काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन पूर्वमन्त्री प्रेमबहादुर आलेले बहिष्कार गरेका छन् । नेकपा एसको दशौँ महाधिवेशनले आज शुक्रबार ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दा आलेको नाम नपरेको भन्ने प्रचार भएपछि उनले आफुले बहिष्कार गरेको बताएका हुन् ।
अहिलेको पार्टी र नेतृत्वबाट केही नहुने देखेर आफुले जानाजान बहिष्कार गरेको बताउदै उनले आफुलाई पार्टीको केन्द्रीय सदस्य बन्न इच्छुक नरहेको बताए । आलेले भने, मलाई केन्द्रीय सदस्य बन्न मन थिएन, त्यसैले वास्ता गरीन । उनले कुनै पनि हैसियत नभएको पार्टीको केन्द्रीय सदस्य होईन पदाधिकारी नै दिएपनि आफुलाई स्वीकार्य नभएको उनको भनाई छ । उनले भने, “म डोटीका जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुँ । जनताका लागि स्वतन्त्र रुपमा काम गर्ने हो पदले के चाट्ने हो र ?”
नेकपा (एकीकृत समाजवादी) पार्टी र नेतृत्व पिँध नभएको लोटा जस्तो भएको उनको आरोप छ । असक्षम नेतृत्वले सञ्चालन गरेको पार्टीको महाधिवेशनमा आफुलाई रुचि नभएको उनको भनाई छ । नेकपा एस पार्टी नेतृत्वको कार्यशैली प्रति आलेले निरन्तर रुपमा बिमति राख्दै आएका छन् । घरायसी कामले आफु मुलुकबाहिर रहेको उनले जानकारी दिए । ।
सत्ता समिकरण फेरीएका बेला आलेको महाधिवेशन बहिष्कारलाई अर्थपुर्ण रुपमा हेरीएको छ ।