बैठकले एमाले र कांग्रेस मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने कुरालाई समर्थन गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री दाहालले गत एक हप्तादेखि कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास र वार्ता थालेसँगै प्रधानमन्त्रीले अविश्वासको वातावरण सिर्जना गर्दा यो स्थिति आएको बताए । प्रधानमन्त्रीको प्रस्ताव नेपाली कांग्रेसले अस्वीकार गरेपछि एमाले र कांग्रेसले छलफल अघि बढाएको उनले बताए ।
उनले राजनीतिक स्थायित्व र लोकतन्त्रको अभ्यासका लागि दुई मिलेर अघि बढ्ने निर्णय भएको बताए । बैठकले नेपाली कांग्रेस र एमालेको बीचमा भएको समझदारीअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई स्वागतसहित समर्थन गर्ने निर्णय गरेको उनले बताए ।
उपमहासचिव ज्ञवालीले राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन, मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने र राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयोजनका लागि सरकारमा सहभागी हुन र सघाउन तथा सरकार बन्ने वातावरण बनाउन प्रधानमन्त्री दाहाललाई आग्रह गर्ने निर्णय गरेको बताए ।
दुई ठूला दल सहमतिमा पुगिसकेपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्ने कुरा वाञ्छनीय हुने बताउनले बताए ।