काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधान संशोधनका क्रममा श्रम आयोगको व्यवस्था गर्न पहल गरिने बताएका छन् ।
स्व गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी वर्षका अवसरमा जिपी कोइराला श्रम प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘शान्ति र क्रान्तिका नायक जिपी कोइराला’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले २०६३ सालको अन्तरिम संविधानमा व्यवस्था भएको श्रम आयोगको आवश्यकता अहिले पनि उत्तिकै आवश्यक रहेकामा जोड दिए ।
“अन्तरिम संविधानमा गिरिजाबाबुकै कारण श्रम आयोगको व्यवस्था गरिएको थियो, २०७२ सालमा संविधानसभाबाट जारी भएको संविधानमा जातीय आयोगको व्यवस्था गर्न सकिए पनि श्रम आयोग छुटेको हो, मैले त्यसबेला पनि श्रम आयोगको व्यवस्था गर्न पहल गरेको हुँ तर सकिएन, अब यसमा सहमति जुट्ने विश्वास छ,” नेता कोइरालाले भने ।
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सहमति कार्यान्वयन गर्न नसकिए देशमा अप्ठ्यारो अवस्था आउने भएकाले यसमा चनाखो भएर लाग्नुपर्नेमा उनले जोड दिए ।
निर्वाचन प्रणालीमा सुधार गर्न सकिए जनताले चाहेको पूरा हुने भएकाले पनि संविधान संशोधन गरिनुपर्ने नेता कोइरालाको भनाइ थियो । स्थिरताका लागि पनि निर्वाचन प्रणालीमा सुधार गरिनुपर्ने उनले बताए ।
कांग्रेस सहमहामन्त्री जीवन परियारले कसैले प्रश्न उठाउन नसक्ने गरी कांग्रेस र एमालेबीच भएको सहमति अनुसारको सरकार सञ्चालन हनुपर्ने बताए । श्रम आयोग स्थापना गर्न संविधान संशोधन गरिने उनले बताए ।
कार्यक्रममा कांग्रेस नेताहरु पुष्कर आचार्य, लक्ष्मणबहादुर बस्नेत, विजयबहादुर स्वाँर, तेजेन्द्रजङ्ग कार्की, अजयकुमार राई, सुधा दाहाल, मातृकाप्रसाद शिवाकोटीलगायतले श्रमिक वर्गका हक अधिकार सुरक्षित गर्ने गरी संविधान संशोधन गर्न र श्रम आयोगको व्यवस्था गर्न माग गरेका थिए ।
सो अवसरमा प्रतिष्ठानका नवनिर्वाचित पदाधिकारी एवं सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो ।