सनत हमाल / मुगु । मुगुको रारातालको किनारमा पौडी खेल्ने क्रममामा डुबेर एक जनाको मृत्यु भएको छ । रारातालको पूर्वी भागमा पर्ने ठाकुरनाथ स्थित तालको किनारमा पौडी खेल्ने क्रममा छाँयानाथ रारा नगरपालिका – ५ का २१ वर्षिय शिशिर रावलको डुबेर मृत्यु भएको हो ।
मृतक रावल राराताल किनारमा निर्माणधिन साइकललेनमा मजदुरी गर्दै थिए । अरु चार जना साथीहरुसँग घर फर्कने क्रममा उनीसहित अरु साथीहरुले तालको छेउमा पौडी खेल्दा रावलको डुबेर मृत्यु भएको उनका काका नरेन्द्र रावलले जानकारी दिए ।
दिउँसो २ बजे घटना घटेको जानकारी पाएसँगै नेपाली सेनाको टाेलि घटना स्थलमा पुगेको थियो । रारा विमानस्थल र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोलि घटना स्थलमा पुगि लास तालबाट बाहिर निकालेका थिए ।
घटनाको मुचुल्का पछि लासको पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।