काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा सूचीकृत कम्पनीहरूमध्ये वित्तीय क्षेत्रको हिस्सा घट्दै गएको छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरण हिस्सा घटेर ५८.३ प्रतिशतमा सिमित भएको छ ।
केही वर्ष अघिसम्म वित्तीय क्षेत्रको बजार पुँजीकरण हिस्सा ७५ प्रतिशत माथि थियो । पछिल्ला वर्षमा घट्दै गएको छ भने जलविद्युत् कम्पनीको हिस्सा बढ्दै गएको छ ।
जलविद्युत कम्पनीले न्यूनतम् १० प्रतिशत सेयर (आइपिओ) निष्कासन गर्नुपर्ने वाध्यकारी व्यवस्था भएका कारण जलविद्युत क्षेत्रको हिस्सा बढ्दै गएको छ । जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई आइपिओ निष्कासन गर्दै आएको छ ।
जलविद्युत क्षेत्रको बजार पुँजीकरण १५ प्रतिशत पुगेको छ । अहिले आइपिओ निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड पुग्नेमा अधिकाँश जलविद्युत कम्पनीहरु रहेका छन् ।
यस्तै लगानी कम्पनीको हिस्सा ७.२ प्रतिशत छ भने उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.७ प्रतिशत रहेको छ ।
होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.४ प्रतिशत छ ।
नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ७० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १ सय ३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् ।
यस्तै ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० जेठमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ५४ थियो ।
चालू आर्थिक वर्षको ११ महिनामा ८६ अर्ब ८१ करोडको साधारण सेयर, २१ अर्ब ९८ करोडको बोनस सेयर, २१ अर्ब १७ करोडको हकप्रद सेयर र ३ करोड बराबरको थप निष्कासन (एफपिओ) गरी कुल १ खर्ब २९ अर्ब ९८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब ८० करोड बराबरको आइपिओ, ६ अर्ब २ करोडको डिबेन्चर, ५ अर्ब ४६ करोडको हकप्रद सेयर र ४ अर्ब ७० करोडको म्युचुअल फण्ड गरी कुल २५ अर्ब ९८ करोड रुपैयाँको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।