
मान्म, कालीकोट । कालीकोटको रास्कोट नगरपालिकामा रहेको रास्कोट अस्पताल गौतुकोट स्वास्थ्य बीमा सुविधा लागू हुने भएको छ । नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच स्वास्थ्य बीमा सेवा लागू गर्नेसम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअनुसार स्वास्थ्य बीमाबाट उपलब्ध हुने सबै सेवा सञ्चालन हुनेछन् । अस्पतालले आफ्नै परिसरमा फार्मेसी स्थापना गर्ने र बीमितलाई तोकिएका सेवा तथा औषधि निरन्तर उपलब्ध गराउने अस्पताल व्यवस्थापक कौशल न्यौपानेले जानकारी दिए ।
“आगामी भदौ १ गतेदेखि रास्कोट अस्पतालबाटै सेवा दिन सुरु हुनेछ”, उनले भने, “यसले रास्कोटका नागरिकलाई यसले सहज हुने अपेक्ष गरेका छौँ ।”
नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेकाले नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीतिअन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चितालाई नगर अस्पतालबाट सेवा सुरु गर्न लागिएको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए ।
“गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्वभुक्तानीका माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गर्नका लागि स्वास्थ्य बीमा लागू हुने भएको छ”, उनले भने, “बीमा कार्यक्रममा आबद्ध हुने कुनै पनि व्यक्तिले योग, पोषण, शिक्षालगायत प्रवद्र्धनात्मक कार्यक्रम, खोप, सुरक्षित मातृत्व, बहिरङ्ग सेवा, भर्ना उपचार, आकस्मिक, शल्यक्रिया, औषधिलगायत उपचारात्मक सेवा प्राप्त हुनेछन् ।”
अस्पतालले तोकिएका दरमा बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक सेवा उपलब्ध गराउने छ भने सोहीअनुसार बोर्डले भुक्तानी मिलाउने सम्झौतामा भएको स्वास्थ्य बीमा बोर्डका कालीकोटका जिल्ला संयोजक सर्पराज रोकायाले जानकारी दिए ।
“गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रवाह गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता पनि गर्ने स्वास्थ्य बीमाको उद्देश्यअनुसार रास्कोट अस्पतालसँग स्वास्थ्य बीमा सम्झौता भएको छ”, उनले भने, “हामीले सकेसम्म जिल्लाका सबै स्वास्थ्य संस्थासँग स्वास्थ्य बीमा गर्ने लक्ष्य राखेका छौँ ।”
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend