काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार राति संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
राष्ट्रपतिको यो आह्वानसँगै बहुमत सदस्यले समर्थन गरेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घन्टा समय दिएका छन् । नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने समय आइतबार अपराह्न ५ बजेसम्मको समय छ ।
कानुनविद्हरूले राष्ट्रपति पौडेललाई संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन सुझाव दिएका थिए । कानुनविद्हरुको सुझावका आधारमा राष्ट्रपतिले आब्हान गरेका हुन् ।
संसद्को दुई ठूला दलबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको बैठकमा प्रधानमन्त्रीमा ओलीको दाबीका लागि पत्र तयार पारेको हो ।
कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थन लिएर ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्ने तयारीमा छन्
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्ति यस्तो छ
२०७९ पुस १० गते नियुक्त सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डज्यूले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ मा प्रतिनिधि सभाबाट विश्वासको मतका लागि राख्नुभएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखको मिति २०८१ असार २८ को पत्र प्राप्त हुन आएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दाबी मिति २०८१ ३ ३० गते आइतबार अपरान्ह ५ बजे भित्र पेस गर्न आह्वान भएको छ।
यो पनि :
केपी ओलीलाई प्रधानमन्त्री बनाउन देउवाले गरे हस्ताक्षर, राष्ट्रपतिको आह्वान पखाईमा
संविधानको धारा ७६ (२) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई कानुनविद्ले दिए सुझाव
राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी
प्रधानमन्त्री दाहाल पदमुक्त भएपछि परामर्श लिन राष्ट्रपति पौडेलले बोलाए कानुनविद्
प्रधानमन्त्री प्रचण्ड पदमुक्त, ओली र देउवालाई नयाँ सरकार गठनका लागि बाटो खुल्यो