logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    नेपालको मेडिकल शिक्षामा विदेशीको नजर : छोरीलाई डाक्टर बनाउन नेपाल आएका अफ्रिकन बुबा

    नेपालको मेडिकल शिक्षामा विदेशीको नजर : छोरीलाई डाक्टर बनाउन नेपाल आएका अफ्रिकन बुबा

    1.6K
    Shares
    नेपालको मेडिकल शिक्षामा विदेशीको नजर : छोरीलाई डाक्टर बनाउन नेपाल आएका अफ्रिकन बुबा

    काठमाडौं । दक्षिण अफ्रिकाको जोहनसवर्गका मेरभिन चेट्टी ठमेलको एउटा अपार्टमेन्टमा सपरिवार बस्न थालेको करिब तीन साताभन्दा बढी भयो । अफ्रिकाबाट श्रीमति, दुई छोरा र एक छोरीसहितको सपरिवार यहाँ आउनुको उनको उद्देश्य भ्रमण नभए छोरीलाई एमबीबीएस पढाउनु हो । नेपाल आए लगत्तै उनले छोरी एरिन मोनिका चेट्टीलाई एमबीबीएसको तयारीका लागि भाइब्रेन्ट इन्स्टिच्युटमा भर्ना गरिदिएका छन् । एरिनले पनि तयारी सुरु गरिसकेकी छन् ।

    नेपालबाट वर्षेनि ठूलो संख्यामा विद्यार्थीहरु एमबीबीएस पढ्नका लागि छिमेकी मुलुक चीन, भारत र बंगलादेशलगायतका मुलुकमा पुग्छन् । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार नेपालमा एमबीबीएस पढ्ने विद्यार्थीहरुको तुलनामा विदेश जाने संख्या ठूलो छ । त्यसैगरी नेपालमा एमबीबीएस पढ्न आउने विदेशी विद्यार्थीको संख्या पनि उल्लेखनीय नै छ । तर, पछिल्लो समयमा नेपालमा मेडिकल कलेज खोल्न बन्देज जस्तै भएकाले विदेशीनेको संख्या बढेको देखिन्छ ।

    नेपाली विद्यार्थीहरु नै एमबीबीएस पढ्न तुलनात्मक रुपमा सस्तो मानिने चीन र बंगलादेशमा नगइ तपाईंले किन नेपाल नै रोज्नुभयो भनेर मेरभिनलाई सोध्यौ, उनले एक श्वासमै भने ‘क्वालिटी, अफोर्डेबल फि र सेक्युरिटी ।’ दुई दशकसम्म तेल कम्पनीमा काम गरी अहिले निवृत्त भएका उनी यतिबेला सन्तानको शिक्षाका लागि लागिपरेका छन् । कामका सिलसिलामा यूरोपका कैयौँ मुलुक र नाइजेरियालगायत अफ्रिकी मुलुक पुगेका मेरभिनले सन्तानको शिक्षाका लागि भने नेपाललाई रोजेका छन् ।

    ‘नेपाल बसोबासका लागि आफैमा निकै राम्रो देश हो, त्यसमाथि एमबीबीएसका लागि यहाँको शिक्षा राम्रो छ भन्ने थाहा पाएको थिएँ’, उनले सुनौलो नेपालसँग भने, ‘अर्को कारण, दक्षिण अफ्रिकालगायतका देशको तुलनामा यहाँ एमबीबीएस पढ्न सस्तो पनि छ ।’ उनको नजरमा काठमाडौँ सुरक्षित सहर पनि हो । विशेष गरी छोरीहरुको हिँडडुलका लागि काठमाडौँमा कुनै पनि समस्या छैन भन्ने आफूले बुझेको उनले सुनाए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

    काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मासँग भेट भएपछि छोरीलाई एमबीबीएसका लागि नेपाल ल्याउने सोच पलाएको हो । छोरीले पनि नेपाल नै रोजेपछि उनी काठमाडौं आएका हुन् । ‘म पहिलो पटक नेपाल आउँदा नै यो ठाउँ र यहाँको शिक्षा मन परेपछि कान्छो छोरालाई सेन्टजेभियर्स कलेजमा भर्ना गरे, ठूलो छोरो भने बेलायतमा पढिरहेको छ, अहिले छोरीलाई पनि एमबीबीएस पढाउन यहाँ ल्याएको छु’, उनले भने ।

    आफूले छोरीलाई जुनसुकै देशमा पनि पढाउन लैजान सक्ने भए पनि नेपालको संस्कृति, खानपान, गुणस्तरीय शिक्षा र सुरक्षा नै भएको बताए । दक्षिण भारतबाट उनका हजुरबुबा दक्षिण अफ्रिका पुगेको र आफू भारतीय मूलको तेस्रो पुस्ता भएको उनले बताए । भारतीय मूलका भएकाले उनलाई खानामा भात र तरकारी असाध्यै मनपर्छ । आफूहरुलाई नेपालमा खाना र बस्नमा कुनै समस्या छैन, स्वतन्त्ररुपमा हिँडडुल गर्न पनि सक्ने वातावरण भएको उनको अनुभव छ ।

    नेपालमा एमबीबीएस भर्नामा गाह्रो हुने आफूले सुनेको भए पनि त्यसका लागि छोरी तयारी भएको बताए । नेपालमा विदेशी विद्यालयमा पढेको मान्यता प्राप्त गर्नुपर्ने लगायतका लामा प्रक्रिया भए पनि गुणस्तरीय भएको उनको बुझाइ छ ।

    डाक्टरका रुपमा छोरीले धेरैभन्दा धेरै बिरामीको सेवा गर्न सकोस भन्ने उनको चाहना छ । विश्वमा कैयौँ मानिसहरु उपचार नपाएर मर्नु परिरहेको अवस्थामा आफ्नो चाहना ती असक्त विरामीहरुको सेवामा छोरीले डाक्टरका रुपमा सेवा गरेको हेर्न चाहेको उनले सुनाए ।

    नेपाल बन्नसक्छ ‘मेडिकल हब’

    मेरभिन नेपाल पनि मेडिकल शिक्षाका लागि ‘हब’ बन्न सक्नेमा विश्वस्त छन् । उनले यस बीचमा नेपालमा अध्ययन गरिरहेका केही विदेशी विद्यार्थी र उनीहरुका अभिभावकसँग पनि कुरा गर्न पाएको उल्लेख गर्दै सस्तो शुल्क, उपयुक्त वातावरण, गुणस्तरीय शिक्षाका कारण नेपालले बर्सेनि ठूलो संख्यामा एमबीबीएसका लागि विद्यार्थी ल्याउन सक्ने सम्भावना देखेका छन् ।

    ‘नेपालमा एमबीबीसका लागि ठूलो सम्भावना छ, यहाँको सबैभन्दा राम्रो पक्ष प्राक्टिकल र लाइसेन्स हो, यहाँ काम गरिसकेपछि बिरामीहरुसँग लामो समय काम गर्न पाउँछन्, यसले उनीहरुलाई व्यवहारिक रुपमा पनि धेरै ज्ञान सिकाउँछ भने अध्ययनपछि प्राक्टिस गर्नका लागि लाइसेन्स लिनुपर्ने व्यवस्थाले पनि निकै राम्रो गरेको छ’, उनले भने ।

    उनले काठमाडौँमा मात्रै नभइ काठमाडौँ बाहिर पनि धेरै राम्रो वातावरण रहेको आफूले सुनेको बताए । आफू काठमाडौँ बाहिर घुम्न जान नपाए पनि छोरीको काम पूरा भएपछि आफू विभिन्न ठाउँमा घुम्न जाने पनि योजना रहेको सुनाए । विशेष गरी एभरेष्ट बेसक्याम्पसम्म पदयात्रा गर्ने रहर रहेको उनले सुनाए ।

    चिकित्सा शिक्षा आयोगका अनुसार वार्षिक नेपालमा तीन सयको हाराहारीमा विदेशी विद्यार्थी एमबीबीएसका लागि आउने गरेका छन् । जसमा भारतीय विद्यार्थीको संख्या उल्लेख्य छ । शिक्षा मन्त्रालयका अनुसार नेपालमा अध्ययन गर्ने नेपाली विद्यार्थीका संख्याको तुलनामा नेपालबाट विदेशमा एमबीबीएस अध्ययन गर्न जाने विद्यार्थीको संख्या झण्डै दोब्बर छ । यस्तोमा नेपालमा एबीबीएस अध्यापन गराउने कलेज सञ्चालनमा ल्याइ नेपाललाई मेडिकल एजुकेशनको ‘हब’ बनाउन सकिने जानकारहरु बताउँछन् ।

    गुणस्तरीय शिक्षा भएकाले नेपाल रोजे : एरिन चेट्टी

    मेरभिनकि छोरी एरिनले आफू अघिल्लो पटक नेपाल आउँदा र केही विदेशी विद्यार्थीसँगको कुराकानीपछि आफूले एमबीबीएसका लागि नेपाल रोजेको बताइन् । उनले भाइब्रेन्टमा तयारी कक्षा लिइरहँदा त्यहाँ अध्यनरत विद्यार्थीहरुले निकै सहयोग गरेको उल्लेख गरिन् ।

    ‘म भाइब्रेन्टमा भर्ना भएको दुई साता भएको छ । धेरै नेपाली साथीहरुले मलाई सहयोग गरिरहनुभएको छ, उहाँहरुले नोटहरु पनि दिनुभएको छ’, उनले भनिन् । आफूलाई नेपालमा मम र थकाली खाना निकै मन परेको उल्लेख गर्दै चेट्टीले अफ्रिकामा राइस र करीको स्वाद मेटाउने गरी खान पाएको समेत बताइन ।


    एमबीबीएसका लागि प्रवेश परीक्षा गाह्रो भए पनि तयारी राम्रो गर्ने र नेपालकै कलेजबाट डाक्टर बन्ने आफ्नो सपना पुरा गर्ने सुनाइन् ।

    शिक्षाका नाममा खर्बौं बाहिरिँदै

    नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको जेठसम्ममा मात्रै नेपालबाट उच्च शिक्षाका नाममा मात्रै १ खर्ब १७ अर्ब १ करोड रुपैयाँ बाहिरिएको छ । जसमा एमबीबीएसका नाममा बाहिरिने रकम पनि ठूलो छ ।

    शिक्षा मन्त्रालयका अनुसार स्नातक र स्नातकोत्तर तहमा बर्सेनि मेडिकल शिक्षाका लागि औसतमा ५ सय विद्यार्थी बाहिरिन्छन् । एउटा विद्यार्थीले ५० लाख मात्रै लग्दा साढे २ अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ । यो रकम स्वदेशमै राख्न सकियो भने जनशक्ति र विदेशी मुद्रा दुवै जोगाउन सकिने जानकारहरु बताउँछन् ।

    शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट उच्च शिक्षाका लागि विदेश जान कुल १ लाख १२ हजार २ सय ५६ वटा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) जारी भएका छन् ।

    जसमा चीनका लागि ४ सय ६९ र बंगलादेशका लागि ४ सय ४८ वटा एनओसी जारी भएका छन् । सो अवधिमा मेडिसिन, हेल्थ, बीडीएस, डेन्टल साइन्स, अप्टेमेट्री, मेडिकल साइन्स, सर्जरी, फार्मेसी, हेल्थ र एमडी÷एमएसका कोर्स अध्ययनका लागि विभिन्न देशमा जानेको संख्या ६ हजार ५ सयभन्दा बढी छ ।

    नेपालबाट उच्च शिक्षाका लागि आव २०७९/८० मा १ खर्ब ४२ करोड रुपैयाँ, आव २०७८/७९ मा ६७ अर्ब ७० करोड, आव २०७७/७८ मा २४ अर्ब ९६ करोड र आव २०७६/७७ मा २५ अर्ब ८१ करोड रुपैयाँ विदेशिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend