काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले हवाई दुर्घटना एवं सडक दुर्घटना न्युनिकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
बिहीबार सौर्य विमान दुर्घटनाबाट घाइते पाइलट मिनषरत्न शाक्यको स्वास्थ्यअवस्था बुझ्न काठमाडौं मेडिकल कलेज पुगेका उपसभापति खड्काले यस्तो बताएका हुन् । उनले आफूले पाइलट शाक्यलाई भेटेको र उनको स्वास्थ्यअवस्था सुधारोन्मुख हुँदै गएको बताए ।
उनले विमानस्थलमा थप केके सुविधा थप्नुपर्ने हो त्यसमा आवश्यक ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘हामीले विमान चालक मनिषरत्न शाक्यलाई भेट्यौँ । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख थियो । उहाँको उपचार अझै जारी रहने चिकित्सकहरुले भन्नुभएको छ । उहाँले आफ्नो स्वास्थ्य निकै सुध्रिएको बताउनुभएको छ । सबैको आशिर्वादले पुनःजन्म पाएको बताउनु भयो । उहाँ कुरा पनि गर्नसक्ने अवस्थामा हुनुहुन्छ ।
पुनःजन्म हुन्छ भन्नेकुरा उहाँबाट प्रमाणित भएको छ । उहाँले अब सबै ठिक भएपछि जाँचबुझ समितिसँग धेरै कुरा बताउनु हुनेछ । जसले गर्दा विमान दुर्घटनाका बारेमा जानकारी हुनेछ । हामीले सबैले प्रयत्न गर्दागर्दै पनि दुर्घटना भएका छन् ।
सडक, हवाई दुर्घटनालाई सबै राजनीतिक दल, सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । विमानस्थलमा थप केके सुविधा गर्नुपर्छ त्यो गर्ने, दुर्घटना रोक्न धेरै गम्भीर हुनुपर्छ ।’