logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • आज सरकारको सफलता नै सरकार ढाल्ने विडम्वनापूर्ण आधार बन्यो : प्रधानमन्त्री

    आज सरकारको सफलता नै सरकार ढाल्ने विडम्वनापूर्ण आधार बन्यो : प्रधानमन्त्री

    357
    Shares
    आज सरकारको सफलता नै सरकार ढाल्ने विडम्वनापूर्ण आधार बन्यो : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको सफलता नै सरकार ढाल्ने आधार बनेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले आफूले भ्रष्टाचार गर्नेहरुसँग कुनै सम्झौता नगरी सुशासन स्थापित गर्ने काम गरेको जिकिर गरे । उनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्दा, ललिता निवास, भूटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्दा भ्रष्टाचार गर्नेहरु डराएको बताए । बाँसबारीदेखि बाल मन्दिरसम्मका जमिन खोजी हुन थालेपछि देशको शक्ति सन्तुलन नै खल्बलिएको बताए । सोही वर्गले पहिलो र दोस्रो ठूलो दल मिलाएको जिकिर गरे । उनले जनताले आफ्नो शक्ति नदेखाए पुनः सरकार माफियाहरुको हातमा जाने जिकिर गरे ।

    उनले भने, ‘वस्तुतः आज सरकारको सफलता नै सरकार ढाल्ने विडम्वनापूर्ण आधार बन्यो । हामीले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र मात्र भनेनौं, समाजवादउन्मुख राष्ट्र निर्माणको पनि संकल्प गर्यौँ । यसको केन्द्रीय सिद्धान्त जनताको सम्प्रभुता हुनुपर्ने हो । बाँकी सबै जनताका सेवक हुनुपर्ने हो । तर, व्यवहारमा त्यो भएन । भीआइपी कल्चर शुरू भयो । एउटा वर्गले सरकारी जग्गा लुटे पनि हुने भयो ।

    तस्करी गरेपनि हुने भयो । कानूून मिचे पनि हुने भयो । यसले आम जनतामा घृणा र आक्रोश बढायो र लोकतन्त्रमाथि नै प्रश्न उठ्ने अवस्था पैदा भयो । त्यो वर्ग यति शक्तिशाली भइसकेको थियो कि त्यसलाई दण्डित गर्ने त परको कुरा, प्रश्न गर्ने हैसियत पनि धेरै राजनीतिज्ञहरूले गुमाइसकेका थिए । तर मैले त्यो वर्गसँग सम्झौता गरिनँ । म जनतालाई बुझिने गरी भन्न चाहन्छु, सरकार नै ढल्ने जुन परिस्थिति आज बन्यो, त्यो सरकारले कानूूनको पालना गराउने, विधिको शासन सुरू गर्ने र सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिवद्धताका कारण बन्यो ।

    सरकार परिवर्तनमा संलग्न पात्रहरूलाई हेर्नोस्, परिवर्तनको कारण त्यसै थाहा हुन्छ । सरकारको सुशासन अभियानले हिजोसम्म कानूूनमाथि नै शासन गरिरहेको वर्ग सरकारसँग डरायो । त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो, एउटा समूह डरायो । ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया सुरू भयो, अर्को समूह डरायो । भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान सुरू भयो, अर्को समूह डरायो । बाँसबारीदेखि बाल मन्दिरसम्मका जमिन खोजी हुन थालेपछि यो देशको शक्ति सन्तुलन नै खल्बलिएजस्तो भयो । त्यही वर्गले देशको पहिलो र दोश्रो दल मिलायो ।

    यसरी त्यो वर्गले आफ्नो शक्ति देखायो । जनतालाई मेरो अपील छ, जाग्नुस् र तपाईहरूले पनि अब आफ्नो शक्ति देखाउनुस् । जनताले आफ्नो शक्ति देखाउनुभएन भने देशको पूूरै शासन फेरि माफियाहरूकै अधीनमा हुनेछ ।’

    प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको रुपमा आफूले पूर्ण निष्पक्ष ढंगले गरेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend