मुगु । यार्सा टिप्न मुगुका पाटनहरुमा पुगेको बेला बिरामी परेका र लेक लागेर मृत्यु भएकाहरुको परिवारलाई टेवाले राहत स्वरुप आवश्यक सामाग्रीहरु सहयोग गरेको छ ।
टेवाले गत बैशाखदेखि असार मसान्तसम्म यार्सा टिप्न गएका बेला बिरामी भएर मृत्यु भएका ४ जनाका परिवार र बिरामी परेका २७ जनाको घरपरिवारलाई दैनिक उपभोग्य सामाग्री, लत्ता कपडा लगायतका राहत सामाग्री सहयोग गरेको हो ।
टेवाको मुगु स्थित साझेदार संस्था महिला अधिकार केन्द्रका अध्यक्ष सुकमाया शाहिले समस्यामा परेकाहरुलाई दैनिक उपभोग्य सामाग्री, लत्ता कपडा लगायत सहयोग गरेको बताइन् ।
यार्सा खोज्न जाँदा पाटनमा छायानाथ रारा नगरपालिका वडा न १० का १ जना र वडा न १२ का ३ जना युवाहरुको मृत्यु भएको थियो भने २७ जना विरामी भएका थिए ।
मृत्यु र बिरामी भएका परिवारलाई आर्थिक समस्या नहोस् भनेर टेवाको आर्थिक सहयोगमा राहत उपलब्ध गराइएको महिला अधिकार केन्द्रका अध्यक्ष सुकमाया शाहिले बताइन् ।
अध्यक्ष शाहिका अनुसार चामल ३० केजि, दाल १ केजि, खानेतेल १ लिटर, नुन ४ केजि, चिउरा १ केजि, फाइवर सिरक, डसना, तन्ना, सिरानी एक एक सेट सामाग्री र मृतकका परिवारलाई दैनिक उपभोग्य वस्तुहरुका साथै प्रति परिवारलाई १२ हजार नगद सहयोग गरिएको हो ।
टेवाले बाढी, पहिरो, आगलागी, सवारी दुर्घटना, लेक लागेर मृत्यु भएका, विरामी परेका,धनजनको क्षेती भएका प्रभावित परिवारलाई मलम लगाउँदै आएको छ ।
अहिलेसम्म कहि कतैबाट राहत सहयोग नपाएको र टेवा मात्र पहिलो सहयोगीको रुपमा गाउँमै राहत लिएर आएको छायानाथ रारा नगरपालिका वडा न १० की पीडित सिर्जना कुमाइले बताइन् ।
उनले आखाभरी आँसु पार्दै भनिन्- ‘यार्सा टिप्न गएका बेला श्रीमान देवराज वुढाको पाटन मै मृत्यु भयो । कमाउने घरमा उहाँ मात्र हुनुहुन्थ्यो अब हामी कसरी पालिने होला ? घरखर्च कसरी जुटाउने होला ? हामी कस्को भरमा बसौ ?’
यार्सा टिप्न जादा उच्च पाटनसम्म पुग्नु पर्ने, हिमाल चढनु पर्ने भएकोले प्राय युवा, युवती यार्सा टिप्न जाने गर्छन । एक सिजनमा एउटा परिवारले यार्सा बेचेरै कम्तिमा ३ लाख सम्म आम्दानी गर्ने गर्छन ।
१५ देखि २० दिनसम्म यार्सा टिपेर वर्षभरिको खर्च पुग्ने भएकाले गाउँ नै खाली गरेर घरका सबै सदस्य पाटन पुग्ने गर्दछन ।