logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • केपी ओली पर्खिरहेको पानीजहाज

    केपी ओली पर्खिरहेको पानीजहाज

    1.9K
    Shares
    केपी ओली पर्खिरहेको पानीजहाज

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा एउटा महत्वकांक्षी योजना अघि सारेका थिए– त्यो हो, नेपालको राष्ट्रिय झण्डा फहराउँदै पानीजहाज समुन्द्रमा अब छिट्टै चल्ने छ । तत्कालीन समयमा उनको यो सपनालाई धेरेले पत्याएनन् र खिसिट्यूरी गर्नेहरु पनि धेरै भए ।

    ओलीको हावादारी योजना भन्दै कागजका पानीजहाज बनाएर पोखरीमा चलाएर भिडियो बनाउँदै ओलीले ल्याएको योजनाको भद्धा मजाक गरियो । तर, पानीजहाजको त्यो सपना भने आफैमा असम्भव थिएन ।

    ओलीले त्यो सपना उनी दोस्रो प्रधानमन्त्री हुँदा पनि चर्चामा आयो । तर, पानीजहाज भने चलेन । सरकारले स्थापना गरेको पानीजहाज कार्यालय अहिले निष्क्रिय अवस्थामा छ । केपी शर्मा ओली आगामी सरकारको नेतृत्व गर्दैछन् । यस्तोमा ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदै गर्दा देखेको समुन्द्रमा नेपाली झण्डा हल्लाउँदै पानीजहाज चलेको सपना पूरा हुनेमा केही विश्वस्त छन् । त्यसैमध्येका एक हुन, प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन् ।


    एमाले नेता तथा सांसदसमेत रहेका भट्टचन नेपाली पानी जहाज चलाउनेमा विश्वस्त मात्रै छैनन्, उनी ओलीको त्यो सपना साकार बनाउन लागी परेका छन् । किनभने उनको कम्पनीले समुन्द्रमा पानीजहाज नै नभए पनि सामान ओसारपसार गर्नका लागि नेपालको झण्डा फरफराउँदै सिपिङ कार्गो भने सञ्चालन गरिसकेका छन् ।

    ‘अध्यक्ष ओलीज्यु प्रधानमन्त्री भइसकेपछि उहाँले देखेका विकास निर्माणको काम तीव्र गतिमा अघि बढ्छ भन्नेमा म विश्वस्त छु’, उनले भने, “उहाँ आएपछि पानीजहाज पनि चल्नेमा पनि पूर्णरुपमा विश्वस्त छु ।’

    नेपालमा पानीजहाज चलाउँछु भन्ने सोच पनि ओलीले नै सुत्रपात गरेको उनको बुझाइ छ । ‘अध्यक्ष ओलीज्यूले सुरुमा पानीजहाज चलाउन सकिन्छ भन्दा मलाई पनि विश्वास लागेको थिएन, पछि मैले उहाँलाई पनि भेटेर छलफल गरेपछि मलाई पनि विश्वास लागेको थियो, मैले पनि उहाँकै सल्लाहअनुसार नै पानीजहाज चलाउनका लागि लगानी गरी अघि बढेको हुँ’, उनले सुनौलो नेपालसँग भने ।

     

    उनका अनुसार स्वीट्जरल्याण्ड पनि नेपाल जस्तै भूपरिवेष्ठित मुलुक हो । उसले पनि समुन्द्रमा पानीजहाज चलाएको छ भने हामीले पनि चलाउन सक्छौँ भन्ने भट्टचनको विश्वास हो ।

    ओलीले पानीजहाज चलाउन भनेपछि उनले कम्पनी पनि स्थापना गरे । त्यससँगै ओलीले सरकारीस्तरबाट २१ जना कर्मचारी राखेर पानीजहाज कार्यालय पनि स्थापना भएको थियो । यदि तत्कालीन समयमा ओली नेतृत्वको सरकार नढलेको भए अहिले समुन्द्रमा नेपाली झण्डा हल्लाउँदै पानीजहाज चलिरहेको हुन्थ्यो भन्छन् उनी । त्यसपछिका गठन भएका सरकारले पानीजहाज चलाउन चाहेको भए पनि ओलीले जस लिन्छन् भन्ने डरले पानीजहाजको काम नै सुरु नगरेको उनको बुझाइ छ ।

    भट्टचनसंगको कुराकनी 

    ‘पानीजहाज दर्ता गर्दा हामीले ‘आउटसोर्स’ गर्नुपर्छ, भारतको कलकता, बंगलादेशको ढाका, मलेसिया वा सिंगापुरमा चलाउने टुंगो लागेपछि नेपालमा दर्ता गर्न मिल्ने र त्यसपछि नेपाली बैंकहरुले पनि पानीजहाजमा लगानी गर्न पाउनेछन्’, उनले भने ।

    सांसद भट्टचनका अनुसार कोलाकातामा आउने पानीजहाज साना आकारका मात्रै हुन्छन् । जसले नौ सय कन्टेनर मात्रै बोक्न सक्छन् । यदि सिंगापुर र दुवईका पोर्टमा लक्षित गरी सञ्चालन गर्ने हो भने ठूला पानीजहाज चलाउनु पर्छ । तर तत्कालका लागि कोलाकातामा चल्न सक्ने साना पानीजहाज चलाउन सकिने उनको बुझाइ छ । उनका शब्दमा नेपालसम्म ल्याउनका कोशी र नारायणी नदीमा १५० देखी २०० वटासम्म कन्टेनर बोक्न सक्ने साना पानी जहाज ल्याउन सकिने बिभिन्न अध्यनले देखाएको छ ।

    भट्टचनका अनुसार हामीले सञ्चालन गर्ने भनेको कार्गो पानीजहाज हो । पानीजहाज सञ्चालनमा आएपछि सामान ढुवानीमा निकै सस्तो पर्छ । हाल विदेशी पानीजहाज प्रयोग गरी सामान ढुवानी भइरहेकोमा नेपाली पानीजहाज सञ्चालनमा आए विदेशी मुद्रा स्वदेशमै बचत हुने र ढुवानी समेत सस्तो पर्ने उनको बुझाइ छ । नेपाली व्यवसायीहरुले सामान मगाउँदा उनीहरुले नेपाली मुद्रामै भुक्तानी गर्न सक्ने उनले बताए ।

    यसरी भएको थियो सुरुआत

    तत्कालीन प्रधानमन्त्री ओलीले नेपाली झण्डा हल्लाउँदै समुन्द्रमा पानीजहाज चलाउने योजना अघि सारे पनि भट्टचनलाई भने कसरी सुरुआत गर्ने भन्नेमा अनविज्ञ नै थिए । यद्यपि, उनी पानीजहाज जसरी भए पनि चलाउनेमा भने दृढ थिए । यत्तिकैमा भेटिए भारतीय नागरिक मोहम्मद ए सरदार । उनले प्रभु ग्रुपलाई पानीजहाज र कन्टेनरको व्यवसायबारे आफूलाई थाहा भएसम्म जानकारी गराए । उनी पानीजहाजबारे ज्ञाता पनि थिए । उनी लामो समय विभिन्न कम्पनीका पानीजहाजमा काम गर्दै समुन्द्र सयर गरिसकेका थिए ।

    प्रभु ग्रुपले उनको साथमा सन् २०१८ को अगस्ट २४ मा ‘नेपाल सिपिङ लाइन्स’ नामक कम्पनी स्थापना गरी सन् २०१९ को जनवरीदेखि काम सुरु गरेको थियो । नेपालका लागि यो नयाँ व्यवसाय थियो । यद्यपि, यो ओलीले भने जस्तो पानीजहाज नभए पनि प्रभु ग्रुपले व्यवसाय सुरु गरेको थियो । भट्टचनका शब्दमा तत्काललै दुईवटा सेकेन्ड ह्याण्ड पानीजहाज खरिद गरी समुन्द्रमा सञ्चालन गर्न सकिन्छ ।

    यसका लागि कानूनी अड्चन हटाइ नेपालमा पानीजहाज सञ्चालनका लागि बाटो भने खोलिदिनुपर्छ । नेपालमा दर्ता भएको कम्पनीमा नेपालका वाणिज्य बैंकले पनि लगानी गर्न मिल्ने भएकाले व्यवसाय गर्न सजिलो हुने उनको बुझाइ छ ।

    सांसद तथा व्यवसायी भट्टचन नेपाली पानीजहाज सञ्चालन हुने भने हो सामान ढुवानीका नाममा बर्सेनि बाहिरिने अर्बौ रकम स्वदेशमै रोकिनेछ । त्यति मात्रै होइन, यसबाट विदेशी मुद्रा पनि आम्दानी गर्न सकिन्छ भने ढुवानी सस्तो तथा छिटो सामान नेपाल आइपुग्नेछ ।

    हाल विदेशी कन्टेनरबाट सामान आयात गर्दा कम्तीमा ४५ दिन लाग्ने गरेकोमा नेपाली पानीजहाज भए १५ देखि २५ दिनभित्र सामान नेपाल ल्याउन सकिन्छ । साथै मुलुकमा रोजगारी पनि बढ्नेछ । हाल भारतले करिब ४० करोड अमेरिकी डलर सिपिङ कार्गोमा खर्च गर्ने र त्यसको सानो हिस्सा मात्रै नेपाली पानीजहाजले लिन सक्ने हो भने धेरै फाइदा हुने उनको बुझाइ छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend