logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • नेपाल लाइफ इन्स्योरेन्सको शिक्षामा लगानी, १ अर्ब ३३ करोडमा किन्यो प्रोफेसनल र युनिग्लोबको सेयर

    नेपाल लाइफ इन्स्योरेन्सको शिक्षामा लगानी, १ अर्ब ३३ करोडमा किन्यो प्रोफेसनल र युनिग्लोबको सेयर

    1.6K
    Shares
    नेपाल लाइफ इन्स्योरेन्सको शिक्षामा लगानी, १ अर्ब ३३ करोडमा किन्यो प्रोफेसनल र युनिग्लोबको सेयर

    काठमाडौं । जीवन बिमा व्यवसायमा अग्रणी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शिक्षामा लगानी गर्ने भएको छ ।

    नेपाल लाइफले दुईवटा शैक्षिक संस्थामा सवा अर्ब रुपैयाँ भन्दा बढी लगानी गर्ने भएको छ । नेपाल लाइफले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हाइयर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडको सेयर कूल १ अर्ब ३३ करोड ७२ लाख ८९ हजार रुपैयाँमा खरिद गर्ने भएको हो ।

    जसअनुसार नेपाल लाइफले प्रोफेसनल एजुकेटर्सको ३५.३२ प्रतिशत स्वामित्व ७३ करोड ७२ लाख ८९ हजार ६ सय रुपैयाँमा खरिद खरिद गरेको छ ।

    यस्तै युनिग्लोबल हाइयर सेकेन्डरी स्कुलको ४७.६२ प्रतिशत स्वामित्व ६० करोड रुपैयाँमा खरिद गर्ने नेपाल लाइफले जनाएको छ । लगानी विविधिकरण रणनीतिलाई मूर्तता दिन प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको नेपाल लाइफले जनाएको छ ।

    प्रोफेसनल र युनिग्लोबको स्वामित्व खरिदका लागि नियामक निकाय नेपाल बिमा प्राधिकरणको स्वीकृति दिएको छ । बिमा प्राधिकरणले स्वीकृति दिएपछि कम्पनीको आइतबार बसेको ३ सय ८२ औं सञ्चालक समिति बैठकले दुई संस्थाको स्वामित्व खरिद गर्ने निर्णय गरेको हो ।

    लगानीसम्बन्धी सम्झौतामा आइतबार ग्लोबल ग्रुपका अध्यक्ष डा. खगेन्द्र ओझा र नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रविणरमण पराजुलीले सेयर लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    सो अवसरमा कम्पनीका सिइओ पराजुलीले जीवन बीमा बजारमा एक चौथाई भन्दा बढी हिस्सा ओगट्दै आएको नेपाल लाइफले लगानी विविधिकरणलाई केन्द्रविन्दु राखेर यसैको सुरुवात स्वरुप शिक्षा क्षेत्रको लिडरको रुपमा स्थापित संस्थामा लगानी गरिएको बताए । उच्च प्रतिफल प्रदान गर्न लगानी विविधिकरणको कार्यको शुभारम्भ भएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन कम्पनी अग्रसर रहेको कुरा उनले बताए ।

    प्रोफेसनल एडुकेटर्सका कार्यकारी अध्यक्ष प्रसाद ओझाले शिक्षा र जीवन बीमा क्षेत्रका मार्केट लिडर एकसाथ भएर काम गर्न आफू कटिबद्ध भएको बताए ।

    कम्पनीका सञ्चालक एवं लगानी समितिका संयोजक कमलेशकुमार अग्रवालले जीवन बीमा कोष, लगानी, दावी भुक्तानी, बिमितको संख्या र बजार हिस्साहरुका आधारमा नेपाल लाइफ नेपालको जीवन बीमा क्षेत्रको सवैभन्दा ठूलो तथा सर्वाधिक विश्वासिलो कम्पनी रहेको बताए । कम्पनीले बिमित ग्राहकहरुबाट संकलित रकमलाई राम्रो प्रतिफलका लागि सुरक्षित स्थानहरुमा लगानी गर्ने अभिप्रायका साथ शिक्षामा लगानी गरिएको स्पष्टपारे।

    प्रोफेसनल एजुकेटर्सअन्तर्गत आधा दर्जन कलेज सञ्चालनमा छन् । प्रोफेसनल एजुकेटर्स सन् २००६ मा स्थापना भएको शैक्षिक संस्था हो । प्रोफेसनल एजुकेटर्स लिमिटेड अन्तर्गत ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल स्कुल अफ साइन्स, युनिग्लोब स्कुल र कलेज, भ्याली भ्यु स्कुल, ग्लोबल कलेज इन्टरनेसनल र लिबर्टी कलेज सञ्चालनमा छन् ।

    डा. खगेन्द्र ओझाले स्थापना गरी नेतृत्व गरिरहेको ग्लोबल कलेज र युनिग्लोब कलेज नेपालमा व्यवस्थापन र विज्ञान विषयको उच्च शिक्षाका लागि नामुद कलेज मानिन्दै आएका छन् ।

    प्रोफेसनलको साधारण सेयर (आइपिओ) जारी गर्ने सर्तसहित नयाँ लगानी भित्राइएको बताइएको छ । आइपिओ निष्कासन गर्न कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ । नेपाल लाइफको लगानी भएपछि ग्लोबल ग्रुप अझ बलियो हुने भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend