logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ‘घर ज्वाइँ’ : मगर समुदायको कथामा अभिनेता दयाहाङ राई

    ‘घर ज्वाइँ’ : मगर समुदायको कथामा अभिनेता दयाहाङ राई

    826
    Shares
    ‘घर ज्वाइँ’ : मगर समुदायको कथामा अभिनेता दयाहाङ राई

    काठमाडौँ । अभिनेता दयाहाङ राई पछिल्लो समय विभिन्न समुदायसँग जोडिएका कथामा आधारित चलचित्रमा देखिँदै आएका छन् ।

    पछिल्लो एक वर्षमा मात्रै उनले ‘जारी’ मा लिम्बू, ‘दयारानी’ मा गुरुङ, ‘गाउँ आएको बाटो’ मा राई समुदायको कथामा आधारित चलचित्रमा अभिनय गरे । आउँदो शुक्रबार अर्थात् यही २८ असारबाट प्रदर्शन हुने ‘घर ज्वाइँ’ मा उनले मगर समुदायको कथामा अभिनय गरेका छन् ।

    उक्त चलचित्रको कथा आफूले मन पराएकी युवतीलाई पाउन विवाह पूर्व घर ज्वाइँ बस्ने परम्परामा आधारित छ ।

    अभिनेता राई अभिनयकै सिलसिलामा भिन्न समुदायको संस्कृतिलाई नजिकबाट बुझ्न पाएको बताउँछन् । उनले भने, “नेपाल संस्कृतिको धनी छ । तर, हामीले आफ्नै परम्परालाई भुल्दै छौँ । मैले अभिनयकै कारण केही समुदायको संस्कृति बुझ्न र बाँच्न पाएँ । आफूलाई भाग्यमानी ठान्छु । हामी अहिले समुदायको कथा भन्ने समयमा आएका छौँ ।”

    चलचित्रमा विषयवस्तुसँगै प्रस्तुति गरिने संस्कृति र परम्परा नयाँ पुस्ताका लागि डिजिटल साक्षरता हुने उनको विश्लेषण छ । आदिवासीको संस्कृति बाहिरबाट देखिँदा उस्तै लागे पनि निकै भिन्न रहेको उनले बताए ।

    “हामीलाई सुन्दा उस्तै उस्तै लाग्नु स्वभाविक हो । तर, वास्तविकतामा केही भिन्नता हुन्छ । त्यही कारण चलचित्रले मनोरञ्जनसँगै उक्त समुदायको संस्कृतिलाई नजिकबाट बुझ्न मद्दत गर्छ”, उनले भने ।

    घर ज्वाइँ बस्ने परम्परालाई उनले छोरीप्रतिको उच्च सम्मानका रुपमा बुझेका छन् । अन्य समुदायमा छोरीको विवाह गर्दा सोधखोज गर्ने प्रचलन रहे पनि मगर समुदायमा घरमै राखेर ज्वाइँको परीक्षण गरिने परम्परा रहेको उनले बताए ।

    उनले भने, “भविष्यमा दुःख परेमा ज्वाइँले कसरी सङ्घर्ष गर्छन् र छोरीलाई पाल्छन् भन्ने परीक्षा लिएको जस्तो लाग्यो । ज्वाइँ त खास नै छन्, तर छोरीलाई सुख दिन सक्छन् कि सक्दैनन् र आत्मनिर्भर भएर कसरी जीविकोपार्जन गर्छन् भन्ने परम्परा मगर समुदायमा रहेको पाएँ । यो चलचित्रमा मगर समुदायको प्रतिनिधित्व गर्न पाएकोमा खुशी छु ।”

    चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गरेका छन् । आफूलाई मन परेको महिला पात्रलाई तानेर विवाह गर्ने प्रचलन आदिवासी समुदायका हरेक जातिमा रहे तापनि मगर समुदायको संस्कृति अन्यभन्दा फरक रहेको निर्देशक मगरले बताए ।

    “यसमा समुदायको पृष्ठभूमिमा कथा र पात्रलाई तयार गरिएको छ । चलचित्रमा मगर समुदायको संस्कृतिसँग परिचित गराउँदै एउटा सामाजिक कथा भनिएको छ । पर्दामा देखिने कथासँग दर्शक जोडिनुहुन्छ भन्नेमा विश्वस्त छु”, निर्देशक मगरले भने ।

    जिएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आलेलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend