काठमाडौं । साताको कारोबार अन्तिम दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ५.२९ विन्दु घटेर २७ सय ५५.६२ अंकमा आएर अडिएको छ ।
बिहीबार बजार २८ सय विन्दु पार गरेर फेरी २७ सय अंकको लाइनमा फर्कियो । बिहीबार २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन ५ करोड १३ लाख २१ हजार ६ सय २९ कित्ता सेयर किनबेच भएको छ ।
बुधबार सेयर बजार ६४.२५ अंक बढ्दा कूल २१ अर्ब ९१ करोड ७९ करोड १५ लाख रुपैयाँ कारोबार भएको थियो । बुधबारको कारोबार रकमले २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोडलाई उछिनेको थियो । त्यसबेला रकमका आधारमा यो सर्वाधिक सेयर कारोबार हो ।
बिहीबार ७४ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ६४ कम्पनीको सेयर मूल्य घटेको छ । १३ मध्ये ६ वटा समूहका सूचक बढेका छ भने ८ वटाको सकरात्मक सर्किट लेबलमा कारोबार भएको नेप्सेले जनाएको छ । बिहीबार कारोबार रकमको अवस्था हेर्दा बुधबारको नयाँ उचाइलाई तोड्न खोजेको देखिएको छ । बिहीबारकै बजारलाई हेर्दा पनि सेयर बजारले नयाँ–नयाँ उचाई तय गर्ने काम जारी राखेको देखिन्छ ।
बजारमा नयाँ ब्रोकरहरुको संख्या थपिएकाले पनि कारोबार रकम धेरै हुन सहयोग पुगेको देखिन्छ । सेयर बजार बढ्न थालेपछि नयाँ लगानीकर्ताहरु थपिएका छन् । पुराना लगानीकर्ताको आत्मबल थप बढेको देखिन्छ । बैंकहरुबाट सेयर धितो कर्जा लिएर लगानी गर्नेहरु पनि बढेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजार सुधारमा गरेको प्रतिबद्धताले गर्दा लगानीकर्ताको मनोबल बढेको बताइएको छ । यस्तै संस्थागत लगानीकर्तालाई सेयर धितो कर्जामा लगाइएको क्याप खुला गरिएको छ ।
बैंकहरुले साउनमा पाकेको ब्याजसमेत जोडेर गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्न पाउने भएका छन् । यसले गर्दा सेयर बजारका लगानीकर्ताको मनोबल उच्च देखिएको हो ।
बिहीबार ३ सय ३२ कम्पनीको ५ करोड १३ लाख बढी कित्ता सेयर कारोबार भएको छ । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडमा लगानीकर्ता झुम्मिँदा ५९ करोड ७५ लाख रुपैयाँ सेयर कारोबार भएको छ । यस्तै दोस्रो बढी कारोबार शिवम् सिमेन्ट लिमिटेडको छ । शिवमको ४३ करोड ८१ लाख र सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४२ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बिहीबार हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल), नेपाल हाइड्रो डेभलपर लिमिटेड, शुभम् पावर लिमिटेड, सिटी होटल्स लिमिटेड र कुथुली बखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
यो पनि :
सेयर कारोबारमा नयाँ कीर्तिमान, बजार ६४ अंक बढेर २२ अर्ब नजिक कारोबार