काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । नयाँ समीकरण बनेपछि एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
एमाले नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न आग्रह गर्दै एमालेबाट सहभागी मन्त्रीहरूको सामूहिक राजीनामा र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको हो ।
एमालेबाट सरकारमा उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रघुवीर महासेठ, कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी छन् ।
त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती सरकारमा छन् ।
मंगलबार बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको हो ।
केहीबेरमा प्रधानमन्त्री प्रचण्डलाई समर्थन फिर्ता लिएको पत्र बुझाउने तयारी एमालेले गरेको छ ।
एमालेका मन्त्रीहरू अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
बालकोटपछि मन्त्रीहरू प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार जाने तयारी रहेको छ ।