काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्, अर्थात अनुत्तीर्ण भएका छन् । आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
नतिजा सार्वजनिक भएपनि अनलाइनमा अपलोड हुन भने केही समय लाग्ने बोर्डले जनाएको छ ।
गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
देशभरबाट ५ हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् ।
गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको छ । कुल ४ लाख ७८ हजार ३८९ परीक्षार्थीमध्ये २ लाख ३१ हजार २३५ जना उत्तीर्ण भएका छन् ।