काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ ।
शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । गत वैशाख १४ गतदेखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका थिए ।
बोर्डले पाँच हजार ५४२ विद्यालयका विद्यार्थीलाई एक हजार ५२६ परीक्षा केन्द्र मार्फत परीक्षा सञ्चालन गरेको थियो । जसमा जापानमा एउटा परीक्षा केन्द्र थियो ।
‘बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार परीक्षा सञ्चालन गरेको थियो । सोही आधारमा नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ ।