एजेन्सी । नाइजेरियाली सेनाले गत हप्तामा देशभर आपराधिक समूहहरू विरुद्धको विभिन्न अपरेसनहरूमा १८७ आतंककारीको हत्या गरेको अधिकारीहरुले बताएका छन् ।
नाइजेरियाको राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सेनाका प्रवक्ता एडवर्ड बुबाले यस अवधिमा पश्चिम अफ्रिकी देशका विभिन्न भागबाट अन्य १८३ जनालाई पक्राउ गरिएको बताए । कम्तिमा १०९ जना बन्धकहरूलाई आपराधिक गिरोहबाट मुक्त गरिएको थियो ।
जसमा १२८ वटा विभिन्न हतियार र ३ हजार ३ सय विभिन्न गोला बारुदहरु पनि बरामद भएको बताइएको छ । जसमा ८० एके—४७ राइफल र १५ वटा स्थानीय बनावटी बन्दुकहरू छन् । सेनाका प्रवक्ताले देशभरका अपरेसनहरू सफल भएको बताएका छन् । उत्तरपूर्वी क्षेत्रमा मात्र सेनाले ९७ संदिग्ध आतंककारीहरूलाई मारेको र यस अवधिमा ४५ संदिग्धहरूलाई गिरफ्तार गरेको बताइएको छ ।