काठमाडौं । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक्सको तेस्रो खेलमा पनि पराजित भएका छन् । उनी अनुभवी तथा युरोपमा तीन पटक विभिन्न प्रतियोगितामा तीन कास्य विजेता मिसा जिल्बरम्यानसँग सोझो सेटमा पराजित भएका हुन् ।
मिसाले प्रिन्सलाई २२–१२ र २१–१० को सोझो सटेमा पराजित गरे । मिसाको यो चौथो ओलम्पिक्स हो । यसअघि उनले लण्डन, रियो र टोकियो ओलम्पिक्समा प्रतिष्पर्धा गरेका थिए । ३५ वर्षका मिसाले १७ पटक वल्र्ड च्याम्पियनशिप खेलिसकेका छन् ।
उनले सन् २०१९ र २०२३ मा युरोपियन गेम्स र २०२२ को युरोपियन च्याम्पियनसिपमा कास्य जितेका थिए । युवा खेलाडी प्रिन्स नेपालबाट ओलम्पिक्समा सहभागी हुने पहिलो ब्याडमिन्टन खेलाडी हुन् ।
प्रिन्स पहिलो खेलमा डेनमार्कका विश्व नम्बर दुई खेलाडी भिक्टर एक्सेल्सनसँग र दोस्रो खेलमा आयरल्यान्डका न्यात नुयानसँग सोझो सटेमा पराजित भएका थिए ।
तेस्रो खेल अगाडि नै प्रिन्स समुह चरणबाट बाहिरिसकेका थिए ।
नेपालबाट सहभागी सात मध्ये छ खेलाडी पहिलो चरणबाट बाहिरिसकेका छन् । जसमध्ये पौडीका एलेक्जेण्डर शाहले राष्ट्रिय रेकर्ड कायमा गरेका थिए । अब नेपालको तर्फबाट सन्तोषी श्रेष्ठले म्याराथनमा सहाभागीता जनाउन बाकी छ ।