बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

०८४ लाई लक्षित गरेर एक्लै चुनाव जित्ने अभियानमा छौँ : अध्यक्ष दाहाल

०८४ लाई लक्षित गरेर एक्लै चुनाव जित्ने अभियानमा छौँ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ०८४ लाई लक्षित गरी पार्टीले काम गर्ने बताएका छन् । आईतबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयाजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आगामी दिनमा पार्टीलाई गतिशिल पार्टीको रुपमा नयाँ रुपान्तरणसहित अघि बढाइने पनि बताए। ०८४ लाई लक्षित गरेर एक्लै चुनाव जित्ने उद्देश्यका साथ पार्टीअघि बढिरहेको बताए । उनले आफूले सरकार छोड्दा विजेताको रुपमा बाहिरिएको तर अहिले सरकारमा रहेकाहरु हारेको जस्तो गरी सरकारमा बसिरहेको टिप्पणी गरे ।

उनले आफूहरु जनता र मुद्दासँग जोडिएको जिकिर गरे । सुशासन, सामाजिक न्याय, आर्थिक विकासको पक्षमा काम गरेपछि भ्रष्टहरु एक भएको आरोप लगाए ।

उनले भने, ‘हामी आउने दिनमा गम्भीर ढंगले यो पार्टीलाई फेरि गतिशिल पार्टीको रुपमा नयाँ रुपान्तरणसहित ०८४ लाई टोर्गेट गरेर एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ हाम्रो छलफल चलिरहेको छ । यस्तो बेलामा तपाईंहरु हाम्रो पार्टीमा जोडिन आउनुभएको छ । आज जोडिने कमरेडहरुलाई हार्दिक बधाई भन्न चाहन्छु, स्वागत गर्न चाहन्छु ।

झन्डै डेढ वर्ष सरकारको नेतृत्व गरेर हामी गत २८ गते विश्वासको मत लिने क्रमसँगै सरकार छोड्नुपर्ने स्थिति बन्यो । सरकार छोड्दा र मैले संसदमा विश्वासको मतको निम्ति अपिल गर्दैगर्दा हामी विजयी,विजेताको रुपमा निस्किएका छौँ । सरकारमा जानेहरु हारेको जस्तो गरी बसेका छन् । हामी जनतासँग जोडिएका छौँ, हाम्रो मुद्दासँग जोडिएका छौँ । हाम्रो वर्ग र समुदायसँग जोडिएका छौँ ।

हामी सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा र आर्थिक विकासको पक्षमा गम्भीरताका साथ पहल गर्दागर्दै सुशासनकै भय, डरका कारणले भ्रष्टहरु मिले भन्नेकुरा अहिले देशमा बच्चाबच्चाले पनि जानकारी पाएको छ । यो हाम्रो निम्ति संगठन बिस्तार गर्ने, सुदृढ गर्ने ठूलो आधार प्राप्त छ । त्यसकारण हामी उत्साह र विश्वासको साथ संगठन सुदृढ गर्ने अभियानमा आउँदैछौँ ।’

अध्यक्ष दाहालले उत्साह र विश्वासको साथ संगठन सुदृढ गर्ने अभियानमा आफूहरु लागेको पनि बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend