logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • सरकारले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सांसदहरुको माग

    सरकारले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सांसदहरुको माग

    700
    Shares
    सरकारले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सांसदहरुको माग

    काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । बिहीबार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरु शारदादेवी भट्ट, सुमित्रा बिसी, मृगेन्द्रकुमार सिंह यादवलगायतका सांसदहरुले किसानलाई मलको आवश्यक व्यवस्था मिलाउनका लागि वितरण प्रणाली पुनरावलोकन गर्न पनि सरकारलाई सचेत गराएका थिए ।

    सांसद भट्टले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरे । उनले वर्षात धेरै नागरिक पीडित भएको र उनीहरुको राहतका लागि के काम भइरहेको छ ? भनि सरकारलाई प्रश्न पनि गरिन् ।

    सांसद भट्टले भनिन्, ‘म फेरि दोहार्याएर यही सोध्न चाहन्छु कि बाढी, पहिरो, डुबान के नेपाल सरकारले कहाँ कति उद्धार गर्यो ? के के व्यवस्था भयो ? सुन्न चाहन्छु । र, यसको व्यवस्थाका लागि जोडदार माग पनि गर्न चाहन्छु । ’

    त्यसैगरी सांसदहरुले वर्षाका कारण भूकम्प पीडितहरुले झनै पीडा व्यहोर्नुपरेको उल्लेख गर्दै उनीहरुको समस्या समाधानमा गम्भिर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद सुमित्रा बिसीले जाजरकोटमा पहिरोका कारण ५ वर्षीय बालकको समेत ज्यान गएको उल्लेख गर्दै पीडितलाई उचित राहतको व्यवस्था गर्न सरकारले ढिलाई गर्न नहुने बताइन् ।

    सांसद बिसीले भनिन् ‘देशभर बाढी, पहिरोहरु आइरहेको छ । भूकम्पले छियाँछियाँ भएको जाजरकोटमा फेरी दुखद घटनाहरु घटना शुरु गरेका छन् । यही असार १६ गते वीर बहादुरको घर भत्केर ५ वर्षीय बालकको मृत्यु भएको छ । मृतकलाई क्षतिपूर्ति दिने र घाइतेहरु औषधि उपचारको व्यवस्था गर्न म माग गर्दछु । मनाङको बाटो पनि जोखिममा छ । त्यसको पनि सरकारले उचित व्यवस्था गर्नुपर्छ ।’

    सांसद मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मलको अभाव नहुने गरी आवश्यक व्यवस्था मिलाउन त्यसको वितरण प्रणालीमा पुनरावलोकन गर्न सरकारलाई दबाब दिए । उनले किसानहरुले सुलभ र सहज रुपमा मल पाउने व्यवस्था मिलाउन पनि सरकारसँग माग गरे ।

    सांसद यादवले भने, ‘अहिले किसानहरुको लागि धान रोपाईको पीक सिजन हो । कृषि मन्त्रालयले जति भनेपनि किसानहरुले सहज र सुलभ रुपमा मलखाद पाएका छैनन । मेरो विचारमा मल वितरण प्रणालीलाई नै पुनरावलोकन गर्नुपर्छ ।’

    सांसद तुलसाकुमारी दाहालले सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि जोड दिन सरकारको ध्यानाकर्षण गराइन् । उनले सरकारले सार्वजनिक विद्यालयको शिक्षामा सुधार नगरेसम्म मुलुकको शैक्षिक क्षेत्रले प्रगति गर्न नसक्ने पनि उल्लेख गरिन् ।

    सांसद दाहालले भनिन्, ‘सार्वजनिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन ढिलाई भइसकेको छ । यसमा सरकार र सरोकारवाला सबैले ध्यान दिन आवश्यक छ ।’

    सांसद दाहालले एसईई परीक्षामा धेरै विद्यार्थी अनुतिर्ण भएकाले त्यस्तो अवस्था आउन नदिन पनि सरकार चनाखो हुनुपर्ने बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend