काठमाडौं । श्रीलंकामा जारी एसीसी वुमन्स एसिया कपमा नेपालले पाकिस्तानसँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । श्रीलंकाको डाम्बूलामा भएको टसमा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।
समूह ए को नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । पाकिस्तान पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको छ । आजको खेलमा नेपाल विजयी भएमा शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने पक्का हुनेछ । नेपालले अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ ।
नेपालले यूएईसँगको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिकी बलर सबनम राईको स्थानमा ब्याटिङ मजबुत बनाउन रोमा थापालाई मौका दिएको छ ।
यस्तो छ नेपालको प्लेइङ–११ :
इन्दु बर्मा (कप्तान), सीता रानामगर, रुबिना क्षेत्री, कविता जोशी, कविता कुँवर, कृतिका मरासिनी, पूजा महतो, विन्दु रावल, रोमा थापा, सम्झना खड्का र काजोल श्रेष्ठ