काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा आगामी केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाहरुको सम्बन्धमा छलफल भएको छ । सोमबार पार्टी सभापति निवास बुढानिलकण्ठमा बसेको नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले आगामी साउन २३ गतेबाट हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको एजेण्डाहरुको सम्बन्धमा छलफल भएको हो ।
पदाधिकारी बैठकमा अगामी केन्द्रीय कार्यसमितिको बैठकमा महासमिति बैठकमा उपसभापति र महामन्त्रीद्वयले प्रस्ताव गरेको राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र समसामयिक प्रस्तावलाई संशोधनसहित पारित गर्ने सन्दर्भमा छलफल भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए । त्यसैगरी पार्टी संगठन सुदृढीकरण र सरकार सञ्चालनको सम्बन्धमा पनि केन्द्रिय कार्यसमिति बैठकमा छलफल हुने तय भएको उनले बताए ।
उनले भने – ‘साउन २३ गतेबाट कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको छ । सो बैठकलाई केन्द्रबिन्दु राखेर आज छलफल भयो । आजको बैठकबाट आएको कुरा अनुसार महासमिति बैठकमा नेपाली कांग्रेसका उपसभापतिज्युले राजनीतिक प्रस्ताव पेश गर्नुभएको छ । महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव पेश गर्नुभएको छ । र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदनको विषयमा गरेर ३ वटा प्रस्ताव पेश भएका थिए । प्रस्तावहरुमा महासमितिमा व्यापक छलफल भयो । बैठकले आएका सुझावहरु सहित, संशोधनसहित केन्द्रीय कार्यसमितिबाट पारित हुनेगरी जुन निर्णय भएको थियो ।
सोही विषयमा अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले उक्त महासमितिबाट प्रस्तुत भएको जुन प्रस्तावहरु हो । जुन सुझावहरुलाई समेत समेटेर प्रस्ताव पेश गरेर पारित गर्ने भन्नेकुरा भएको छ । सरकारमा रहेर नेपाली कांग्रेसले पार्टी संगठनलाई तल्लो तहसम्म लिएर जाने कुरा र सरकारमा बसेर कांग्रेसले कस्तो भुमिका खेल्नुपर्छ भन्ने बारेमा पनि छलफललाई केन्द्रीकृत गर्ने भन्नेकुरा भएको छ । पार्टी संगठन सुदृढीकरण र सरकार सञ्चालनको बारेमा पनि छलफल हुन्छ ।’
उनले सरकार सञ्चालनसँगै पार्टीलाई तल्लो तहसम्म लाने कुरामा केन्द्रिय कार्यसमिति बैठक केन्द्रीत हुने बताए ।