
सनत हमाल/मुगु । कर्णाली ग्रामीण उत्थान तथा समाज बिकास केन्द्र (सिडिएस पार्क) संस्थाले मुगुमा भित्ते चित्रबाट ‘बृहत् यौनिकता शिक्षा’को महत्वबारे ज्ञान बाँडेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार किशोरावस्था भन्नाले १० देखि १९ वर्षको उमेरका समूहलाई जनाउँछ। विद्यालय र समुदायकमा रहेका किशोर–किशोरीलाई यौन र यौनिकताका विषयमा सही निर्णय लिन, प्रजनन स्वास्थ्यका बारेमा ज्ञान प्राप्त गर्न र सामाजिक समस्या समाधान गर्न पनि त्यस्ता शिक्षाले सहयोग पुगेको बताइएको छ ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)का अनुसार ‘बृहत् यौनिकता शिक्षा’ले किशोर–किशोरीलाई आफ्नो शरीर, यौन तथा प्रजनन स्वास्थ्यप्रति सचेत रहन, निर्णय लिन, यौनिक जीवनलाई स्वस्थ्यकर बनाउन, यौनरोग, यौन संक्रमण, अनिच्छित गर्भधारण, हिंसायुक्त यौनिक व्यवहार तथा यौनिक दुर्व्यवहार घटाउन मद्दत पुर्याउनुका साथै कम उमेरमा विवाह हुन नदिन तथा सन्तान नजन्माउन, जन्मान्तर कम गर्न, व्यवस्थित परिवार योजना बनाउन, परिवार नियोजनका साधनको प्रयोग र पहुँच बढाउन मद्दत गर्दछ।
यसै सम्बन्धि कर्णाली ग्रामीण उत्थान तथा समाज बिकास केन्द्र (सिडिएस पार्क) संस्थाले मुगुको छायानाथ रारा नगरपालिका, करिब ६ वटा समुदायक विद्यालयहरुमा कार्यक्रम संचालन गरिरहेको छ । यस कार्यक्रमलाई प्रभावकारी बनाउन युवायुवतीहरुलाई विद्यालयमा बृहत यौनिकता शिक्षा लागु गरेको छ ।
सिडिएस पार्कले बृहत यौनिकता शिक्षालाई स्थानिय पाठ्यक्रम मार्फत लागु गरेको छ । त्यस्तै यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धि ६ वटा विद्यालयमा भित्ते चित्रद्धारा सचेतना गराएको छ । समुदाय र बिद्यालयहरुमा समूह बनाएर यौन तथा प्रजनन स्वाथ्य सम्बन्धि जानकारी समेत गराइएको छ । जसमार्फत सामुदायिक र छायानाथ रारा नगरपालिकाका सबै सामुदायिक बिद्यालयहरुका बालबालिकाहरुले फाइदा पाउने विश्वास गरिएको सिडिएस पार्कका कार्यकारी निर्देशक अज बहादुर शाहीले बताए ।
बृहत यौनिकता शिक्षाले बालबालिका, किशोरकिशोरीहरु र युवायुवतीहरुमा सकारात्मक सोच र व्यवहारमा सहयोग गर्ने यो शिक्षाले उनीहरुमा जागरुकता ल्याई बाल विवाह रोक्न, छाउपडी प्रथालाई न्यूनीकरण गर्न, छोरा छोरीबीच हुने गरेका विभेद रोक्न जस्ता कार्यहरुमा अग्रसर गराउने साथै महिनावारी, गर्भाधारण वा बालविवाहका कारणले गर्दा बालिकाहरुले विद्यालय छाड्ने दरमा समेत यसको प्रभाव पर्दछ।
यस शिक्षाले किशोरकिशोरिहरुमा यौन, प्रजनन स्वास्थ्य, तथा यौनिकतालाई हेर्ने प्रवृतिमा परिबर्तन भई जिम्मेबार र सम्मानजनक बनाउने जसले गर्दा असुरक्षित यौन व्यबहारमा कमि आउने किशोर किशोरीहरु परिपक्क भएपछि मात्र विवाह गर्ने जसले गर्दा बालविवाहको दर घट्ने र परिवार नियोजनका साधनहरुको प्रयोगमा वृद्धि भई अनिच्छित गर्भाधान र यौन रोगहरुमा कमि आउने विश्वास गरिएको शाहीले बताए ।
के हो त बृहत् यौनिकता शिक्षा ?
बृहत् यौनिकता शिक्षा भनेको यौनिकतासम्बन्धि ज्ञान, संवेग, शारीरिक र सामाजिक पक्षहरूको सिकाइ प्रक्रियाको एक अधिकारमुखी दृष्टिकोण हो जसले युवा तथा किशोरकिशोरीलाई व्यक्तिगत सम्बन्धमा शारिरिक र संवेगात्मक रूपमा आफ्नो यौनिकतालाई निर्धारण गर्न तथा सुखमय बनाउन यौनसम्बन्धी ज्ञान, सीप, अवधारणा र मान्यताको विकास गर्न मद्दत नै बृहत् यौनिकता शिक्षा हो ।
यौनिकता र प्रजनन स्वास्थ्यबारे सत्य र वैज्ञानिक जानकारी प्रदान गर्नु।
व्यक्तिलाई स्वस्थ निर्णय लिने, जोखिम कम गर्ने र आफैंको सुरक्षामा सक्षम बनाउने सीप विकास गर्नु।
सम्मान, समानता र सहमतिको महत्वबारे सकारात्मक दृष्टिकोण र मूल्य विकास गर्नु।
सुरक्षित यौन व्यवहारको प्रोत्साहन गर्नु।
यसले किशोर–किशोरीहरूलाई आफैंको स्वास्थ्य, सम्बन्ध र अधिकारबारे सही निर्णय लिन सक्षम बनाउँछ।
बृहत यौन शिक्षा विद्यालय, घर, र समुदायमा उपलब्ध गराइनु पर्छ ताकि सबै उमेर समूहका व्यक्तिहरूलाई यो महत्त्वपूर्ण ज्ञान प्राप्त गर्न सकियोस्। यसले व्यक्ति मात्र नभई समाजलाई पनि सशक्त बनाउँछ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend