logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • प्रधानमन्त्री दाहाललाई जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न सांसद भट्टराईको चेतावनी

    प्रधानमन्त्री दाहाललाई जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न सांसद भट्टराईको चेतावनी

    539
    Shares
    प्रधानमन्त्री दाहाललाई जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न सांसद भट्टराईको चेतावनी

    काठमाडौं । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले विभिन्न जाति, भाषा, धर्म, संस्कृतिको नाममा आगो बाल्न सकिन्छ कि भनेर दुष्प्रयत्न नगर्न प्रधानमन्त्री दाहाललाई चेतावनी दिएका हुन् ।

    उनले संविधान संशोधन अग्रगमनका लागि गर्न लागेको बताए । उनले पश्चगमनका लागि संविधान संशोधन नगर्ने स्पष्ट पारे । उनले प्रधानमन्त्रीलाई आज एकाएक जाति, भाषा, धर्म, संस्कृति, मधेस, दलित र महिलाको याद आएको भन्दै तपाईको लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ? भनि प्रश्न गरे । उनले प्रधानमन्त्री दाहालका लागि हतियार बोकेका तमाम दलित युवाहरु कहाँ छन् ? भनेर पनि प्रश्न गरे । उनले आफ्नो स्वार्थसिद्ध गर्नका लागि देशको राष्ट्रियतलाई उधिन्ने काम नगर्न पनि चेतावनी दिए ।

    उनले भने – ‘संविधानमाथि कतिपय ठाउँबाट हमला भइराखेको छ । हामीले संविधानमाथि पुनरावलोकन गर्ने, समिक्षा गर्ने भनेका छौँ । म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, उहाँलाई आश्वस्त गर्न चाहन्छु, र यो संसदमार्फत सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई हामी आश्वस्त गर्न चाहान्छौँ, संविधानको पुनरावलोकन अर्थात् संविधान संशोधन ०७२ सालको संविधानको अग्रमगनको लागि हो ।

    पश्चगमनको लागि होइन । पछाडी फर्किनको लागि होइन । जाति, भाषा, धर्म, संस्कृति, मधेश, दलित, महिला आज झलझलि प्रधानमन्त्रीजीलाई याद भयो । तपाईको लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ? तपाईका लागि हतियार बोकेका तमाम दलित युवाहरु आज कहाँ छन् ? खोज्नुभयो ? आज कसरी आयो एकाएक ? म भन्न चाहन्छु यो संसदमा कमै सिट होला तर प्रत्यक्षबाट निर्वाचित भएर आउने दलित प्रतिनिधि सभा सदस्य कोही छ भने त्यो एमालेको छ ।

    सिट कम होला तर प्रत्यक्ष जितेर आउने महिला प्रतिनिधि सभा सदस्य एमालेको बढी छ । कम छ त्यसलाई बढाउनुपर्छ थाहा छ । म भन्न चाहान्छु दलितको नाममा, महिलाको नाममा, मधेशको नाममा फेरि आगो बाल्न सकिन्छ कि भन्ने यदि दुष्प्रयत्न हो भने अब त्यो सफल हुँदैन । त्यो सफल हुने छैन । यो देश जाति जातिको सहअस्तित्वबाट राष्ट्र बनेको हो यो कुरा ख्याल गर्नुहोला । जाति जातिको, मधेशीहरुको, पहाडीहरुको, महिलाहरुको, थारु, मुस्लिमहरुको सहकार्य, सहअस्तित्वबाट यो देशको राष्ट्रियता बनेको हो । आज फेरी त्यसलाई आफ्नो स्वार्थसिद्ध गर्नका लागि उधिन्ने काम नहोस् ।

    संविधान संशोधन केमा गर्ने छलफल गरौँला । संविधान संशोधन गर्दा हामी पुष्पकमल दाहाल प्रचण्डको सहयोग चाहन्छौँ । सहभागिता चाहन्छौँ । तपाईको सहयोग र सहभागितासहित संविधान संशोधन गर्न चाहन्छौँ । एमाले काँग्रेसको यो खुला कुरा हो । तपाईलाई पनि अब जाने ठाउँ छैन । कहाँ जानुहुन्छ ? प्रतिरोध गर्छु, विद्रोह हुन्छ । अब सम्भव छैन । त्यो बाटो छैन अब ।’

    सांसद भट्टराईले संविधान संशोधनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको समेत सहभागिता र सहयोग चाहिने भन्दै यस बारेमा छलफल गर्ने बताए । उनले संविधान संशोधनभन्दा बाहिर गएर दाहालले विद्रोह गर्नु सम्भव नभएको पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend