काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ बजारबाट उठाउँदै छ । केन्द्रीय बैंकले २१ दिनको निक्षेप उपकरण बोलकबोलबाट बजारबाट उक्त रकम खिच्न लागेको छ ।
ब्याजदर बोलकबोलबाट निर्धारण हुने केन्द्रीय बैंकले जनाएको छ । साँवा तथा ब्याज भुक्तानी मिति भदौ ५ गतेलाई तोकिएको छ । बोलकबोल गर्न सकिने रकम घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म रहने भएको छ ।
बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोकोरुपमा प्रयोग गर्न सकिने धितोसम्बन्धी व्यवस्था रहेको छ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्ष सुरु भएपछि तीन पटक बैंकबाट निक्षेप संकलन वित्तीय औजारको प्रयोग गरेर १ खर्ब ३० अर्ब रुपैयाँ तानेको छ । केन्द्रीय बैंकले साउन २, ९ र १६ गते निक्षेप संकलन उपकरण प्रयोग गरेको छ ।
राष्ट्र बैंकले साउन ९ गते पनि तीन साताका लागि ४० अर्ब रुपैयाँ बैंकबाट उठाएको थियो । यो निक्षेप संकलन साँवा ब्याजफिर्ता मिति साउन ३० गते तोकिएको थियो ।
यस्तै साउन २ गते पनि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप संकलन वित्तीय उपकरण प्रयोग गरेर तानेको थियो । यसको सावाँ ब्याज भुक्तानी साउन २३ गते रहेको छ ।
राष्ट्र बैंकका अनुसार अहिले कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ७८.४७ प्रतिशतमा झरेको छ । केन्द्रीय बैंकले सिडी रेसियो ९० प्रतिशत तोकेको छ ।
बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको कूल ६४ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ५१ खर्ब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
गत आर्थिक वर्ष २०८०/८१ मा स्थायी निक्षेप सुविधामार्फत ३५ खर्ब २२ अर्ब ३५ करोड र निक्षेप संकलन बोलकबोलमार्फत ११ खर्ब ५१ अर्ब २५ करोड गरी कुल ४६ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाले पटक पटक गरी स्थायी तरलता सुविधामार्फत १ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत ८ खर्ब ३ अर्ब ५६ करोड गरी कुल ८ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँ तरलता उपयोग गरेका छन् ।
समीक्षा वर्षमा खुद ३८ खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँ तरलता प्रशोचन भएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा खुला बजार कारोबार र स्थायी तरलता सुविधा लगायतका विभिन्न उपकरणमार्फत खुद ५४ खर्ब ९ अर्ब ९९ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो ।