logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • व्यवसायीले अर्थमन्त्री पौडेललाई भेटे, सरकारले घटाउला सुनचाँदीको भन्सार दर ?

    व्यवसायीले अर्थमन्त्री पौडेललाई भेटे, सरकारले घटाउला सुनचाँदीको भन्सार दर ?

    721
    Shares
    व्यवसायीले अर्थमन्त्री पौडेललाई भेटे, सरकारले घटाउला सुनचाँदीको भन्सार दर ?

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सुनचाँदीको भन्सार दर घटाउन सरकार तयार रहेको बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले भारतमा भन्सार दर घटेको र त्यसले नेपालमा पारेको प्रभावलाई तत्काल सम्बोधन गर्न जरुरी रहेको स्वीकार गरेका छन् ।

    अर्थमन्त्री पौडेलले यस विषयमा सम्वद्ध निकायसँग आवश्यक परामर्श गरी छिट्टै निर्णय गरिने प्रतिवद्धता जनाएका छन् ।

    मन्त्री पौडलसँगको भेटका क्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले भारतमा हालै सार्वजनिक भएको बजेटमार्फत सुनचाँदीको भन्सार दर घटाएर ६ प्रतिशत कायम गरिएको तर नेपालमा २० प्रतिशत रहेकोले व्यापार असन्तुलन हुन नदिन तत्काल भन्सार दरलाई घटाउन माग गरेका छन् । उनले सुनमा ८ प्रतिशत र चाँदीमा ६ प्रतिशत भन्सार दर कायम गर्न माग गरेका छन् ।

    बैंकले निश्चित समयमा मात्रै सुनको आयात गर्ने तर विद्यमान व्यवस्थाअनुसार भन्सार दर भने दिन दिनै परिवर्तन भैरहने भएकोले कारोबारमा समस्या परेको व्यवसायीको गुनासो छ । प्रत्येक १५ दिनका लागि फ्ल्याटमा भन्सार दर कायम गर्नुपर्ने र प्रत्येक १५/१५ दिनमा भन्सार प्रयोजनका लागि भन्सारदर पुनरावलोकन गर्नुपर्नेमा व्यवसायीको जोड रहेको छ ।

    विद्यमान सिफारिस प्रणालीलाई व्यवस्थित गर्दै दैनिक ५० किलो सुनको आयातको वातावरण मिलाई त्यसमध्ये ३० किलो बैंकमार्फत व्यवसायीका लागि र २० किलो उत्पादक (उद्योग) का लागि छुट्टयाउन रसाइलीले अर्थमन्त्री पौडेललाई सुझाए ।

    उनले दैनिक कोटाको आधारमा १ वर्षको ३ सय ६५ दिन कायम गरेर बजारको माग र आपूर्ति सन्तुलन हुनेगरी सिजन र अफ सिजनअनुसार मिलाई वार्षिकरुपमा तोकिएको कोटाको सिलिङभित्र रही आयात गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

    त्यसक्रममा तीनैवटा महासंघको तर्फवाट सुनचाँदीको क्षेत्रमा तत्काल सम्वोधन गर्नुपर्ने विषयहरुलाई समावेश गरिएको पत्र हस्तान्तरण गरिएको थियो ।

    सुनचाँदीसँग सम्बन्धित सम्पूर्ण कार्य सम्पादनका निमित्त वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक सम्मिलित एकद्धार प्रणााली बनाइनु पर्ने, धेरै बैंकमार्फत सुन वितरण गर्दा झन्झट बढी हुने भएकोले केही सीमित बैंकहरुलाई मात्रै सुन वितरणको जिम्मेवारी दिइनु पर्ने माग संघको छ ।

    यस्तै कच्चा सुनमा २० प्रतिशत भन्सार लाग्ने तर तयारी गहना आयातमा बढी भन्सार लाग्नु पर्नेमा ९ दशमलव ५ प्रतिशत मात्रै भन्सार लाग्ने व्यवस्थाले स्वदेशी कालिगढ, श्रम र सीप खेर जाने अवस्था आएकोले यसलाई पुनरावलोकन गरिनुपर्ने लगायतका माग संघको छ ।

    यस्तै झिटी–गुण्टाअन्तर्गत पैठारी हुने सुनको सीमा बढाइनु पर्ने, झिटी–गुण्टाअन्तर्गत भित्रिने सुनको खरिद बिलमा प्रवेश विन्दुमा भन्सार कार्यालयले छाप लगाउने र सोही निस्साको आधारमा पैठारीकर्ताबाट गहना व्यवसायीले फाइन गोल्ड खरिद गर्न सक्ने प्रावधानको माग व्यवसायीको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किशान सुनार, निवर्तमान अध्यक्ष सुरेशमान श्रेष्ठ, नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, नेपाल सुनचाँदी ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, रत्न आभुषण महासंघका प्रथम उपाध्यक्ष द्धारिका शंकर, महासचिव निरबहादुर विक, काठमाडौं सुनचाँदी ब्यवसायी संघकी अध्यक्ष रोहिना शाक्य लगायतका व्यवसायीहरुको उपस्थिति थियो ।

    यो पनि :

    सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो प्रतितोला डेढ लाख

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend