काठमाडौं । सेयर कारोबारले तीन वर्षअघिको रेकर्डलाई तोडेको छ । बुधबार सेयर बजार ६४.२५ अंक बढ्दा कूल २१ अर्ब ९१ करोड ७९ करोड १५ लाख रुपैयाँ कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँ सेयर कारोबार भएको थियो । त्यसबेला रकमका आधारमा यो सर्वाधिक सेयर कारोबार हो ।
साताको दोस्रो दिन सोमबार १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको ४ करोड ७७ लाख ९० हजार ८ सय ३७ कित्ता सेयर किनबेच भएकोमा यसलाई पनि तोडेको छ । कारोबार रकम ३ वर्ष यताकै उच्च हो । बुधबार ५ करोड ९ लाख ६७ हजार ९ सय ५१ कित्ता सेयर किनबेच भएको छ ।
बुधबार नेप्से सूचक तलमाथि भइरह्यो । एक पटक २७ सय ९०.३३ अंकमा पुगेको बजार पछि सम्हालिन नसक्दा ओरालो लाग्दा २७ सय ६४.२५ अंकमा आएर अडिएको छ । लामो समयसम्म थला पारेको सेयर बजार वृद्धिको गति बढ्न थालेको छ । सबै समूहका सूचक र सेयर मूल्य दुबै बढेका छन् । बुधबार फाइनान्स कम्पनीहरुको सेयर मूल्यमा उछाल आएको छ ।
बजार बढ्दै जाँदा लगानीकर्ताको मनोबल बढेर लगानी खन्याउन थालेका छन् । नयाँ सरकार गठन भएपछि सरकारले पुँजी बजार सुधारप्रति प्रतिबद्धता जनायो त्यसपछि मात्र लगानीकर्तामा उच्च मनोबल देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजार सुधारमा गरेको प्रतिबद्धताले गर्दा लगानीकर्ताको मनोबल बढेको बताइएको छ । यस्तै संस्थागत लगानीकर्तालाई सेयर धितो कर्जामा लगाइएको क्याप खुला गरिएको छ ।
यता बैंकहरुले साउनमा पाकेको ब्याजसमेत जोडेर गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्न पाउने भएपछि बैंकको सेयर मूल्य पनि बढेको छ ।
बुधबार १ सय ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको घटेको छ । यसदिन ८ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर लागेर कारोबार रोकिएको छ । सर्किट ब्रेकर लाग्नेमा युनाइटे अजोड इन्स्योरेन्स, गोरखा फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, दिब्यश्वरी हाइड्रोपावर लिमिटेड,मकरी जितुमाया सुरु हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया र कुथेली बखरी स्मल हाइड्रोपावरको मूल्यमा सर्किट लागेको छ ।
सेयर बजारले नयाँ रेकर्ड कायम गर्दा हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । यस कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँ सेयर किनबेच भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको ४१ करोड र शिवम् सिमेन्ट लिमिटेडको ४० करोड २६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यो पनि :
लगानीकर्ताले पैसा खन्याउँदा तीन वर्षयताको उच्च कारोबार, एकैदिन १९ अर्ब ६० करोडको सेयर किनबेच