काठमाडौं । समृद्धि इनर्जी लिमिटेडले बनाउन लागेको २ सय १६ मेगावाटको माथिल्लो सेती जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम सुरु भएको छ ।
डिपिआर बनाउने जिम्मा भारतको प्राइमेसी इन्जिनियरिङले पाएको छ । प्राइमेसीले आउँदो दुई वर्षमा डिपिआरको काम सक्ने गरी सम्झौता भएको कम्पनीका संयोजक यज्ञप्रसाद सुवेदीले बताए ।
सम्झौतापत्रमा समृद्धिका अध्यक्ष शैलेन्द्र गुरागाईं र प्राइमेसीका अध्यक्ष सञ्जय परिदाले हस्ताक्षर गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले समृद्धिलाई भर्खरै माथिल्लो सेतीबाट विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिएको छ । यस्तै आयोजनाबाट उत्पादन हुने बिजुली समृद्धि र नेपाल विद्युत प्राधिकरणबीच खरिदबिक्री सम्झौता (पिपिए) एक वर्षअघि नै भइसकेको छ ।
अब लगानी जुटाउन बाँकी रहेको संयोजक सुवेदीले जानकारी दिए । लगानीका लागि विभिन्न बैंकहरुसँग छलफल भइरहेको उनले सुनाए । अर्धजलासययुक्त आयोजना बनाउन ४४ अर्ब ४४ करोड ७१ लाख ९० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
डिपिआरपछि आयोजनाको लागत थपघट हुने सम्भावना छ । अनुुमानित कूल लागतलाई आधार मान्दा आयोजना बनाउन प्रतिमेगावाट २० करोड ५७ लाख रुपैयाँ लाग्ने देखिएको छ । आयोजनामा ७० प्रतिशत बैंकको ऋण र बाँकी ३० प्रतिशत संस्थापक र सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) निष्कासन गरेर जुटाउने योजना समृद्धिको छ ।
२०८७ असारमा बिजुली उत्पादन हुने गरी समृद्धि र विद्युत प्राधिकरणबीच पिपिए भएको छ । अर्धजलासय (पिआरओआर) आयोजनाबाट वार्षिक १ अर्ब २२ करोड ९६ लाख युनिट विद्युत ऊर्जा उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ । जसअनुसार वर्खामा ८३ करोड ४५ लाख ३० हजार र सुक्खामा ३९ करोड ५० लाख ७ हजार युनिट बिजुली उत्पादन हुनेछ ।
आयोजनाको विद्युतगृहमा ५५.७ मेगावाट क्षमताका ४ वटा भर्टिकल एक्सिस पेल्र्टन टर्वाइनबाट २ सय १६ मेगावाट बिजुली उत्पादन हुनेछ । विद्युतगृहबाट उत्पादन हुने बिजुली १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत १ सय २६ किलोमिटर दुरीमा रहेको विद्युत प्राधिकरणको कैलालीको लम्की सबस्टेशनमा जोडिने छ । आयोजनाको सबै संरचना बझाङको साइपाल गाउँपालिकामा पर्छ ।
विद्युत प्राधिकरणले आयोजनाबाट उत्पादन हुने बिजुली वर्खामा युनिटको ४.८० रुपैयाँ तय गरेको छ । यस्तै सुक्खायाममा आयोजनाको पिकिङ क्षमताअनुसार न्यूनतम ८.५० देखि अधिकतम १०.५५ रुपैयाँ तोकेको छ ।
यो पिकिङलाई आधार मानेर पिपिए दर तय गरिएको हो । सुक्खायाममा दैनिक ४ देखि ६ घण्टासम्म पिकिङ भएमा युनिटको १०.५५ रुपैयाँमा पिपिए हुनेछ । आयोजनाले ५ लाख ५२ हजार ४ सय २० घनमिटर पानी भण्डारण गरी अधिकतम् ४.५ घण्टा विद्युत उत्पादन हुने समृद्धिले जनाएको छ । आयोजनाले वर्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म मूल्यवृद्धि पाउने छ ।
आयोजना सुदुरपश्चिम प्रदेशको बझाङ साइपाल गाउँपालिकामा रहेको सेती नदीको पानीलाई उपयोग गरेर बिजुली उत्पादन हुने भएको छ । विद्युतगृह र सेती–इङ्गल्दारको दोभानमा बाँध बन्ने ठाउँमा प्रारम्भिक परीक्षणका काम गरिरहेको छ ।
आयोजना निर्माण हुने ठाउँ इङ्गल्दार र सेती खोलाको वरिपरी ५८ दशमलव १५ हेक्टर वन नोक्सान हुनेछ । आयोजनाको बाँध साइपालको वडा नम्बर ४ र ५ मा रहने भएको छ । अन्य संरचना सेती नदीको बाँया किनारमा रहने छ । नदीको पानी फर्काउन ४० मिटर लामो र १४ मिटर अग्लो बाँध निर्माण प्रस्ताव गरिएको छ ।
यो पनि :
साढे ४४ अर्ब लगानी समृद्धि इनर्जीले बझाङ माथिल्लो सेती बनाउँदै, ८ वर्षमा बिजुली बल्ने