सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।
शुक्रबार प्रदेश प्रमुखले मियाँले आइतबार साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । “माननीय मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मिति २०८१/४/१८ गते नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्रीको पदबाट राजीनामा दिनुभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि यही साउन २० गते बेलुका ५बजे भित्र दाबी पेस गर्न आह्वान गर्नुभएको छ”, विज्ञप्तिमा भनिएको छ ।
यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएका थिए । उनले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्रीको पदबाट प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा दिएका हुन् ।
यसअघि विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले आफूले मार्ग प्रशस्त गरेको घोषणा गरेका थिए ।
प्रदेशसभा र प्रदेश सरकारका कारणले नभई राष्ट्रिय राजनीतिले यस्तो घटना भएको बताउँदै उनले यसअघि सत्तापक्षमै रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का आर्थिक मामिला मन्त्रीबाट आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत भइसकेपछि त्यसलाई अलपत्र छाडिएको आरोप लगाए । मुख्यमन्त्रीले प्रदेश सरकार र प्रदेशसभालाई बलियो बनाउने काममा सबै दल लाग्नुपर्ने जोड दिएका थिए ।