काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा डा शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख अधिकारीलाई नियुक्त गरेको हो ।
त्यस्तै आयोगको सदस्यमा आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
डा. मीनबहादुर श्रेष्ठले राजीनामा गरेपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई उपाध्यक्ष बनाएको हो। उनी यसअघि आयोगमा सदस्य थिए।
त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक अधिकारीले थाइल्याण्डको चुलालोंगकोर्न विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) गरेका छन्। आयोगमा आउनुअघि उनी विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख थिए ।