काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का महाधिवेशन प्रतिनिधिहरुले जारी महाधिवेशनबाट नेतृत्व लगायतका सिंगो कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौंको कमलादिस्थित प्रज्ञा भवनमा गत असार १६ गतेदेखि दशौँ राष्ट्रिय महाधिवेशन जारी छ ।
अहिले नेतृत्व चयनका लागि शीर्ष नेताहरुका बीचमा विभिन्न चरणमा छलफल भइरहेको छ । निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरिसकेको छ भने निर्वाचन गराउनका लागि समितिले आफ्नो तर्फबाट तयारी गरिरहेको छ । नेकपा (एमाले)बाट विभाजन हुनुको औचित्य पुष्टि गर्न भन्दै पार्टीको अध्यक्षमा माधवकुमार नेपाललाई चयन गर्नुपर्ने र अध्यक्षका दाबेदार घनश्याम भुसाल लगायतका नेताहरुलाई पनि समेटेर अगाडी बढ्नुपर्ने मत प्रतिनिधिहरुले राखेका छन् ।
महाधिवेशन प्रतिनिधि गोविन्दप्रसाद सुवेदीले नेतृत्व सर्वसम्मत चयन हुनुपर्नेमा प्रतिनिधिहरुले दबाब दिएका बताए । उनले नेतृत्वमा विवाद गरे पार्टी निर्माणमा अपm्ठ्यारो पर्ने भन्दै सर्वसम्मत् गर्नुपर्ने धारणा राखे ।
त्यस्तै महाधिवेशन प्रतिनिधि ओसिम आलमले एकीकृत समाजवादी विद्रोहबाट जन्मिएको पार्टी भएको भन्दै विद्रोहको नेतृत्वकर्ता माधवकुमार नेपालकै नेतृत्वमा सर्वसहमती हुने बताए । अन्य पदमा युवाको प्रतिनिधित्व हुनुपर्ने उनको भनाई छ ।
त्यस्तै महाधिवेशन प्रतिनिधि विश्वमणि सुवेदीले एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि गर्न र कम्युनिस्ट आन्दोलनलाई अझ समृद्ध बनाउन महाधिवेशनले विद्रोहको नेतृत्वलाई नै अनुमोदन गर्ने बताए ।
त्यस्तै महाधिवेशन प्रतिनिधि मिना परियारले जसको नीति उसको नेतृत्व हुनुपर्ने बताइन् । उनले नेतृत्वमा पुस्तान्तरणको कुरा आइरहेको भन्दै पुरानाको अनुभवलाई बाँड्दै युवा नेतृत्व निर्माण गर्नुपर्ने धेरैको आवाज रहेको बताइन् ।
महाधिवेशन प्रतिनिधि अजबहादुर मल्लले पनि महाधिवेशनले सर्वसम्मत् रुपमा माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने बताए । उनले निर्वाचन हुने बताए ।
उनले महाधिवेशनले पार्टीलाई अझ एकतावद्ध बनाएर लैजाने बताए ।