
ढाका, एएनआई । प्रधानमन्त्री शेख हसिनाको भारतमा पलायनपछि विद्यार्थी आन्दोलनका नेताहरूले बंगलादेशको वर्तमान राजनीतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता प्राडा मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको ढाका ट्रिब्यूनले जनाएको छ ।
प्रमुख विद्यार्थी नेता नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजूमदारले मंगलबार भिडियो सन्देशमार्फत यस्तो घोषणा गरेका हुन्।
ट्रिब्यूनका अनुसार विद्यार्थी नेता नाहिदले सोमबार राति २४ घण्टाभित्र अन्तरिम सरकारको रूपरेखा तयार गरिने घोषणा गरेका थिए । विद्यार्थी आन्दोलन सञ्चालन गर्ने नेताहरूले सेनाको नेतृत्वमा अन्तरिम सरकार बने त्यो अस्वीकार्य हुने बताएका छन्।
उनीहरूले नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री प्रा.डामोहम्मद युनुसलाई प्रमुख सल्लाहकारको रूपमा अन्तरिम सरकारको नेतृत्व दिन माग गरेका हुन्। पदत्याग गरेर शेख हसिना भारतमा पलायन भएपछि सोमबार सेनाप्रमुख वाकर–उज–जमानले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए।
बंगलादेशमा सरकारी जागिरमा आरक्षण प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको हो ।
बंगलादेशमा आएको राजनैतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति दिएका छन् ।
यसैबीच, बङ्लादेश नेसनलिस्ट पार्टी (बिएनपी) का महासचिव मिर्जा फक्रुल इस्लाम आलमगीरले आफ्नो पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमान चाँडै नै देश फर्कने घोषणा गरेका छन् ।
महासचिव मिर्जा फक्रुलले हसिना सरकारले नेता तारिक रहमानलाई झुटो मुद्दामा अन्यायपूर्ण रूपमा निर्वासित गरिएको जनाउदै उनले आन्दोलनलाई समर्थन गरेको र तुरुन्तै स्वदेश फिर्ता हुने आशा व्यक्त गरे ।
मिर्जा फक्रुलले आफ्ना पार्टी नेता बेगम खालिदा जियालाईसमेत तुरुन्तै रिहा गर्ने निर्णय गरिएको उल्लेख गर्दै राजनीतिक कारणले जेलमा परेका अन्य व्यक्तिलाई पनि रिहा गर्ने जानकारी दिए । खालिदा जियाले नेतृत्व हस्तान्तरण नहुन्जेल सर्वसाधारण मानिसलाई शान्त रहन आग्रह गरेकी छन् ।
यो पनि :
बंगलादेशमा हिंसा भड्किएपछि राजीनामा दिएर प्रधानमन्त्री शेख हसिना भारत पलायन, सेनाको हातमा सत्ता !
बंगलादेशका सेना प्रमुख जमानद्वारा अन्तरिम सरकार बनाउने घोषणा
बंगलादेशबाट पलायन भएकी पूर्वप्रधानमन्त्री शेख हसिना भारतको शरणमा
१५ वर्षपछि सत्ता त्याग्न बाध्य शेख हसिना को हुन्, किन पुगिन् भारतको शरणमा ?
हसिनाले देश छाडेपछि बंगलादेशमा राजनीति शून्यता, खालिदा जिया रिहा, सेनाको अन्तरिम सरकार अमान्य
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend