काठमाडौं । जारी युरोकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुँदै छन् ।
आज क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुँदै छ । यो खेल नेपाली समय अनुसार राति ९:४५ बजेदेखि शुरु हुने छ ।
पहिलो क्वाटरफाइनलमा आयोजक जर्मनीले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो क्वाटरफाइनल खेल पोर्चुगल र फ्रान्सबीच हुनेछ ।
स्पेनले राउण्ड १६ मा जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनमा पुगेको हो । त्यसैगरी जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २-० ले पराजित गर्दै क्वाटरफाइनमा पुगेको हो ।
यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ ।
स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन् । जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् ।
युरोकपको अहिलेसम्मको यात्राको कुरा गर्दा स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । जर्मनीले अहिलेसम्म तीन पटक युरोकप जितेको छ भने तीन पटक उपविजेता बनेको छ ।